छोटी भन्सार आठमौजा सञ्चालनको तयारी

बिर्तामोड– झापाको गौरीगञ्जस्थित छोटी भन्सार कार्यालय आठमौजा सञ्चालनको तयारीमा रहेको छ । ६ वर्ष अगाडि आएको कोभिड–१९ प्रकोपदेखि बन्द भएको उक्त छोटी भन्सार सञ्चालनको तयारी गरिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले झापाको गौरीगञ्जस्थित छोटी भन्सार कार्यालय आठमौजाको अनुगमन गर्दै यसै सातादेखि सञ्चालन गर्ने बताएका छन् ।
आगामी माघ १३ गते भन्सार दिवसको अवसर पारेर झापाको गौरीगञ्जस्थित छोटी भन्सार कार्यालय आठमौजा सञ्चालन गर्ने आफूहरूको योजना रहेको उनको भनाइ छ । हाल भौतिक पूर्वाधारको काम, रंगरोगन, कर्मचारी व्यवस्थापनलगायतका काम गर्नुपर्ने भएकाले त्यसलाई पूरा गरी सञ्चालनमा ल्याउने बताउँदै उनले आफू झापाको बासिन्दा भएकाले आफ्नो कार्यकालमै आठमौजा भन्सार सञ्चालन गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले आठमौजा भन्सार कार्यालयलाई स्तरोन्नति गरी नाकाको रूपमा स्थापित गर्न मन्त्रीस्तरीय बैठकबाट निर्णय भइसकेकाले झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा भन्सार कार्यालय चाँडै सुचारु हुने बताए । भारतको बिहार तथा बंगाल राज्यसँग जोडिएको झापा जिल्लामा काँकडभिट्टा र भद्रपुर गरी दुई वटा मुख्य नाका तथा मूल भन्सार रहेका छन् ।
अन्य नाकाहरूमा छोटी भन्सार कार्यालयहरू रहेको भए पनि काँकडभिट्टा र भद्रपुर नाकाबाहेक अन्य भन्सारहरू कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको थियो । लामो समयदेखि भन्सार कार्यालय सुचारु नहुँदा स्थानीय नागरिकहरूले सास्ती भोगिरहेको बताउँदै उनले बिहारको फत्तेपुर नाकासँग जोडिएको गौरीगञ्ज गाउँपालिकामा रहेको उक्त भन्सार सञ्चालन हुँदा पश्चिमका वासिन्दालाई सहज हुने बताए ।
छोटी भन्सार बन्द भएपछि सीमाबाट अवैध आयात निर्यात हुने क्रम बढ्दै गएकाले पनि झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय पुन: सञ्चालनमा आएपछि सीमाबाट अवैध आयात निर्यात रोकिने उनले बताए । झापा उद्योग वाणिज्य संघ गौरीगञ्जका निवर्तमान अध्यक्ष मखना महतोले छोटी भन्सार कार्यालय सञ्चालनमा नआउँदा यस क्षेत्रको व्यापारिक चहलपहल खस्किँदै गएको बताए ।
आठमौजा छोटी भन्सार २०१६ सालदेखि नै घुम्ती सेवा अन्तर्गत सञ्चालनमा ल्याइएको भए पनि देशमा ठूला परिवर्तन भइसक्दासमेत आठमौजा छोटी भन्सार स्तरोन्नति हुनुको सट्टा बन्द नै हुँदा बजार सञ्चालनमा समेत समस्या भएको उनले बताए । लामो समयदेखि भन्सार कार्यालय नहुँदा स्थानीयले सास्ती भोगिरहेको तथा अवैध गतिविधि नियन्त्रणमा आउन नसकेको बताउँदै उनले नाका स्थापना भए गौरीगञ्जको मुहार फेरिने र आर्थिक गतिविधि बढेर राजस्व पनि संकलन हुनेमा जोड दिए ।
गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले लामो समयको पहल र प्रयासपछि आठमौजा छोटी भन्सार सुचारु हुने बताउँदै यसले यहाँको बजार आर्थिक रूपमा चलायमान हुने बताइन् । लामो समयसम्म भन्सार नहुँदा स्थानीय व्यापारी र आम नागरिकलाई समस्या झेल्नु परेको बताउँदै उनले सबैको साथ र सहयोगले भन्सार स्थापना हुने जनाइन् ।
स्थानीयले आठमौजा छोटी भन्सार कार्यालय पुरानो छोटी भन्सार भएको बताउँदै भन्सार बन्द हुँदा भारतबाट ल्याइएका सामानको भन्सार काट्न लामो दुरी हिड्नु पर्ने समस्याले लुकीछिपी सामान आयात गर्नु पर्ने बाध्यता देखिएको भन्दै सुचारु गर्नुपर्नेमा जोड दिएका छन् ।
गौरीगंजमा हुलाकी सडकसँग जोडिएको, प्रशासनिक कार्यालयहरू भएको, फत्तेपुर सशस्त्र सीमा सुरक्षा वल प्रस्तावित गुल्म भएको, फत्तेपुर नाकासँग जोडिएको, अद्यौगिक पार्क नजिक रहेको, वैंक वित्तीय संस्थाहरू भएकोले गौरीगंजलाई आर्थिक रूपमा सवल बनाउन छोटी भन्सार सञ्चालन गर्नुपर्ने बताए । छोटी भन्सार भएकोले सो नाकाबाट अवैधानिक तरिकाबाट लाखौंको लत्ता कपडा, तेल, लसुन, चिनीलगायतका खाद्यवस्तुहरू नेपालतर्फ भित्रिरहेकाले त्यसलाई नियन्त्रण गर्न पनि छोटी भन्सार सञ्चालन गर्नुको विकल्प नभएको उनको भनाइ छ ।
आठमौजा भन्सार सञ्चालन नहुँदा सेवाग्राहीले राजस्व बुझाउन नपाएको झापा उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष रुपककुमार श्रेष्ठले बताए । छोटी भन्सार कार्यालय नखुल्दा यसअघि संकलन हुने राजस्व त्यतिकै खेर गइरहेको बताउँदै उनले कर संकलनका लागि खोलिएका मुख्य भन्सार मातहतका छोटी भन्सारहरू बन्द हुँदा लामो दुरी पार गरेर कर तिर्न नसकेको जानकारी दिए ।
झापाको दक्षिण पश्चिम भारतको सिमासँग जोडिएको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार सञ्चालन गर्न आग्रह गर्दे उनले आठमौजा छोटी भन्सार सञ्चालन हुँदा गौरीगञ्ज गाउँपालिका आर्थिक रूपमा सवल हुने बताए । गौरीगञ्ज क्षेत्रमा भारतसँग सिमानाका जोडिएका दुई वटा नाका रहेकाले आठमौजा छोटी भन्सार सञ्चालन हुँदा कर छलीको सम्भावना घट्नुको साथै राजस्व वृद्धि हुने उनको भनाइ छ । झापाको मेची भन्सार कार्यालयअन्तर्गत ७ वटा छोटी भन्सार रहेका छन् ।