Logo

वैदेशिक व्यापारः आयात सधैं उकालो, निर्यात सामान्य

दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयात र निराशाजनक निर्यातले देश ग्रस्त छ । फलस्वरूप देश आयातमुखी हुँदै गएको छ । स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रममा सफलता नपाउनु र उत्पादन भएका सामान निर्यात हुन नसक्नु तथा आयातित सामान गुणस्तर नभए पनि अन्धाधुन्ध बढ्दै जानुले व्यापार घाटा बढ्दै गएको छ ।

अघिल्ला वर्षझैँ निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले गरेका कार्यक्रम विफल हुँदै गएको देखिन्छ । व्यापार घाटा कम गर्न समय–समयमा धेरै नीति ल्याए पनि उपलब्धि हुन सकेन । हरेक वर्ष निर्यात बढाउने भनी नयाँ–नयाँ स्याम्पुलका रूपमा नयाँ कार्यक्रम ल्याइन्छ, तर कार्यक्रम कार्यान्वयन हुन नगई निर्यात अधोगतिमा जाँदै छ ।

२०८१-८२ को पाँच महिनामा निर्यातभन्दा आयात १० गुणा बढी छ । उक्त पाँच महिनामा व्यापार घाटा ५८७ अर्ब, आयात ६६२ अर्ब, वैदेशिक व्यापार ७३५ अर्ब र निर्यात ७३ अर्ब रुपैयाँ भएको छ । सरकारले देशभित्र उत्पादित वस्तुका निर्यात बढाउन वाणिज्य नीति–२०७२, निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि–२०८० निर्माण गरेको छ । तर, यसको कार्यान्वयन कमजोर रहँदा वैदेशिक व्यापारमा आयात र निर्यातबीच फरक उच्च रहेको छ । वाणिज्य नीति, २०७२ संशोधनको पर्खाइमा छ । त्यसका साथै एकीकृत रणनीति, २०२३ आएको छ ।

आव २०७८-७९ मा व्यापार घाटा, आयात र वैदेशिक व्यापार क्रमशः १५ खर्ब, १६ खर्ब र १७ खर्ब भएको छ । त्यस्तैगरी आव २०७९-८० मा व्यापार घाटा, आयात र वैदेशिक व्यापार क्रमशः १४ खर्ब, १६ खर्ब र १७ खर्ब भएको छ । तर, आव २०८०-८१ मा व्यापार घाटा, आयात र वैदेशिक व्यापार क्रमशः १४ खर्ब, १५ खर्ब र १६ खर्ब भएको छ ।

नेपालमा भन्सारमा प्रयोग हुने उपभोग्य वस्तुदेखि महँगा सवारी साधन, इन्धन पदार्थलगायत अधिकांश वस्तुको आयात गर्नुपर्ने अवस्थाका कारण देशको व्यापार जहिले पनि घाटामा रहने गरेको छ । सरकारले सहजकर्ता, प्रेरणादायक र नियामकको भूमिका निर्वाह गर्दै निजी क्षेत्रको सहभागिताको अपेक्षा गरेको छ । नेपालको वैदेशिक व्यापारलाई विचार गर्दा भान्सामा प्रयोग हुने सामानदेखि औषधि, सवारी सामान, इन्धन पदार्थजस्ता वस्तु आयात भएका छन् । यसैले सधैँ व्यापार घाटा हुने गरेको छ ।

सरकारले सहजकर्ता, उत्पे्ररक र नियामकको भूमिका वहन गर्दै निजी क्षेत्रको ठोस सहभागिता बढाउने र विश्व बजारमा मागअनुरूपका तुलनात्मक लाभ र योग्य क्षमतायुक्त वस्तुको पहिचान, छनोट, विकास, प्रवद्र्धन र निर्यातका लागि निजी क्षेत्रसँग समन्वय गरिनेलगायतका रणनीति लिई व्यापार घाटा कम गर्ने ध्येय राखे पनि कार्यान्वयन भएको देखिँदैन । व्यवसायी र उद्योगीमा शरण पर्ने समस्याले निकासीमा समस्या पर्न गएको छ ।

वैदेशिक व्यापारको सुधारका उपाय
देशको व्यापार घाटा कम गर्न र निकासी बढाउन सरकारले विभिन्न योजना तथा कार्यक्रम अघि सारे पनि व्यापार घाटा बढ्दै गएकाले सरकारको कार्यक्रम सफल भएको देखिएन । निकासी बढ्न नसक्नु र आयात तीव्र गतिमा बढ्नु देशको व्यापार घाटा बढ्दै जानुको कारक तत्व भएको छ । नेपालबाट निर्यात हुने वस्तु अर्बमा र आयातित वस्तु खर्बौंमा आयात हुँदै आएकाले देशको व्यापार घाटा बढ्दै आएको थियो । नेपालबाट मुख्य रूपमा निर्यात हुने वस्तुमा कपडा, तयारी पोसाक, गलैँचा, अदुवा, चिया, चाउचाउ, अलैँची आदि छन् । अघिल्लो वर्षभन्दा अगाडिका आर्थिक वर्षमा गलैँचाको निकासी घटेको थियो । तर, तयारी पोसाकको निर्यात बढेको थियो । कुनै वर्ष निर्यात वृद्धि हुने वस्तुमा अलैँची परेको छ भने आयात वृद्धि भएका वस्तुमा पेट्रोलियम पदार्थ, गाडी र गाडीका पार्टपुर्जा तथा मोबाइल सेट मुख्य रहेका छन् ।

वस्तुगत आधारमा कुनै वर्ष पशु आहार, धागो, वनस्पति घिउ, तयारी पोसाकलगायतको निर्यात बढेको छ भने कुनै वर्ष जुस, अलैँची, जिआई पाइप, ऊनी गलैँचासहितको निर्यात घटेको छ । समग्रमा वस्तुगत रूपमा पेट्रोलियम पदार्थ, यातायातका साधन, पार्टपुर्जा, सुन, एमएस बिलेट, पोलिथिन ग्रेनुयल्सलगायतका वस्तुको आयात बढेको छ । तर, कृषि औजार, पार्टपुर्जा, विद्युतीय सामान, सेनिटरी प्याड, खाने तेल, ब्याट्रीलगायतका वस्तुको आयात घटेको छ । पशु आहार, तयारी पोसाक, पिना, वनस्पति घिउलगायतका वस्तुको निर्यात बढेको छ । तर जुस, अलैँची, ऊनी गलैँचा, पाइप, टुथपेस्टलगायतका वस्तुको निर्यात घटेको देखिन्छ । भारत, चीन र अन्य देशहरूमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्र रूपमा व्यापार घाटा पनि बढेको देखिन्छ ।

नेपालमा बढी आयात भएका वस्तुमा फलाम तथा स्टिल, पेट्रोलियम पदार्थ, सवारी साधन र तिनका पार्टपुर्जा छन् भने नेपालको निर्यात दयनीय भई नेपालबाट बढी निर्यात भएका वस्तुहरूमा चिया, कफी, म्यान मेड स्टेपल फाइबर, कार्पेट, कपडा तथा कच्चा पदार्थ, फलाम तथा स्टिल मुख्य थिए । सन् २०७५-७६ देखि २०७९-८० सम्म निकासीमा सूर्यमुखी तेल, भटमासको तेल, पाम तेल निकासीमा हाबी भएकोमा २०८०-८१ पछि अलैँची, चिया, धागो कपडा, गलैँचा, तयारी पोसाकका निकासी बढ्न लागेको देखिन्छ । अघिल्ला वर्षसम्म पनि भारत, चीन र अन्य देशहरूमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्र रूपमा व्यापार घाटा पनि बढेको देखिन्छ ।

विदेशमा प्रशस्त माग भएका र सहजै निकासी बजार पाउन सकिने भनी पहिचान भइसकेका कृषि वस्तुका लागि सम्बन्धित जिल्लाहरूलाई सो वस्तुको निकासी जिल्ला भनी घोषित गर्नुपर्ने देखिन्छ । यसैगरी विभिन्न निकासी वस्तुको उत्पादन र प्रशोधनमा विशिष्ट स्थानमा रहेका अन्य जिल्लाहरूलाई पनि क्रमशः निकासी प्रदेश क्षेत्र घोषित गरी निकासी प्रवद्र्धनमा ध्यान दिनुपर्ने देखिन्छ । निर्यात प्रवद्र्धन कोष फलदायी र प्रभावकारी निकासी विकास तथा प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्न सके मात्र निकासी प्रवद्र्धनमा सघाउ पुग्न जाने हुन्छ ।

निकासी गर्न तोकिएका कृषि वा वनजन्य वस्तु उत्पादन गर्न चाहिने जग्गा प्राप्त हुन नसकेमा सरकार र व्यवसायीबीचको समझदारीका आधारमा दीर्घकालीन रूपमा लिजमा व्यवसायीहरूलाई जग्गा भाडामा उपलब्ध गराउन पहल गर्नुपर्ने देखिन्छ । उच्चतम मूल्य प्राप्त हुने तर चाँडै सडीगली जान सक्ने कृषिका वस्तु पनि बाह्य देशमा निकासी हुन थालेको वा जान सक्ने सन्दर्भमा यस्ता वस्तुका निकासीकर्तालाई थप प्रोत्साहन प्रदान गर्न र सामान बिग्रने वा बिक्री नहुने जोखिम कम गर्न सुरक्षाका लागि विमानस्थलमा अत्याधुनिक शीत गोदाम र रेफ्रिजेरेसन प्लान्ट राख्न भन्सार क्षेत्रमा निजी क्षेत्रको सहयोगमा सञ्चालन गरी निजी क्षेत्रको उपयोगका लागि सुविधा दिइनुपर्ने देखिन्छ ।

तोकिएका कृषि तथा वनजन्य वस्तुको बाली कटान गरी प्रशोधन, सुरक्षा, प्याकिङ, ढुवानी आदि कार्यमा सूचना, जानकारी, तालिम तथा अन्य सहयोगका साथै विभिन्न देशमा आयोजना हुने अन्तर्राष्ट्रिय कृषि मेलामा भाग लिन सहयोग एवम् पहल गरी निकासी बढाउन सघाउ पुर्‍याउन सकिन्छ । नेपाल कृषिप्रधान देश भएर पनि नेपालबाट बाह्य मेलामा गैर–कृषि वस्तुमा बढी ध्यान दिएको देखिन्छ । देशको आवश्यकता परिपूर्ति गर्नका लागि विदेशी मुद्रा बढी आम्दानी गर्ने लक्ष्य राखेर वस्तुगत तथा सेवागत निकासीको स्तरीय रूपमा विविधीकरण गराई निकासी बढाउन समुचित प्रयत्नको सुरुवात भइसकेको छ । परम्परागत एवं नव–परम्परागत निकासी वस्तुको स्तरीय रूपमा उत्पादन बढाएर निकासीयोग्य वस्तुको निकासी बढाइने भनिएको छ । बढी फाइदा हुने प्रशोधित तथा तयारी वस्तुका निकासी बढाउन बढी जोड दिइएको छ ।

लाभदायक रोजगारी बढाउने गरी उपयुक्त निकासीयोग्य प्रशोधित एवं औद्योगिक वस्तु तथा नयाँ वस्तुका पहिचान गरी उत्पादन बढाएर विदेशी मुद्राको आर्जनमा केन्द्रित गरिएको छ । सेवामूलक व्यापार तथा व्यवसायलाई समुचित रूपले विकास गराई विदेशी मुद्राको आर्जनमा बढी जोड दिइएको छ । जनशक्तिको समुचित उपयोग गराउनका लागि वाञ्छनीय तथा सम्भव जनशक्तिसहित सीपको विकास गराई सेवामूलक कार्य बढाउनुका साथै त्यस्ता सीपको निकासी वृद्धिमा समाहित गरिने देखिएको छ ।

निकासीयोग्य वस्तु तथा सेवाको समुचित विकास गर्न तथा गराउन आधुनिक उपयुक्त प्रविधि प्रवाह गराउनुका साथै संस्थागत तथा भौतिक आधारशिलाहरूको विकास गराउने वातावरण नेपाल व्यापार एकीकृत रणनीति, २०२३ मा देख्न पाइन्छ । व्यापार नीति तथा रणनीतिहरूमा उल्लिखित कार्यलाई छिटो, छरितो र पारदर्शी रूपले सञ्चालन गराउन उदार सरोकार नीति निर्माण गरी प्रशासनिक प्रक्रियाहरूमा आमूल परिवर्तन गरी अझ उदारता, सरलता र गतिशीलता अपरिहार्य देखिन्छ । निकासीसँग सम्बन्धित परियोजना सञ्चालनका लागि आर्थिक तथा थप सुविधा दिनुपर्ने देखिन्छ । नेपालले बाह्य कृषि मेलामा भाग लिएको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्