Logo

७८ लाख लगानीमा मकैखेती विस्तार गरिँदै

फाइल तस्बिर ।

पर्वत– पर्वतमा उत्पादनको हिसाबले मुख्य बालीको रूपमा रहेको मकैबाली विस्तार गर्न चालु आर्थिक वर्षमा ७८ लाख लगानी गरिने भएको छ ।

कृषि ज्ञान केन्द्र पर्वतले मकै बीउ उत्पादन तथा मकैबाली प्रवर्द्धन आयोजनाका लागि उक्त रकम लगानी गर्ने भएको हो । मकैखेती भइरहेको जिल्लाको करिब ६० हेक्टर क्षेत्रफलमा थप व्यावासायिक रूपमा मकै बीउ तथा मकैबाली उत्पादनका लागि ७८ लाख रुपैयाँ कृषकलाई अनुदान स्वरुप वितरण गर्न थालिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

कार्यालयका अनुसार मकैबालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्द्धनका लागि ४० लाख, बीज वृद्धि कार्यक्रमका लागि २० लाख, यान्त्रिकरण, तथा पूर्वाधार निर्माणका लागि १० लाख र बजारीकरणका लागि आठ लाख रुपैयाँ लगानी गर्ने भएको हो । यसमध्ये ४० हेक्टर क्षेत्रफलमा मकैबाली विस्तार गरिने भएको छ भने २० हेक्टर क्षेत्रफलमा मकैको मूल बीउ उत्पादन गरिने वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार क्षेत्रफल विस्तारका लागि कम्तीमा १० घर परिवार संलग्न भएको समूह वा सहकारीमार्फत् एक सय रोपनी क्षेत्रफलमा खेती गर्नुपर्ने प्रावधान छ भने मकैको मूल बीउ उत्पादनका लागि कम्तीमा १० घर परिवपार संलग्न समूह वा सहकारीमार्फत् २० रोपनी क्षेत्रफलमा बीउ उत्पादन गर्नुपर्ने उल्लेख छ ।

कार्यालयका अनुसार मकै बीउ उत्पादन तथा मकैबाली प्रवर्द्धन आयोजना कार्यान्वयन मापदण्ड २०७९ अनुसार बीउमा बढीमा ७५ प्रतिशत, सिंँचाइलगायत पूर्वाधार निर्माणमा ९० प्रतिशत, यान्त्रिकरणतर्फ बढीमा ७५ प्रतिशत, र बजारीकरणतर्फ बढीमा ५० प्रतिशत अनुदान कृषकलाई वितरण गरिने भएको छ ।

मकैबाली उत्पादन तथा बीउ उत्पादन गर्न चाहने कृषकले वडा कार्यालय वा कृषि शाखाको सिफारिस, जग्गाको लालपुर्जा वा करार सम्झौताको प्रतिलिपि, कृषक समूह, सहकारी वा साझेदारी फर्म दर्ता प्रमाणपत्र, पान वा भ्याटको प्रतिलिपि र करचुक्ता प्रमाणपत्र बुझाउनुपर्ने कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी एकीकृत कार्यविधि २०७७ र मकै बीउ उत्पादन तथा मकैबाली प्रवर्द्धन आयोजना कार्यान्वयन मापदण्ड २०७९ भएको व्यवस्थाअनुसार कार्यक्रम सञ्चालन गरिने केन्द्र प्रमुख अधिकारीले जानकारी दिए । पर्वतमा गत वर्ष सञ्चालित उक्त कार्यक्रम अन्तर्गत ६० हेक्टर क्षेत्रफलमा १३० मेट्रिक टन मकै उत्पादन भएको थियो ।

मकैको बीउ साढे २३ मेट्रिक टन उत्पादन भएको थियो । पर्वतमा कुल १३ हजार ९४० हेक्टर क्षेत्रफलमा मकैबाली उत्पादन हुँदै आएको छ भने वार्षिक ३३ हजार ४५० मेट्रिक टन उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । मकैबालीमा पर्वत आत्मनिर्भर हुनुका साथै वार्षिक १४ हजार मेट्रिक टन मकै निर्यातसमेत हुने गरेको कार्यालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्