जलवायु परिवर्तनले आर्थिक क्षेत्रमा पार्ने असर

जलवायु परिवर्तन आज विश्वव्यापी समस्याको रूपमा देखा परिरहेको छ । यसबाट कोही र कुनै देश अछुतो रहन सकेको छैन । सामान्यतया यसलाई पृथ्वीको कुनै पनि भागमा औसत मौसममा हुने महत्वपूर्ण परिवर्तन भनिन्छ । जलवायु परिवर्तन समय अन्तरालमा पृथ्वीको वायुमडलमा रहेको तापक्रम हावाको बहाव र बर्सातमा हुने घटबढका कारण हुने गर्छ । पृथ्वीको वायुमण्डल नाइट्रोजन, अक्सिजन, कार्बन डाइअक्साइडजस्ता ग्याँस मिलेर बनेको हुन्छ । वायुमण्डलमा यी सबै ग्याँस निश्चित मात्रामा रहेका हुन्छन् । यीमध्ये कुनै ग्याँसमा बढी ताप सञ्चित गरेर राख्न सक्ने क्षमता रहेको हुन्छ । यसै कारण ती ग्याँसको मात्रामा परिवर्तन आएमा वायुमण्डलमा रहेको ग्याँसमा पनि परिवर्तन आएको हुन्छ ।
जलवायु परिवर्तनको असर विश्वव्यापी असर परिरहेको सन्दर्भमा वैज्ञानिक सर्वेक्षणले वायुमण्डलमा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने नाइट्रोजन, मिथेन, कार्बन मनोअक्साइडजस्ता ग्याँसको मात्रा बढ्दै गएको देखाएको छ । यसले गर्दा पृथ्वीबाट अन्तरिक्षमा फिर्ता हुने विकिरणलाई अवरुद्ध गर्छ । यस कारण नै पृथ्वीको तापक्रममा पनि बर्सेनि ०.६ बिन्दुका दरले बढेको अध्ययनले देखाएको छ । जलवायु परिवर्तन विशेष गरी विकासोन्मुख र विकासशील देशहरूको प्रमुख समस्या बनेको अवस्था छ । यसले गर्दा हाम्रो अर्थतन्त्रमा पनि नकारात्मक असर परिरहेको छ । हिमाल पग्लने क्रममा आएको तीव्रताले समग्र जलचरदेखि पर्यटन व्यवसाय पनि प्रभावित बनेको वास्तविकता छिपेको छैन ।
जलवायु परिवर्तनका कारण तापक्रममा पनि व्यापक मात्रामा वृद्धि भएर पृथ्वीको धु्रवीय क्षेत्रको हिउँ पग्लने क्रम पनि बढेको अवस्थाले हरेक राज्य चिन्तित रहेका छन् । हाम्रो जस्तो पर्यटकीय गन्तव्य सयाँैका संख्यामा रहेको देशमा यसरी हिमालका हिउँ तीव्र गतिमा पग्लँदा थप समस्या सिर्जना भएको देखिन्छ । यसले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव फैलिएको छ । यसले हाम्रो अर्थतन्त्रमा अवरोध आउने देखिन्छ । नेपालको सवालमा पर्यटनको विकासको उच्च सम्भावना रहेको सर्वविदितै छ । हिउँ पग्लने समस्याले तटीय क्षेत्रमा रहेका मानिसलाई बाढी तथा डुबानमा पर्ने समस्या थपिएको छ । यसले पनि मानव जीवनमा नकारात्मक प्रभाव पर्छ । त्यति मात्र नभएर आर्थिक धारको समेत वहन गर्न हामी बाध्य रहनुपर्ने अवस्थाको सिर्जना हुन्छ ।
आज जलवायु परिवर्तनका कारण सिर्जना भएका समस्या अनेकौँ छन् । यस्ता समस्याका कारण हिमाली भेगमा समेत झिँगा, लामखुट्टेजस्ता रोगको संक्रमण गर्ने कीरा बाँच्न थालेका छन् । त्यसैगरी हिमाली भेगमा पाइने जडीबुटी तथा वन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन् । यसका अन्य असर भनेको समयभन्दा अगाडि नै फूल फुल्नु, चराले समयअगावै चल्ला कोरल्नुजस्ता रहेका छन् । हरेक वर्ष नयाँ–नयाँ रोग देखिनु पनि जलवायु परिवर्तनको असर नै हो । यसले हाम्रो जस्तो कमजोर अर्थतन्त्र रहेको देशमा थप समस्या सिर्जना गर्छ । विकास निर्माणका लागि खर्च गरिनुपर्ने रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्दा स्वतः विकास खर्च कम हुन पुग्छ ।
जलवायु परिवर्तनको अर्को असर भनेको वातावरणमा नकारात्मक प्रभाव पर्नु पनि हो । समयभन्दा छिटो वर्षा हुनु र चाँडै वर्षाको अन्त्य हुनु हाल देखा परिरहेको समस्या हो । आज विश्वव्यापी रूपमा यस्ता समस्याले सबै देश चिन्तित छन् र त्यसको असर कसरी कम गर्न सकिन्छ भनेर अनेक उपाय अवलम्वन गर्न लागिपरिरहेका छन् । यसले हरेक देशको आर्थिक पाटो नराम्रोसँग प्रभावित बन्दै गएको वास्तविकता त छँदै छ, वातावरण मानव जीवनमा अत्यन्तै महत्व राख्ने विषय भएकाले झनै सजगता अपनाउनुपर्ने भएको छ । वातावरण मानवअनुकूल नभएमा त्यसलाई अनुकूल बनाउन रकम वा बजेटको नै आवश्यकता रहन्छ । तसर्थ जलवायु परिवर्तन हुनु भनेको अप्रत्यक्ष वा परोक्ष रूपमा अर्थ जगत्मा चाप पर्नु पनि हो ।
हामीले पनि प्रत्यक्ष रूपमा भोगिरहेका छौँ कि खडेरी, अनावृष्टि, अतिवृष्टिजस्ता समस्याले हाम्रो कृषिप्रधान देशमा नकारात्मक प्रभाव पारिरहेको तथा हामी परनिर्भरताको मार्गमा तीव्र गतिमा लागिरहेका छौँ । यसले गर्दा उत्पादनमा नकारात्मक असर परिरहेको छ । जमिनको कटान तथा बस्तीको डुबानले गर्दा तटीय क्षेत्रमा बसोबास गर्ने मानिसको जीवन त्रासदीले युक्त भएको अवस्था छ । दैनिक उपभोग्य वस्तुदेखि अन्य सामग्री पनि अन्य देशबाट आयात गर्न विवश भएका छौँ । जलवायु परिवर्तनको असरले गर्दा नै हाम्रो बहुमूल्य बडीबुटीसमेत नाश भएर गएको छ । यसले पनि आर्थिक रूपमा थप नकारात्मक प्रभाव परिरहेको छ । जैविक विविधतामा ह्रास आउनु भनेको हाम्रा औषधिजन्य जडीबुटीमा कमी भएर जानु हो । यसबाट पनि दोहोरो मार हामीलाई नै परिरहेको हुन्छ । किनभने एकातर्फ आयुर्वेदिक औषधिको कमी हुन्छ र उत्पादनमा आवश्यक पर्ने कच्चा पदार्थको अभाव हुन्छ । यसका लागि हामीले अन्य देशबाट आवश्यक सामग्रीका लागि रकम खर्च गर्नुपर्ने हुन्छ । कच्चा पदार्थ खरिद गर्न थप बजेटको जोहो गर्नु आवश्यक हुन्छ । यसले हाम्रो सामान्य अवस्थामा रहेको अर्थतन्त्रमा थप भार पर्न जान्छ । आर्थिक सबलतामा जानुपर्नेमा जलवायु परिवर्तनका कारण उल्टै रकमको स्रोत खोज्न बाध्य बनाउँछ ।
हालको यो अवस्था सिर्जना हुनुको खास कारण मानवको अविवेकी व्यवहार नै रहेको देखिन्छ । मानव चेतनशील र विवेकी भनिन्छ, तर पछिल्लो समय त्यसको ठीक विपरीत मार्गमा हामी गएका छौँ । फेरि पनि यस समस्याको निराकरणमा हामीले नै सक्रियताका साथ उपायहरूको खोजी गर्नुपर्छ । पहिलो कार्य त हामीले पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याउने उपायहरूको अवलम्बन गर्न सक्नुपर्छ । जसले बढ्दो तापक्रमलाई केही मात्रामा भने पनि कम गर्न सकिन्छ । त्यसैगरी कोइला उत्पादन कम गर्दा तापक्रम कम गर्न पनि सहयोग पुग्छ । त्यसैगरी वैकल्पिक ऊर्जाको उपयोगमा जोड दिन आवश्यक छ । सौर्य ऊर्जा, वायु ऊर्जा तथा विद्युतीय सवारीको उपयोगमा अझै जोड दिन आवश्यक छ ।
बोटबिरुवाले प्रकाश संश्लेषण प्रक्रियाबाट वायुमण्डलमा भएको कार्बन अक्साइड सोसेर ठोस कार्बनमा रूपान्तरण गर्ने भएकाले यसको संरक्षण तथा संवद्र्धनमा जोड दिनुपर्ने खाँचो देखिन्छ । बोटबिरुवा नभएका नांगा पाखापखेरामा वृक्षारोपण गरी हराभरा बनाउने काममा सबै सरोकारवाला जिम्मेवार भएर अगाडि बढ्नुपर्छ । जलवायु परिवर्तनको यस अवस्थालाई साबिकको अवस्थामा ल्याउन लामो समय लाग्छ । तसर्थ एउटा देशको पहल मात्र पर्याप्त हुँदैन, यसका लागि विश्वका सबै देशको प्रभावकारी कदमको आवश्यकता रहन्छ । गत असोजमा विश्वका शक्तिशाली २० देशको संयुक्त राष्ट्रसंघीय महासभाअन्तर्गतको जी–२० को विदेश मन्त्रीस्तरीय बैठकले पनि यस समस्याका बारेमा विश्वको ध्यान आकर्षण गरेको थियो । अति कम विकसित देश वा एलडिसी मुलुकहरूमा समावेशी आर्थिक वृद्धि गर्न सन् २०१६ देखि २०३० ले दिगो विकासका लक्ष्यको निर्धारण पनि गरेको थियो । सोही कार्यक्रमअन्तर्गतको १३ नम्बरमा जलवायु परिवर्तन तथा यसका प्रभावविरुद्ध लड्न तत्काल कार्य थाल्ने लक्ष्य निर्धारण गरिएको देखिन्छ ।
यसको थालनीमा कुनै पनि देशले गम्भीरताका साथ काम गरेका पनि थिएनन् । त्यसपछि क्रमशः विश्वव्यापी रूपमा असरहरू देखा पर्न थाले । यसबाट पर्ने आर्थिक तथा सामाजिक असर कम गर्न बल्ल सम्पन्न, कम सम्पन्न र विपन्न राष्ट्रहरू पनि एक भएर लाग्न थोलेको अवस्था छ । अतिकम विकसित देशहरू दिगो विकासका लक्ष्य प्राप्ति गर्न सक्ने अवस्थामा रहेका छैनन् । यसपछाडिका कारण पनि विविध छन् । प्रभावकारी रूपमा असर कम गर्न अल्पकालीन, दीर्घकालीन रणनीतिहरूको निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनको मार्गमा जान नसक्नु नै प्रमुख कारण रहेको छ । नेपालमा भएका स्रोत र साधनको समुचित उपयोग गर्न नसक्दा पनि थप समस्या निम्तिएको छ । विकासका नाममा पाखापखेरा, भीर केही नभनी डोजर चलाउँदा विनाश धेरै भएको तीतो वास्तविकता पनि हामीले देखेका नै छौँ । हाम्रो सन्दर्भमा विकास भनेको नै घरघरमा सडक निर्माण हो भन्ने सोचका कारण पनि समस्या बढेको देखिएको छ । एकै सडकका लागि तीन–तीन महिना बजेट खर्च गर्ने अवस्था आउनु भनेको अध्ययन र प्राविधिक परीक्षणबिना गरिएका कामको परिणाम नै हो ।
जलवायु परिवर्तनबाट आर्थिक क्षेत्रमा परिरहेको प्रभाव र भविष्यमा पर्न सक्ने असर कम गर्न हरेक ग्रामीण क्षेत्रमा सडक निर्माण कार्य गर्नुपूर्व सबै पक्षको अध्ययन गरिनुपर्छ । जसले गर्दा कम खर्च र दिगो विकासमा समेत सहयोग गर्छ । यसले एउटै काममा बर्सेनि रकम खर्चनुपर्ने अवस्थाको अन्त्य पनि हुन्छ । जलवायु परिवर्तनको असरका बारेमा विश्वको ध्यान केन्द्रित गर्ने उद्देश्यले तत्कालीन माधवकुमार नेपालको नेतृत्वमा रहेको सरकारले सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्रिपरिषद्को बैठक पनि राखेको थियो । यसरी समग्रमा जलवायु परिवर्तनले हाम्रो हरेक क्षेत्रमा नकारात्मक प्रभाव पार्ने भएकाले सबै मिलेर विकास आयोजना निर्माण गर्दा वातावरणमैत्री बनाउनेतर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ । यसले आर्थिक रूपमा मात्र नभएर समग्र पारिस्थितिक प्रणालीमा पनि मानव अनुकूल वातावरण सिर्जना हुन्छ ।