धुलो र हिलोले मालढुंगा–बेनी सडकमा यात्रुलाई सास्ती

पर्वत– निर्माण व्यवसायीको लापरबाहीका कारण समयमै काम हुन नसक्दा उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर आयोजना अन्तर्गत मालढुंगा–बेनी सडकमा यात्रुलाई सास्ती भएको छ । १३ किलोमिटर लामो मालढुंगा–बेनी सडकमा यात्रा गर्न घण्टौं समय बिताउनुपर्ने बाध्यता रहेको छ ।
कतै धुलाम्य र कतै हिलाम्य, खाल्डाखुल्डी परेको सडकमा सवारीसाधन सञ्चालन गर्नसमेत समस्या हुने गरेको चालकहरूको गुनासो छ । ३० महिनामा काम सम्पन्न गर्नेगरी विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको सडक अहिलेसम्म पनि पूरा हुन नसकेको हो । यो सडकखण्ड हँदै दैनिकजसो म्याग्दी, मुस्ताङ, पर्वतको जलजला गाउँपालिकामा यात्रा गर्ने सयाैं सवारीसाधन र हजारौं यात्रुले सास्ती भोग्दै आएका छन् ।
एपेक्स–खड्का–कृष्ण जेभीको पेटी ठेकेदार कम्पनी ओमकारेश्वर कन्स्ट्रक्सनले सडक निर्माण गर्न नसकेपछि गत वर्षको फागुनदेखि पुन: मुख्य ठेकेदार नै आएर काम सुरु गरेको भए पनि अझै पर्याप्त जनशक्ति परिचालन नगर्दा सडकले गति लिन सकेको छैन । अहिलेसम्म जम्मा दुई किलोमिटर सडक कालोपत्रे भएको छ भने झण्डै दुई किलोमिटर ढलान भएको छ । बाँकी नौ किलोमिटर खण्डमा कुनै पनि प्रगति नदेखिएको कालिगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय मुस्ताङले जनाएको छ ।
ठेकेदारलाई पटक पटक समयमै काम सम्पन्न गर्न दबाब दिएको भए पनि आनाकानी गरेको आयोजनाका सबइन्जिनियर सोहनजंग कार्कीले बताए । कार्कीका अनुसार कुश्मा नगरपालिका–१ मालढुंगाको माझी बस्तीदेखि जलजला गाउँपालिका–८ खनियाँघाटसम्मको दुई किलोमिटर सडक कालोपत्रे भएको छ । खनियाघाटदेखि फर्सेसम्मको झण्डै दुई किलोमिटर सडक यसअघि नै ढलान भएको थियो ।
फर्सेदेखि बेनीसम्मको झण्डै नौ किलोमिटर खण्डमा सडक चक्ल्याउने, ग्यावियन जाली भर्ने, टेवा पर्खाल बनाउने, नाली निर्माणलगायतका कार्य भए पनि थोरै मजदुर राखेका कारण कामको गति बढ्न नसकेको उनले बताए । करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्रे गरिने आयोजनाले जनाएको छ । सडक सम्पन्न गर्न पाँचौ पटक थप गरिएको म्यादसमेत पुस मसान्तमा सकिएको छ ।
ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अहिले मालढुंगा–बेनी सडकमा यात्रा गर्न सकस हुँदै आएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए । समयमै काम सम्पन्न गर्न पटकपटक दबाब दिएको भए पनि चार वर्ष बितिसक्दा समेत सडक सम्पन्न नभएको उनको गुनासो छ । अहिले सडक खण्डमा यात्रा गर्दा धुलो र हिलोले यात्रु तथा हिमालपारिको जिल्ला मुस्ताङ जाने पर्यटक सास्ती खेप्न बाध्य भएका छन् । अस्तव्यस्त सडकका कारण उक्त खण्डमा सवारी दुर्घटनासमेत बढ्दै गएका छन् ।