कतार जाने भन्दा फर्कने कामदार बढी

अदक्ष नेपाली श्रमिक ६० हजार कम |
विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्कनेको संख्या बढी रहेको देखिएको छ ।नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन ।
कतार जानेभन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भएपनि आगामी वर्षमा कतारबाट आउने रेमिट्यान्समा भने असर पर्ने देखिन्छ । कतारमा हुने विश्वकप फुटबलका लागि पूर्वाधारनिर्माणको काम अन्तिम चरणमा पुगेसँगै त्यहाँ कार्यरतअदक्ष नेपाली श्रमिकको संख्या घट्दै गइरहेको देखिएको हो ।
कतारी सरकारले हालै सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा ४ लाख नेपाली रहेकोमा हाल ३ लाख ४१ पुगेको जानकारी दिएको कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले बताए । यद्यपि, दक्ष प्राविधिक कामदारको माग भने धेरै रहेको दूतावासले जनाएको छ । “विश्वकपका लागि बन्ने मेगा प्रोजेक्टको काम सकिँदै गएका कारण यसमा काम गर्ने अदक्ष श्रमिकको संख्या हाल आएर घट्दो क्रममा रहेको देखिएको छ,” राजदूत भारद्वाजले टेलिफोनमा कारोबारसँग भने, “कतारको गृह मन्त्रालयले दिएको पछिल्लो तथ्यांकले ६० हजारको हाराहारीमा नेपालीको संख्या घटेको देखिएको छ ।”
नेपाल सरकारको बिगत ४ वर्षअघिको तथ्यांकले पनि कतार जाने नेपाली श्रमिकको संख्या गत वर्षको तुलनामा न्यून रहेको देखिन्छ । रोजगारीका लागि कतार जाने नेपालीको संख्या भने विगत एक वर्षमा बढेको देखिन्छ । सरकारले रोजगारीका लागी जाने नेपाली संख्यामात्र राख्ने र फर्कनेको संख्या नराख्ने गरेका कारण कतारमा कति नेपाली कार्यरत छन् भन्ने विवरण गन्तव्य मुलुकको तथ्यांकमा भर पर्नुपर्ने अवस्था छ । आर्थिक वर्ष २०७२-७३ मा रोजगारीका लागि कतार जाने नेपालीको संख्या १ लाख २७ हजार१२१ हजार रहेको थियो । यसैगरी, २०७३-७४ मा १ लाख २१ हजार र यसपछिका २ आर्थिक वर्षमा क्रमशः १ लाख ३ हजार र १ लाख ६१ हजार रहेको थियो । विगत ४ आर्थिक वर्षको तुलनामा गत आवमा मात्र धेरै कामदार गएका कारण पनि फर्कने नेपाली श्रमिकको संख्या धेरै भएको हो । यी आर्थिक वर्षको तुलनामा हाल कतार जाने नेपाली संख्या भने औषत ४० हजारको हाराहारीमा मात्र बढेको देखिन्छ ।
कतार जाने नेपालीको संख्या श्रम स्वीकृतिमा बढेको देखिएपनि यसरी स्वीकृति लिने सबै नेपाली रोजगारीमा जाने गरेको छैनन् । श्रम स्वीकृती लिएर पनि रोजगारीका लागि कतार नजाने गरेका कारण पनि गएको संख्याभन्दा वास्तविक संख्या कम हुने गर्दछ । सम्बन्धित गन्तव्य मुलुकले आफनो देशमा कार्यरत विदेशीको संख्यालाई आधार मानेर तयार गर्ने तथ्यांकलाई सही मान्ने हो भने पनि विदेश वास्तविक नेपालीको संख्या कम रहेको देखिन्छ । पछिल्लो समय मलोसियाको रोजगार रोकिएपछि कतार जाने नेपालीको संख्या एक्कासी बढेको थियो । अब मलेसियाको रोजगारी सुचारु भएसँगै कतार जाने नेपालीको संख्यामा कमी आउने विश्लेषक बताउँछन् ।