म्याग्दीमा बर्खे आलु रोप्न कृषकलाई भ्याइनभ्याइ

पर्वत– हिउँदे वर्षा र हिमपात हुनुअघि नै म्याग्दीको माथिल्लो भेगका कृषकले बर्खे आलु रोप्न सुरु गरेका छन् । जलवायु परिवर्तनका कारण तापक्रम बढेकाले जिल्लाको उपल्लो भेग (दुई हजार मिटर माथि)का कृषकले हिउँदे वर्षा र हिमपात हुनअघि नै बर्खे आलु रोप्न थालेका हुन् । कृषि प्राविधिकका अनुसार आलु पानी नजम्ने माटोमा चिसो मौसममा फस्टाउने बाली हो । यहाँको थोरै कृषकले नाम नखुलेको स्थानीय आलु रोप्छन् । धेरै कृषकले भने डिजरे जातको रातो आलु रोप्ने गरेका छन् ।
‘हिउँदे वर्षा र हिमपात हुनुअघि नै कृषकहरू धमाधम बर्खे आलु रोप्ने चटारोमा छन् । ढिलो रोप्नेले पनि पुस तेस्रो साताभित्र सबैले रोप्छन्,’ टिकोट माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका प्रदिप पुनले भने, ‘हिउँदे वर्षा र हिमपातको मात्रा घटेकाले जति चाँडो आलु रोप्यो उत्ति राम्रो फलेको स्थानीय अनुभवका आधारमा किसानले पुस दोस्रो सातादेखि नै वर्षे आलु रोप्न लागेका हुन् ।’ पुनले थपे, ‘अहिले चिसो भएकाले बारीमा रोपेको आलु बिग्रिन्न । सिँचाइ नभएको हाम्रा पाखोबारीमा आलु उम्रनु अघि हिउँ पर्यो भने पर्याप्त चिस्यान पुग्छ अनि फागुन लागेपछि राम्रोसँग उम्रिन्छ, फल राम्रो लाग्छ र बर्खा लाग्नुअघि बाली भित्रयाउन पाइन्छ ।’
जिल्लाको अन्नपूर्ण गाउँपालिकाका अधिकांश लेकाली बस्तीमा यतिबेला कृषकहरू धमाधम आलु रोप्न व्यस्त छन । जलवायु परिवर्तनका कारण पहिलापहिला जस्तो मंसिर/पुसमा बाक्लो हिउँ पर्न छोडेपछि न्यानोपन बढेको छ । कृषकका अनुसार सिँंचाइ छैन, हिउँदमा कम हिमपात हुँदा माटोमा चिस्यान कम भई फागुनपछि माटो बढी सुख्खा हुन्छ, आलु उम्रिन समस्या हुन्छ, मध्य मागपछि तापक्रम ह्वात्तै बढ्ने भएकोले आलुबाली छिटो भित्र्याउन पाइन्छ ।
‘पहिला बर्खे आलु माघ मध्य फागुनमा रोप्थ्यौं, असार अन्तिममा भित्र्याउने गथ्र्यौं । त्यसोहुँदा बर्खाको पानीले आलु भिजेर धेरै कुहिन्थ्यो, अहिले आलु पुस/माघ पहिलो साताभित्र रोप्दा जेठ अन्तिम असार सुरुमै भित्र्याउन सकियो । उत्पादन बढ्यो, आलु कुहिने भएन, लामो समय भण्डारण गर्न सकियो अनि अर्को बाली पनि समयमै लगाउन सकियो,’ अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी नन्दकुमारी गर्वुजाले भनिन्, ‘हाम्रो गाउँमा धानखेती हुन्न मुख्य अन्नबाली भने पनि तरकारी भने पनि आलु हो । छिटो आलु रोप्नेको बारीमा राम्रो उत्पादन भएको देखेपछि गाउँलेहरू पुसमै बर्खे आलु रोप्न थालेका हुन् । आलु उम्रिनुअघि हिउँको खात पर्यो भने त्यो वर्ष आलु उत्पादन झन राम्रो हुन्छ ।’
जिल्लाको धवलागिरि गाउँपालिकाको वडा नं ६ र ७ बाहेक सबै लेकाली बस्ती, मालिका गाउँपालिकाको सबै माथिल्लो भेग, रघुगंगा गाउँपालिकाको ७ र ८ वडा र अन्नपूर्ण गापाको ४–८ वडाका माथिल्लो भेगमा लेकाली आलु खेतीको राम्रो उत्पादन हुन्छ । ‘सामाान्यतया लेकाली बर्खे आलु रोप्ने सिजन फागुन नै हो । तर रैथाने ज्ञानमा आधारित भएर केही कृषकले पुसमै आलु रोप्नु भएको छ,’ कृषि ज्ञान केन्द्र म्याग्दीकी कृषी प्रसार अधिकृत गंगा लामिछानेले भनिन्, ‘आलुको टुसा/पातमा तुसारो वा शीत जम्यो भने डढेलो (लेटलाइट) रोग लाग्छ त्यसैले तुसारो/शीत पर्ने समय छलेर रोप्न कृषि प्राविधिकको सिफारिस रहन्छ ।’
कृषि प्रसार अधिकृत लामिछानेका अनुसार जुनसुकै जातका आलुको बिरुवाले कम्तीमा तीन महिना पर्याप्त घाम र अँध्यारो रात (फोटो पिरियड) पूरा गरेमा राम्रो स्वाद र गुणस्तर कायम रहन्छ । तीन महिनाको खेती समयावधिमा बिरुवाले पर्याप्त घाम पाएनन् (बादल, झरी) धेरै भयो भने बिरुवामा रोग बढी लाग्ने र स्वाद र गुणस्तर पनि खस्कने हुन्छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीको विवरणअनुसार जिल्लाको १७ सय हेक्टर क्षेत्रफलमा समुदायस्तरमा आलु प्रशोधनयुक्त, खायन आलु र नाम नखुलेको स्थानीय आलुखेती हुने गरेको छ । गत वर्ष जिल्लाबाट कृषकले बर्खे र हिउँदेगरी ३१ हजार ४५० मेट्रिक टन आलु बिक्री गरी पाँच करोड ७५ लाख रुपैयाँ नगद भित्र्याएका थिए ।
‘हामीले आलुको सिजनको न्यूनतम मूल्य ३५ रुपैयाँ प्रतिकेजीको दरले गणना गरेका छौं । सिजन र भेगअनुसार कृषकले प्रतिकेजी ६० रुपैयाँसम्म पनि मूल्य पारेका छन्,’ कृषि प्रसार अधिकृत लामिछानेले भनिन्, ‘म्याग्दीको लेकाली आलु पोखरासमेतका सहरमा राम्रो माग छ ।’ जिल्लाको उत्तरी भेगमा स्थानीय जातबाहेक कर्डिनल जातको आलुखेती बढी गरिन्छ । तल्लो क्षेत्रमा एमएस ४२–३ र डिजिरे जातका आलु लगाउने गरिन्छ । गुर्जा, कुइनेमंगले, लुलाङसमेतका क्षेत्रमा स्थानीय सेतो लाम्चो आलुको खेती गरिन्छ ।