प्रदेश २ र ३ मा मन्त्रिमण्डल विस्तार

प्रदेश नम्बर २ मा मन्त्रिमण्डल विस्तार गरिएको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गरेका हुन् । विस्तारित मन्त्रिमण्डलमा चार मन्त्री र तीन राज्यमन्त्री थप गरिएको छ । फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिएको छ भने राजपाका २ जना मन्त्रीले पनि सपथ लिएका छन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्रीमा ज्ञानेन्द्रकुमार यादव, भूमीव्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा शैलेन्द्र साह, सामाजिक विकासमन्त्रीमा नवलकिशोर साह र उद्योग तथा पर्यटनमन्त्रीमा रामनरेश रायले बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा सपथ ग्रहण गरेका छन् । राज्यमन्त्रीमा उषा यादव, सरोज सिंह र योगेन्द्र राय यादव छन् । उषा अर्थ, सरोज गृह र यागेन्द्र भूमिव्यवस्था राज्यमन्त्री बनेका हुन् ।
मन्त्रीलाई प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले तथा राज्यमन्त्रीलाई मुख्यमन्त्री राउतले सपथग्रहण गराएका छन् । फोरमका मन्त्रीहरुले मातृभाषा मैथिलीमा सपथ लिए भने राजपाका दुवै मन्त्रीले हिन्दी भाषामा सपथ लिएका छन् । फोरमबाट यसअघि मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादव भइसकेका छन् ।
सत्ता साझेदार दल राजपा नेपालबाट जितेन्द्र सोनल भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् । गृह तथा आन्तरिक मामिला मन्त्री बनेका ज्ञानेन्द्र यादवले प्रदेश २ मा शान्तिसुरक्षाका लागि विशेष कार्य गर्ने बताए ।
प्रदेश ३ मा एमालेका तीन र माओवादीका एक मन्त्री थपिए
तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार चार जना मन्त्री नियुक्त गरेका हुन् । एमालेबाट तीन र माओवादीबाट एकजना मन्त्री थप गरी बुधबार नै प्रदेश प्रमुखबाट सपथ ग्रहण गराइएको छ । एमालेका तर्फबाट रामेछापका प्रदेशसभा सदस्य कैलाश ढुंगेल आर्थिक मामिला तथा योजना र सिन्धुपाल्चोकका अरुण नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री भएका छन् । चितवनका सांसद दावादोर्जे लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै माओवादीको तर्फबाट सिन्धुपाल्चोकका सांसद युवराज दुलाल सामाजिक विकास मन्त्री बनेका छन् । ढुंगेल र लामा एमाले अध्यक्ष केपी ओलीनिकट हुन् भने नेपाल नेता माधव नेपाल समूहका हुन् । माओवादीका तर्फबाट मन्त्री बनेका दुलाल भने लामो समय माओवादी अध्यक्ष प्रचण्डको अंगरक्षकको भूमिकामा रहेर काम गरेका थिए ।
नवनियुक्त मन्त्रीहरुलाई बुधबार नै प्रदेश प्रमुख अनुराधा कोइरालाले पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छन् । बुधबार मन्त्रिपरिषद् विस्तार भएसँगै तीन नम्बर प्रदेशको मन्त्रिमण्डल ७ सदस्यीय भएको छ । यस अघि माओवादीका शालिकराम जम्कट्टेल आन्तरिक मामिला तथा कानुन मन्त्री तथा एमालेका केशब स्थापित भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भइसकेका छन् ।
सात प्रदेशमध्ये सबैभन्दा पहिले मुख्यमन्त्री बनेका पौडेलले केही ढिला गरी मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । वाम गठबन्धनले तीन नम्बर प्रदेशमा ७ वटा मात्र मन्त्रालय राख्ने सहमती गरेको छ । यद्यपी त्यो संख्या बढेर ११ सम्म पुग्न सक्ने बताइएको छ । प्रदेशप्रमुख अनुराधा कोइराला उपचारको क्रममा भारतमा रहेकाले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
मन्त्री नियुक्ती गरेसँगै बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा कानुन मस्यौदा समिति गठन गरेको छ । नयाँ कानुन बनाउने अवधारणापत्रको ढाँचा स्वीकृत समेत गरिएको छ । केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ मा सैद्धान्तिक सहमति भई राजपत्रको ढाँचा स्वीकृत तथा प्रकाशन गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए । – किरण कर्ण (जनकपुर)-केशव समर्पण (हेटौंडा)