Logo

धनगढीको दुई पुलमा तेडी–मित्रको लापरबाही

धनगढी– धनगढी वडा नं. १६ मा रहेको भादा होमस्टेमा आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले भादाको प्रदेशद्वारमा रहेको काठेपुल विस्थापन गर्न धनगढी उपमहानगरपालिकाले पक्कीपुल निर्माणको ठेक्का दिएको थियो । तर, लागत अनुमानभन्दा झण्डै आधा कम रकममा ठेक्का कबोल गरेको तेडी–मित्र जेभीले तीन वर्षमा पुलको स्पान नै ढलान गर्न सकेको छैन ।

२०७८ कात्तिक १५ गते धनगढी उपमहानगरपालिका र सो जेभीबीच २०८० असोजसम्म निर्माण सम्पन्न गर्ने सर्तमा सम्झौता भएको थियो । सम्झौतालगत्तै काठेपुल उखेलेर मोबिलाइजेसन पेमेन्ट लिएको जेभीले खोलामा खाल्डो खनिसकेपछि दुई वर्षसम्म फर्केर नआएको स्थानीयले बताएका छन् । थारु होम स्टे भादाको व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले तीन वर्ष पहिले पक्की पुल तोडेर जमिन खनेपछि ठेकेदारले दुई वर्षसम्म कुनै काम नगरेको बताए ।

ठेकदारले लापरबाही गरेकै धनगढी उपमहानगर, बेहाडा बाबा र थारू होम स्टे गाउँ भादालाई सडक सञ्जालसँंग जोड्ने सुखाई–घुरही खोलाको पक्की पुल चार वर्षदेखि अलपत्र परेको छ । पाँच करोड ४० लाख लागत अनुमान रहेको सो पुलको ठेक्का तीन करोड दुई लाख रुपैयाँमा ठेक्का कबोल गरेको थियो । समयमा काम नभएपछि उपमहानगरपालिकाले दुई पटक म्याद थप गरी आउँदो चैत ३० गतेसम्म निर्माण कार्य सक्याउने समय दिएको छ । यो अवधिमा केही मात्रामा काम गरेको केठेदारले ३९ प्रतिशत काम गरेको र एक करोड १९ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । तर पनि समयमै काम सकिने अवस्था नरहेको स्थानीयले बताएका छन् ।

धनगढी–१६ का वडाध्यक्ष रामबहादुर चौधरीका अनुसार एकापट्टीको स्पान ढलाइ भइसकेको छ भने अर्को पट्टी स्पान ढलाइको काम बाँकी छ । धेरै मेहनेतपछि ठेकेदारलाई ल्याएर काम गराइरहेको बताउँदै उनले जेभीमा रहेका अन्य निर्माण कम्पनीलाई समेत सक्रिय बनाएपछि मात्रै पुलको काम भइरहेको जनाए । चार वर्षदेखि पुल निर्माण नसकिएकाले भादा, तिलकपुर, घसिटा लगायतका बाउँका बासिन्दालाई धनगढी आउजाउ गर्न निकै कठिन भएको छ । उनीहरूले सो ठाउँभन्दा केही मिटर दक्षिणमा रहको जीर्ण काठेपुल प्रयोग गर्न बाध्य भएका छन् ।

पुल निर्माण गर्ने योजना चार वर्षदेखि अलपत्र भए पनि उपमहानगरपालिकाले ठेकेदारलाई काम गर्न ताकेता नगरेको स्थानीयको आरोप छ । अध्यक्ष चौधरीले पुल निर्माण ढिलो हुनुमा उपमहानगर र ठेकेदार दुवैले लापरबाही गरेको बताए । उनले पुल नबन्दा भादा बासिन्दा र भादामा आउने पर्यटकलाई समेत सास्ती झेल्नुपरेको बताए । तेडी–मित्र–तेज जेभीले २०७८ कात्तिक १५ गते नै धनगढी उपमहानगरपालिकाबाट ठेक्का लिएको अर्को पुल पनि अलपत्र पारेको छ ।

चार करोड १२ लाख रुपैयाँ लागत अनुमान रहेको धनगढी–६ को दोघराबाट सामुदायिक वन कार्यालय निस्कने बाटोमा पर्ने सुकुटी खोलामा पुल निर्माणको ठेक्का आधा रकममा कबोल गरी दुई करोड २८ लाख रुपैयाँमा सो जेभीले ठेक्का स्वीकार गरेको थियो । ठेकेदारले पुलको पाइलिङको काम पूरा गरेको इन्जिनियर राजु खड्काले बताए । उनले पाइलिङ तयार गरी थप काम अगाडि बढाइएको बताए । उनले ठेक्कापछि कोभिड लागेकाले ठेक्दारले काम गर्न नसकेको र कोभिडपछि ठेकदारले काम गर्न नमानेपछि ढिलो भएको बताए ।

वडा वडा नं. ६ का वडा सदस्य महेन्द्र थापाले ठेकेदारले नदीभित्र मात्रै काम गरेको र नदीभन्दा माथिसम्म पिलर बनाउने काम बाँकी रहेको बताए । तर उपमहानगरपालिकाले ठेकदारले ५२ प्रतिशत काम गरेको उपमहानगरपालिकाले प्रतिवेदन पेस गरी सोवापत ठेकेदारलाई एक करोड १९ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ । उपमहानगरपालिकाले सो पुलको काम गर्नका लागि पनि दोस्रो पटक म्याद थप गरी आउँदो चैत ३० गतेसम्म म्याद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्