संसदीय दलमा उम्मेदवारी दिने देउवाको घोषणा «

संसदीय दलमा उम्मेदवारी दिने देउवाको घोषणा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी रहने बताएका छन् । महामन्त्री शशांक कोइरालाले टोखास्थित निवासमा सांसद र पार्टी नेताहरूका लागि आयोजना गरेको ‘लञ्च मिटिङ’मा पुगेका सभापति देउवाले सञ्चारकर्मीहरूको जिज्ञासामा आफू उम्मेदवार हुने बताएका हुन् ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पार्टीका सबै शीर्ष नेताहरू पुगेका थिए । तपार्इं संसदीय दलको नेतामा उम्मेदवारी घोषणा गर्ने कि नगर्ने भन्ने प्रश्नमा देउवाले भने, “ल घोषणा भयो भयो ।” कार्यक्रममा पौडेल समूहबाट संसदीय दलको नेतामा दावी गरिरहेका नेता प्रकाशमान सिंह पनि सहभागी थिए ।
संसदीय दलको नेता पार्टी सभापति देउवा र सिंहबीच प्रतिस्पर्धा हुने अवस्था देखिएको छ । देउवालाई जसरी भए पनि संसदीय दलको नेता हुन नदिने अभियानमा रहेका कतिपय नेताहरू महामन्त्री कोइरालाका नाममा सर्वसम्मत गर्न सकिने विकल्पको पक्षमा देखिएका छन् । तर, कोइराला आफैले भने संसदीय दलको नेतामा दाबी प्रस्तुत गरेका छैनन् । सहमतिमै दलको नेता छान्नुपर्ने पक्षमा कोइराला छन् । केही दिन अघि वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि चियापान आयोजना गरेका थिए ।
संसदीय दलको निर्वाचनकोमिति घोषणा भइसकेका बेला बुधबार आयोजित विहानी भोजलाई महत्वका साथ हेरिएको छ । निर्वाचनका लागि फागुन १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने, २० गते उम्मेदवारी दर्ता गर्ने र फागुन २१ गर्ने निर्वाचन गर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा होमिए देउवाको जीत सुनिश्चित मानिएको छ । देउवाले विजयी हासिल गर्ने सुनिश्चितजस्तै भएपछि उनलाई रोक्न प्रयाश भइरहेको भन्दै उनीपक्षीय नेताहरूले भने आलोचना गर्दै आएका छन् । कांग्रेस नेताहरू विमलेन्द्र निधि, वालकृष्ण खाँड, प्रकाशशरण महत, मीन विश्वकर्मालगायतले देउवा संसदीय दलको नेता हुनेमा कुनै शंका नरहेको भन्दै कुनै विकल्पमा छलफल गर्न अस्वीकार गर्दै आएका छन् । कांग्रेसभित्र तेस्रो धार भन्दै आएको कृष्ण सिटौला पक्षका सीमित सांसदहरूले भने सिंहलाई साथ दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्