Logo

पाँच अंकले बढेको शेयर बजारमा कारोबार रकम घट्यो

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको दिन कारोबार रकम भने घटेको छ । मंगलबार नेप्से परिसूचक पाँच दशमलव ०८ अंकले बढेर दुई हजार छ सय १३ दशमलव ०८ को बिन्दुमा कायम भएको हाे ।

मंगलबार तीन सय ११ कम्पनीको एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार आठ सय ४० पटक खरिदबिक्री हुँदा छ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा बैंकिङ समूह शून्य दशमलव ३५, वित्त एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव ४८ र व्यापार समूह दुई दशमलव १० प्रतिशतले घटेको छ ।

अरू सबै समूहको उपसूचक बढेको छ । विकास बैंक शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव ७८, लगानी शून्य दशमलव ७४, जीवन बीमा एक दशमलव १० र उत्पादन तथा प्रशोधन शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । त्यसैगरी लघुवित्त शून्य दशमलव ०३, निर्जीवन बीमा एक दशमलव ७८ र अन्य समूह दुई दशमलव ७९ प्रतिशतले बढेको छ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ९६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको २३ करोड ७६ लाख ३५ हजार बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको चार लाख ७५ हजार नौ सय कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्