Logo

लुम्बिनीका सय स्थान पर्यटकीय गन्तव्य

दाङ– लुम्बिनी प्रदेश सरकारले प्रदेशका सय स्थानलाई पर्यटकीय क्षेत्रको रूपमा अगाडि बढाउन थालेको छ । प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिएको लुम्बिनी प्रदेश सरकारले प्रदेशमा एक सय पर्यटकीय गन्तव्य तय गरेको हो । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रदेशका १२ जिल्लामा रहेका एक सय पर्यटकीय गन्तव्य तय गरेको हो ।

यी गन्तव्य पर्यटन प्रवर्द्धनका लागि उपयुक्त थलोका रूपमा उल्लेख गर्दै मन्त्रालयले यी थलोमा पर्यटकको संख्या वृद्धि गर्ने लक्ष्य लिएको छ । यी पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई गन्तव्यमा पुर्‍याएर प्रदेशको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने रणनीति बनाइएको छ । मूलत: प्रदेशमा भित्रने बाह्य पर्यटकलाई यी सय गन्तव्यमध्ये सकेजति धेरै स्थानमा पुर्‍याउने गरी सरकारले पर्यटकीय एक सय गन्तव्य तय गरेको मन्त्रालयले जनाएको छ ।

‘प्रदेशको समृद्धिको प्रमुख आधार भनेको पर्यटन क्षेत्र हो, यसर्थ यहाँको पर्यटन प्रवर्द्धन सरकारको प्रमुख कार्य रहँदै आएको छ,’ उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘यसका लागि हामीले प्रदेशका एक सय स्थान छनोट गरेर पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेका छौँ, यी स्थानमा पर्यटकको आवागमन बढाउने लक्ष्य मन्त्रालयको छ ।’ मन्त्रालयले प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीमा १६ पर्यटकीय गन्तव्य तय गरेको छ ।

मन्त्रालयका अनुसार रुपन्देहीका लुम्बिनी, भवानीपुर, देवदह, मर्चवारीमाई मन्दिर, गैडहवा ताल, गजेडी दानापुर ताल, जितगढी किल्ला, मणिमुकुन्द पार्क, फूलबारी, पर्रोहा धाम, सैनामैना, प्रकटेश्वर महादेव मन्दिर, मुक्तिनाथ धाम, सन्तानेश्वर घाट, वनबाटिका/बौद्ध बिहार, ग्लोबल पिस पार्क, मिलन पार्कलाई बुटवलका पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ ।

यसैगरी कपिलवस्तुका तिलौराकोट, जगदिशपुर ताल, कपिलदेव, निग्लिहवा, गोटिहवा, कुदान, अरौराकोट, लम्बुसागर ताल, सिसहनियाँकोट, जगदिशपुर ताल, तौलेश्वर मन्दिर, रामघट, लक्ष्मणघाट, शिवगढी क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ । यसैगरी पाल्पाका १२ स्थललाई प्रमुख पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ ।

मन्त्रालयका अनुसार रानी महल, ऋषिकेशव मन्दिर, राम्दीघाट, रानीघाट, श्रीनगर डाँडा, पाल्पादरबार संग्राहलय र भगवती मन्दिर, भैरवस्थान मन्दिर, नुवाकोट गढी, सिद्धबाबा मन्दिर, रामापिथेकस पार्क, माथागढी कौडे लेक र सत्यवती ताललाई पाल्पाका प्रमुख पर्यटकीय गन्तव्य सुचीमा राखिएको छ । यसैगरी गुल्मीका गुल्मी रेसुंगा, धुर्कोट दरबार, मालिका बाझकटेरी, सत्यवति, रिडि रुरु, विचित्र गुफा र खडगकोटलाई प्रमुख पर्यटकीय गन्तव्य तय गरिएको छ ।

यसैगरी अर्घाखाँचीका ११ स्थललाई प्रमुख पर्यटकीय स्थलको सूचीमा राखिएको छ । मन्त्रालयका अनुसार सुपादेउराली मन्दिर, पाणिनी तपोभूमि, अर्घादरबार, नरपानी, परशुरामेश्वर बल्कोट पौवा, छत्रदेव देवालय, वलकोट देवालय, ठाडा डम्बरु दह, खाँची दरबार, मालारानी मन्दिर, नुवाकोट दरबारलाई अर्घाखाँचीका मुख्य पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ ।

यसैगरी दाङका धारपानी धाम, बाह्रकुने दह, बगारबाबा धार्मिक क्षेत्र, दंगीशरण थारु संग्राहलय, अम्बिकेश्वरी मन्दिर, देविकोट, जंगलकुटी, गोरक्ष रत्ननाथलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ । यसैगरी बाँकेका बाँके राष्ट्रिय निकुञ्ज, जयबागेश्वरी मन्दिर, बर्फेनी बाबाधाम, सन्तानेश्वर धामलाई प्रमुख पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ ।

यसैगरी बर्दियाका बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुर बाबा मन्दिर, बढैया ताल, कृष्णसार संरक्षित क्षेत्र, रोल्पाका जलजला, युद्धसंग्राहलय, रक गार्डेन, होलेरी, गुरिल्ला पदमार्ग, तिलाचन दह, सुनछहारी, पूर्वी रुकुमका कमल दह, सुनदह, सिस्ने हिमाल, ढोरपाटन तकसेरा, चौरी लेक, पुथा हिमाल लगायतका पर्यटकीय स्थललाई सरकारले प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सूचीमा राखेको छ ।

मन्त्रालयले यी पर्यटकीय स्थलमा पर्यटकको आवागमन बढाउनका लागि प्रचारात्मक कार्यक्रम गरिरहेको छ । यी स्थलको ऐतिहासिक, धार्मिक महत्त्वका बारेमा पर्यटकलाई जानकारी गराउने काम मन्त्रालयले गरिरहेको मन्त्रालय अन्तर्गत रहेको पर्यटन शाखा प्रमुख गणेश घिमिरेले जानकारी दिए ।

‘हाम्रो मन्त्रालयका विभिन्न संयन्त्रमार्फत् मन्त्रालयले तय गरेका पर्यटकीय गन्तव्यमा पर्यटकको सहभागिता बढाउनका लागि प्रचारात्मक कार्यक्रम गरिरहेका छन्,’ घिमिरेले भने, ‘यी पर्यटकीय थलोमा सकेजति धेरै पर्यटक भित्र्याउनसके प्रदेशको पर्यटन क्षेत्रको प्रवर्द्धन बढोत्तरी हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्