आइएमई ग्रुपद्वारा पाथिभरामा केबलकार निर्माण सुरु

काठमाडौं– ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य सुरु भएको छ ।
आइएमई ग्रुपको लगानीमा परियोजना मंगलबारबाट सुरु भएको हो । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य सुरुवात भएको जानकारी दिए । ताप्लेजुङका राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासी, सरकारी निकायसहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेको केदेमले बताए ।
केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केबलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुङ्गा साबित हुने बताउँदै केबलकार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइने बताएका छन् । पौडेलले अबको १५ महिना भित्र केबलकार चढेर पाथीभरा देवीको दर्शन गर्न सकिने बताउँदै केबलकारले अशक्त, वृद्ध वृद्धा तथा बालबालिका लगायतका भक्तजनलाई समेत पाथीभरा देवीको दर्शन गर्न सहज हुने बताए ।
पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागिसमेत पाथीभरा केबलकार अनुपम उदाहरण बन्ने पनि सञ्चालक पौडेलले उल्लेख गरेका छन् । परियोजना सम्पन्न हुँदा पाथीभरा देवीको दर्शन गर्न आउने पर्यटकहरूको संख्या वर्षेनी १० लाखसम्म पुग्ने विश्वास कम्पनीले लिएको छ । केबलकार सञ्चालनले पाथीभरा देवीको दर्शनको मौका सबैले सहजै प्राप्त गर्दा भक्तजनको संख्या ह्वात्तै बढ्ने छ ।
यसका साथै केबलकार परियोजनाले ताप्लेजुङलाई सुरक्षित, दिगो तथा विश्वस्तरीय पर्यटन उत्पादन र सेवा सुविधासहितको विश्व प्रसिद्ध एक अनुपम पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नको लागि सहयोग पुग्ने छ । पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार सञ्चालन तथा व्यवस्थापन आइएमई ग्रुपले गरिरहेको छ । आइएमई ग्रुपले केबलकार निर्माण तथा सञ्चालनमा डेढ दशक लामो अनुभव हासिल गरिसकेको छ ।