एक वर्षमा साढे १४ हजार युवा कोरिया पुगे

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत सन् २०२४ मा १४ हजार ४९२ नेपाली युवा कोरिया प्रवेश गरेका छन् । यो संख्या कोरिया प्रवेश गर्ने औषत नेपालीभन्दा ६ हजार बढी हो ।
कोरियाले पछिल्लो समय नेपाली युवालाई प्राथमिकतामा राखेर छनोट गरिरहेका कारण गत वर्ष उल्लेख्य संख्यामा कोरिया गएका हुन् । सेवासुविधाका दृष्टिले कोरिया आकर्षक श्रम गन्तव्य रहँदै आएकाले त्यहाँ जाने नेपालीको संख्याले रेमिटेन्स वृद्धिमा ठूलो भूमिका खेल्ने गरेको छ । वैदेशिक रोजगार विभाग ईपिएस शाखाका सूचना अधिकारी कमलराज श्रेष्ठले अन्य देशको तुलनामा नेपालबाट कामदार माग संख्या बढ्दै गएको बताए । एचआरडी कोरियाले केही दिनयता त्यहाँ जाने युवाको उडान तालिकासमेत धमाधम पठाइरहेका कारण जाने संख्या अझ बढ्ने शाखाको अनुमान छ ।
कोरिया जाने रोष्टरमा हाल करिब १६ हजार युवा छन् । तीमध्ये कतिपय जाने क्रममा समेत छन् । भाषा परीक्षा पास भएका केही युवाको रोष्टर तयार हुने क्रममा छ । कोरियाले माग बढाउँदै लगेका कारण रोष्टरमा रहेका भन्दा बढी युवा कोरिया जाने सम्भावना रहेको शाखाको भनाइ छ । नेपालबाट कामदार माग गर्ने क्रम हाल बढ्दै गएका कारण आगामी दिनमा अझ धेरै युवा कोरिया जाने सम्भावना रहेको सूचना अधिकारी श्रेष्ठले बताए । सन् २०२३ मा नेपाल अन्य १७ देशका कामदारको तुलनामा सबैभन्दा बढी पठाउने पहिलो देश बन्न सफल भएको थियो । विगतमा नेपालले ‘बेस्ट प्राक्टिस आउटस्ट्यान्डिङ अवार्ड’ प्राप्त गरेका कारण कोरियाले श्रमिक स्रोत देश नेपाललाई सकारात्मक रुपमा हेर्दै आएको छ ।
पछिल्लो समय आम्दानीका हिसाबले अधिकांश नेपाली युवाको आकर्षणको गन्तव्य मुलुक कोरिया भएको छ । कोरिया जान अत्यधिक युवाहरु प्रतिष्पर्धा गर्ने गरेका छन् । अर्को पक्ष भनेको नेपाली युवाको लगनशिलता, कामप्रतिको लगाव, अनुशासन र कोरियाप्रतिको प्रेमभाव राम्रो रहेका कारण पनि पछिल्लो समय कोरियाले धेरै नेपाली माग गर्ने गरेको देखिन्छ । यसैगरी कोरियाको रोजगारदाताले पनि नेपाली कामदारलाई बढी विश्वास गर्ने गरेका छन् । कोरियाले गैरकानुनी रुपमा बस्ने देशबाट कम कामदार माग गर्ने गरेको छ । अन्य देशको तुलनामा नेपालीहरु कम संख्यामा गैरकानुनी रुपमा कोरिया बस्ने गरेका कारण पनि नेपालले कोटा बढी पाउने गरेको छ । नेपालीहरु तोकिएको श्रम करार अवधि सकिएपछि समयमै स्वदेश फिर्ता हुने गर्छन् ।
गत वर्ष नेपालबाट १९ हजार ६८९ जना रोजगारीका लागि कोरिया गएका थिए । कोरियामा काम गर्ने स्वदेशी वा विदेशी कामदारले बिनाभेदभाव निर्धारित न्यूनतम पारिश्रमिक पाउँछन् । त्यहाँ प्रतिघण्टा ९८६० कोरियन वनका दरले मासिक औसत २६ दिनको न्यूनतम २० लाख कोरियन वन (करिब २ लाख १० हजार नेपाली रुपैयाँ) पारिश्रमिक पाइन्छ । यसबाहेक ओभरटाइम र बिदाको दिन काम गरे अलग्गै भत्ता पाइन्छ । नेपालबाट प्रस्थान गर्नुअघि ६ वर्षे वैदेशिक रोजगार बीमा गर्नुपर्छ भने कोरिया पुगेपछि स्वास्थ्य बीमा, स्वदेश फिर्ता बीमा, दुर्घटना बीमा, चोटपटक बीमा गर्नुपर्ने हुन्छ ।