Logo

आर्थिक वृद्धिदर ५ देखि ८ प्रतिशत कायम रहन्छ : अर्थमन्त्री खतिवडा

वीरगन्ज- अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशको आर्थिक वृद्धिदर ५ देखि ८ प्रतिशत कायम रहने दावी गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको ४४ औं साधारणसभाको हिजो उदघाटन समारोहको उदघाटन सत्रमा बोल्दै अर्थमन्त्री डाक्टर खतिवडाले मुलुकको अर्थतन्त्र विस्तारै सुधार हुदै गएको दावी गरे । निजीक्षेत्रले राखेका समस्याहरु विस्तारै हट्दै गएको दावी गर्दै पहिले आउँदा उद्योगी व्यावसायीहरुले राखेका समस्या र गुनासोहरु यसपटक आफु वीरगन्जमा आउँदा नपाएको बताए ।
उनले भने, “वीरगन्जका उद्योगी व्यवसायीहरुले धेरै समस्याको लामो विवरण दिनेका थिए । यसपटक आउँदा त्यो पाईएन । त्यसैले यो आर्थिक विकासको सुधारको संकेत हो ।” वर्तमान सरकार राजस्वको लक्ष्य बाहेक केही कुरा गर्दैन भन्ने निजीक्षेत्रको भनाई सुहाउँदो नभएको बताउदै मन्त्री खतिवडाले लगानीमैत्री राजस्व मात्रै उठाउने सरकारको लक्ष्य रहेको बताए । उनले व्यवसायीलाई थुनेर राजस्व उठ्ला भन्ने पक्षमा सरकार नरहेको बताउदै निजीक्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्न चाहेको पनि बताए । उनले भने, “अपराध गरेमा मै पनि जेल जानुपर्छ । अख्तियारप्राप्त अधिकारी पनि जेल गएका छन् । जघन्य अपराधमा कसैलाई छुट हुन्न ।” तर पारदर्शी र व्यवस्थित कारोबारमा भने व्यवसायीलाई साथ लिएर अघि बढ्न चाहेको अर्थमन्त्री खतिवडाको भनाई थियो । सरकार व्यवसायीका मागप्रति सकारात्मक रहेको बताउँदै उनले भने, ‘राजश्व चुहावट नियन्त्रण ऐनमा हिजो ५० लाखसम्मको कसुर गर्दा विगो र तीन वर्षसम्म कैद थियो ।
हामीले ५० लाखसम्मको विवरण त राजश्व अनुसन्धान विभागले नै सल्टाउन सक्ने बनाएका छौं । जेल सजाय घटाएका छौं र स्वविवेकीय अधिकार हटाएका छौं, सामान्य मुद्दाहरु राजश्व अनुसन्धान विभागले नै हेर्ने अदालत नजाने व्यवस्था गरेका छौं ।’ सामान्य व्यवसायिक त्रुटीमा व्यवसायी जेल जान नपरोस् भन्ने धारणा सरकारको पनि रहेको उनले बताए । मन्त्री खतिवडाले सरकार व्यवसाय सुधार गर्नतर्फ नै उन्मुख रहेको दावी गरे । ‘चोरी पैठारी बढी भयो, वास्तविक व्यवसायीले व्यवसाय गर्न नसक्ने वातावरण भयो भने, त्यही भएर भिसिटिएस लागु ग-यौं । त्यसमा पनि सुधार गर्नुपर्छ भने । हामीले त्यसलाई पनि मानेका छौं । अहिले हजारौं व्यवसायी भिसिटिएसमा आवद्ध भएका छन् । प्यानको विषयमा आत्तिनुपर्ने अवस्था छैन । अर्को वर्षबाट लागु हुने कुरा हो ।
सरकार एक्लै हिँडिरहेको छैन । व्यवसायीले बुझ्नुपर्छ ।’ मन्त्री खतिवडाले निजगढ काठमाडौं द्रुतमार्ग २०८१ सालसम्ममा निर्माण सम्पन्न हुने बताउदै त्यसको निर्माणको लागि स्रोतका अभाव हुन नदिने पनि बताए । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको विकल्प प्रस्तावित दोश्रो विमानस्थल नै भएकोले दोश्रो अन्तराष्ट्रिय विमानस्थल प्रस्तावित स्थानमै जुसुकै हालतमा बन्ने बताए । वीरगन्जमा विश्वविद्यालय निर्माणको मागको सम्बन्धमा अहिले सरकार विश्व विद्यालय थप गर्ने मनस्थितिमा नरहेको र प्रदेश सरकारले पनि प्रादेशिक विश्वविद्यालय स्थापना गर्न सक्ने व्यावस्था रहेकोले त्यतातर्फ प्रदेश सरकारले लाग्दा राम्रो हुने सुझाव दिए ।
वीरगन्जबाट नै ४० प्रतिशत राजस्व राज्यले उठाउने गरेको प्रसँग अब नउठाउन आग्रह गर्दै मन्त्री खतिवडाले वीरगन्ज नाकाबाट आएको सामानको देशका विभिन्न स्थानमा पुग्ने अन्तिविन्दुका उपभोत्ताले कर तिर्ने गरेकोले त्यो तर्क आधारहिन भएको बताए । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का संसद प्रदिप यादव, प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान, प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले गरेका थिए । भने, धन्वयाद ज्ञापन बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले गरेका थिए ।

 
वीरगन्जका कारोबारकर्मी सम्मानित

वीरगन्ज उद्योग वाणिज्य संघको ४४ औं साधारणसभामा वीरगन्जका कारोबारकर्मी नीरज पिठाकोटे सम्मानित भएका छन् । आर्थिक पत्रकारिताको माध्यमबाट वीरगन्ज लगायत यस क्षेत्रका सम्भावना, अवसर र चुनौतीको विषयमा वीरगन्ज उद्योग वाणिज्य संघले संस्थागत रुपमा उठाउदै आएको उद्योग वाणिज्य तथा विकाससँग सम्बन्धित आर्थिक मुद्दाहरुमा कलम चलाएको भन्दै कारोबारकर्मी नीरज पिठाकोटेलाई सम्मान गरेको हो । सम्मानित उनलाई अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दोसल्ला ओढाएर सम्मान सहित प्रशंसापत्र प्रत्र प्रदान गरे । त्यस्तै विभिन्न क्षेत्रमा योगदान पु-याएका उद्यमी, खेलाडी, सामाजिक अभियन्ता र संस्थाहरुलाई सम्मान पनि गरेको छ । वातावरण क्षेत्रमा योगदान पु-याउने जसपाल सिंह, युवा उद्यमी संदीप तुल्स्यान, महिला उद्यमी नीता मल्लिक तथा हालै सम्पन्न साग खेलकुद प्रतियोगितामा पर्साबाट स्वर्ण, काश्य र रजत पदक विजेता १० खेलाडीहरुलाई सम्मान गरिएको हो । त्यस्तै भारत तथा तेश्रो मुलुकमा निर्यात गर्ने उत्कृष्ट उद्योगहरुलाई पनि सम्मान गरेको छ । भारतमा सबैभन्दा बढी वस्तु निर्यात गर्ने शिवशक्ति घ्यु, अन्नपूर्ण भेजिटेबल प्रालि र उद्योग डावर नेपाल प्रालिलाई सम्मान गरिएको छ । त्यस्तै तेश्रो मुलुक निर्यात गर्ने उद्योगहरु त्रिवेणी स्पिनिङ्ग मिल्स प्रालि, शिवशक्ति दाल मिल र नारायणी लेदरलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्