Logo

अर्थले १०१ करोड बजेट दिएपछि बन्ने भयो जब्दीघाटको पुल

काठमाडौं– सात वर्षदेखि अवरुद्ध बर्दियाको जब्दीघाटस्थित बबई नदीको पक्की पुल निर्माण हुने भएको छ । अर्थ मन्त्रालयले हालै एक अर्ब एक करोड २९ लाख रुपैयाँ बजेट सुनिश्चित गरेपछि पुल निर्माण प्रक्रिया सुरु हुने भएको हो ।

सडक डिभिजन कार्यालय बाँकेका प्रमुख नरेन्द्र भट्टका अनुसार अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको छ । अब यो महिनाभित्रै बोलपत्र आह्वान गरेर निर्माण प्रक्रियामा जाने तयारी गरिएको छ । उनले भने, ‘चाँडै पुल निर्माणको लागि ठेक्का प्रक्रिया सुरु हुनेछ, त्यसपछि निर्माण प्रक्रियामा जानेछौं ।’

उनका अनुसार ११ मिटर चौडाइ र ४ सय मिटर हाराहारी लम्बाइ रहेको यो पुलको निर्माण डिजाइन एन्ड बिल्ड प्रक्रियाबाट गर्ने गरी टेन्डर आह्वान गरिनेछ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यो पुलको निरीक्षण गरेका थिए । त्यसक्रममा उनले निर्माण प्रक्रिया अगाडि बढ्ने बताएका थिए । मन्त्रालयका सचिव केशवकुमार शर्मा एवम् प्राविधिकले पनि क्षतिग्रस्त पुलको निरीक्षण गरेका थिए ।

२०७४ साउनमा आएको बाढीले यो पुलका दुई स्पान भासिएका थिए । निर्माण पूरा भएर उद्घाटनको तयारीमा रहेका बेला स्पान भासिएका हुन् । त्यसपछि सरकारले पटक–पटक निर्माण प्रक्रिया अगाडि बढाउने बताउँदै आएको थियो । पुल जीर्ण भएपछि ठेक्का तोडिएको थियो ।

नयाँ पुल निर्माण भएपछि बर्दियाको बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोडिनेछन् । पुलको बीच भागमा स्पान भासिएपछि निर्माणमा त्रुटी भएको स्थानीयले आरोप लगाउँदै आएका छन् । निरीक्षणका क्रममा मन्त्री दाहालले कुनै पनि योजनामा त्रुटी र लापरवाही हुने अवस्था आउन नदिने गरी काम गर्न निर्देशन दिएका थिए ।

यसअघि २०८० जेठमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले १० दिनभित्र जब्दीघाट नजिकै नयाँ पुलको ठेक्का आह्वान हुने घोषणा गरेका थिए । यस्तै, सांसद सञ्जय गौतम भत्किएको पुल निर्माणका लागि केही दिन पुलमुनि अनशन बसेका थिए ।

यो पुलको निर्माण विवादमा आइरहने पप्पु कन्स्ट्रक्सनले गरेको हो । सडक विभागले ठेक्का तोडेर निर्माण कम्पनीसँग क्षतिपूर्ति माग्ने प्रक्रिया अघि बढाएपछि पप्पु अदालत गएको थियो । मुद्दा हाल अदालतमा विचाराधिन छ । अहिले भएको भन्दा फरक स्थानमा पुल निर्माण हुने डिभिजन प्रमुख भट्टले बताए ।

भौतिक मन्त्रालयका प्राविधिकसहितको टोलीले निर्माण व्यवसायीको लापरवाही र कमजोरीका कारण जब्दीघाटको पुलमा समस्या आएको ठहर गरेको थियो । करिब ५० फिट लामो पिल्लरका लागि कंक्रिटिङ गर्दा माटो भत्किएर ५ मिटरजति माटो र पछि फेरि कंक्रिटको पिल्लर बनेको अनुसन्धानबाट खुलेको थियो । कामदारको असावधानीले गर्दा माटो र सिमेन्टको पिल्लर बनेकाले सडकको लोड लिन नसक्दा पुल भत्किएको ठहर गर्दै निर्माण कम्पनीलाई लागतसहित मागदाबी गरिएको थियो ।

२०६८ सालमा पप्पु कन्स्ट्रक्सनले पुल निर्माण सुरु गरेको थियो । १६ करोड ६८ लाखमा बनेको पुल सवारीसाधन सञ्चालन नहुँदै ३० साउन २०७४ मा भत्केको थियो । पछि २०७९ असोजमा आएको बाढीले पुलमा थप क्षति गरेपछि सबै आवागमन बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्