सांसद विकास कोष खारेज, ठेक्का लागेका सडक बनेन्
कैलालीका पाँच सडक अलपत्र

धनगढी– आर्थिक वर्ष २०७८/०७९ मा सांसद् विकास कोषबाट धनगढीको बेलीस्थित खुटिया पुलदेखि उर्मी, उर्मा, भादा, बेहडा बाबा हुँदै रामपुर पुग्ने १० किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का लगाइएको थियो । कैलाली निर्वाचन क्षेत्र नं. ५ मा सो वर्ष आएको सांसद विकास कोषको रकमबाट सडक डिविजन कार्यालय महेन्द्रनगरले २०७९ वैशाख २ गते बज्रगुरु बी एण्ड भी सनलाइट जेभीलाई सो सडक निर्माणका लागि १० करोड ५२ लाख ८२ हजारको ठेक्का दिएको थियो ।
तर ठेक्का लिए पनि जेभीले काम नगरेपछि हालसम्म सो सडक अलपत्र परेको छ । कैलालीको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बेहडा बाबा र थारु होट स्टे गाउँ भादाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको सो सडक ठेक्का सम्पन्न नहुँदा सो क्षेत्रको पर्यटनमा टेवा पुग्न सकेको छैन । डिभिजन कार्यालयका अनुसार सांसद् विकास कोष खारेज भएको भए पनि सो सडकका लागि हरेक वर्ष बजेट आइरहेको छ । तर निर्माण कम्पनीले काम नगरेकै कारण सडक निर्माणमा प्रगति भएको छैन ।
२०८० पुस २ गतेभित्रै निर्माण सम्पन्न गर्ने गरी लगाइएको ठेक्काको प्रगति हालसम्म ३० प्रतिशतमात्रै भएको डिभिजन कार्यालयका इन्जिनियर प्रकाशबहादुर खड्काले बताए । उनले वित्तीय प्रगति १७ प्रतिशत रहेको बताए । ‘सांसद् विकास कोष खारेज भए पनि स्रोत सुनिश्चितता गरी बहुवर्षीय ठेक्का लगाइएकोले बजेट आइरहेको छ,’ उनले भने, ‘प्रत्येक निर्वाचन क्षेत्रमा २/२ करोड रुपैयाँ बजेट आइरहेको छ । गतवर्ष अन्तिम तिर भुक्तानीमा केही समस्या भए पनि पछि पेमेन्ट भइसकेको छ । ठेकदारले काम नगरेर मात्रै सडक निर्माण पूरा हुन सकेको छैन ।’
बेली–उर्मी–उर्मा–भादा–बेहडाबाबा–रामपुर सडकलाई डबल बिटुमिन सरफेस ट्रिटमेन्ट (डिबिएसटि) प्रविधिबाट कालोपत्रे गर्न र बाटोमा पर्ने खोलामा कलभर्ट निर्माणका लागि ठेक्का लगाइएको थियो । कुल १० मिट चौडाइ भएको सडकमा साढे पाँच मिटर चौडाइको डिबिएटी गर्ने, सडकको ठाउँ ठाउँमा ड्रेन, कलभर्ट, ह्युमपाइप निर्माण गर्ने स्टिमेट रहेको इन्जिनियर खड्काले बताए । उनले तीन मिटर स्पानमा दुईवटा स्ल्याब कलभर्ट निर्माण भइसकेको र दुई वटा निर्माण भइरहेको बताए ।
सो ठेक्कामा सुरुबाटै राम्रोसँंग काम नभएको धनगढी–१५ का पूर्ववडाध्यक्ष फुलाराम चौधरीले बताए । ठेक्का लागेको दुई वर्षमा एकदमै न्यून काम भएको छ । ‘सडकमा कुनै पनि सुधार भएको छैन,’ उनले भने, ‘पहिले जस्तो थियो, अहिले पनि सडकको अवस्था उस्तै छ । ठेकदारले काम गरेको छैन ।’ पछिल्लो पटक ठेकेदारले कलभर्ट निर्माणको काम सुरु गरेको पूर्ववडाध्यक्ष चौधरीले बताए । ‘बेलीदेखि उर्मासम्म सब बेस निर्माणको काम भएको छ,’ उनले भने, ‘वडा कार्यालयभन्दा अगाडि पहिले बनाएको सबबेस भत्किएपछि दोस्रो पटक सबबेस बनाएको छ । पहिले बनाइसकेका कलभर्टमा फिलिङ गरेको छैन । अग्ला कलभर्टमा गाडी चल्न नसक्ने अवस्था छ ।’
बज्रगुरु बी एण्ड भी सनलाइट जेभीमा सो सडक निर्माणको जिम्मेवारीमा रहेको सनलाइट निर्माण सेवाका सञ्चालक रोशन अधिकारीले अहिले कलभर्ट निर्माण, सडक कटिङ र फिलिङको काम गरिरहेको बताए । उनले सडकमा जंगल परेको हुँदा काम गर्न नसकिएको बताउँदै उनले बाटो कटिङमा रुखले डिस्टर्ब गरेको बताए । ‘जंगलमा पर्ने एउटा खोलामा वनमा एउटा स्ल्याब कलभर्ट बनाइरहेको छु,’ उनले भने, ‘अहिले काम भइरहेको छ तर जुन गतिले हुनुपर्ने हो भइरहेको छैन । बुबाले काम लिनु भएको हो । उहाँ विरामी भएपछि काम हुन सकेन । दुई वर्षदेखि उहाँ बिरामी हुनुहुन्छ । अहिले म काम गर्दैछु ।’
ठेक्काको म्याद सकिएको पनि एक वर्ष भएको छ । इन्जिनियर खड्काले चौधौं संशोधन आएपछि मात्रै सो ठेक्काको म्याद थपिने बताए । उनले तत्काल म्याद थपिने सम्भावना नभएको हुँदा निर्माण कम्पनीले जतिसक्दो छिटो काम सक्नुपर्ने बताए । सनलाइट निर्माण सेवाका सञ्चालक अधिकारीले यो वर्ष जसरी पनि काम सक्ने योजना भए पनि कामले गति पाउन नसकेको बताए । उनले म्याद थप, जंगल र कार्यालयबाट भुक्तानी पाउन नसक्दा निर्माणलाई तीव्रता दिन नसकिएको बताए । ‘जिरो प्वाइन्टदेखि जंगलसम्म जसरी पनि यो वर्ष पीच गर्छु,’ उनले भने, ‘ठेक्का लिएको बेला र अहिलेको निर्माण सामग्रीको मूल्यले गर्दा पनि काममा बाधा भइरहेको छ ।’
सांसद् विकास कोषको रकमबाट ठेक्का लगाइएको यो सडकमात्रै नभई कैलाली जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा लगाइएको ठेक्का सम्पन्न भएको छैन । इन्जिनियर खड्काका अनुसार २०७८/०७९ मा कैलालीका प्रत्येक संघीय निर्वाचन क्षेत्रमा एक/एक वटा सडक ठेक्का लगाइएको थियो । कैलालीमा रहेका पाँचवटै निर्वाचन क्षेत्रको सडक निर्माण सम्पन्न नभएको हुनले बताए । कैलाली क्षेत्र नं. १ मा नारायणपुर–टीकापुर, क्षेत्र नं. २ मा चिसापानी–कुइने, क्षेत्र नं. ३ मा पहलमानपुर–लालबोझी र क्षेत्र नं. ४ मा चौमाला बजार क्षेत्रको सडक ठेक्का लगाइएको थियो ।