व्यवसायीबाट प्रविधि सुरक्षा माग

बारा– मुख्य बजारका व्यवसायी तथा उपभोक्ताहरूले स्थानीय सरकारसँग प्रविधि सुरक्षा माग गरेका छन् । बजार क्षेत्रलाई निगरानी गर्ने हाई टेक सीसी क्यामेरादेखि उपभोक्ताको लागि जानकारी गर्ने डिजिटल बोर्डसम्मका सुरक्षा मैत्री प्रविधि उपलब्ध गराउन उनीहरूले स्थानीय सरकारसँग माग गरेका हुन् ।
स्थानीय सरकारले करलाई प्राथमिकता दिने गरे पनि करको स्रोतको रूपमा रहेको बजार– व्यवसाय, सुरक्षित गर्न प्रविधिको प्रयोग बढाउन व्यवसायी तथा उपभोक्ताहरूले माग गरेका छन् । जिल्लामा रहेका १६ स्थानीय तह कसैले पनि आफ्नो सहर, बजार क्षेत्रमा सामान्य प्रकृतिका सीसी क्यामेरा तथा उपभोक्तामुखी सामान्य बोर्डसमेत जडान गरेको जानकारी हालसम्म नआएको जिल्ला प्रशासन कार्यालय कलैयाले जनाएको छ ।
‘सीसी क्यामेरालगायतका डिजिटल प्रविधिको प्रयोगले व्यापारी मात्र नभई उपभोक्तासमेत सुरक्षित र सचेत बनाउन मद्दत पुग्छ भनेर स्थानीय सरकारहरूलाई पटकपटक आग्रह गर्दासमेत जिल्लाको कुनै पनि बजारमा एउटा पनि सीसी क्यामेरा प्रयोगमा ल्याइएको छैन’ जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले भने । उनले उच्च प्रविधिको हाई टेक सीसी क्यामेरा, मनिटर, बोर्डले सहर बजारलाई सुरक्षित र व्यवस्थित बनाउन मद्दत पुग्ने भए पनि सरकार प्रमुखहरूले चासो नदिएको बताए ।
देशको प्रमुख औद्योगिक करिडोर भित्रको प्रमुख बजार सिमरा, पथलैया, जितपुर र परबानीपुरमा सामान्य प्रकृतिका सीसी क्यामेरा, सुरक्षा जानकारीका बोर्ड, आकस्मिक सेवा केही पनि सञ्चालन हुन सकेको छैन । जिल्ला सदरमुकाम भएकोले बढी भिडभाड हुने कलैया, जितपुर, कृषि उत्पादनको बजार मानिने कोल्हबी, व्यावसायिक जमघट बढी हुने सिमरा तथा राजमार्गको केन्द्र बिन्दु पथलैयामा प्रविधिको सामान्य प्रयोगसमेत हुन सकेको छैन ।
स्थानीय सरकारको आन्तरिक आयको ठूलो श्रोत मानिने बजारबाट व्यवसाय दर्ता, सम्पत्तिकर, घर बहाल कर, सटर करलगायतका शीर्षकबाट लाखौँ राजस्व उठ्ने गरेको छ । प्रविधिको प्रयोग नहुँदा बजारमा उपभोक्ता, व्यापारी तथा सर्वसाधारण चोरीलगायतका घटनाको चपेटामा परेका छन् । प्रविधिको प्रयोग नहुँदा बजारमा प्रहरीले अनुसन्धान गर्न समय लाग्ने र लाखौँको क्षतिपूर्ति, दोषीमाथि कारबाही पनि वर्षौसम्म हुन सकेको छैन ।
सिमराका व्यवसायी जीवन श्रेष्ठले स्थानीय सरकारलाई व्यवसाय गरेबापत कर दिने गरे पनि करदातालाई प्रविधिको सुरक्षादेखि उपभोक्ताको हितका लागी मूल्य सूचीको डिजिटल बोर्ड बजारमा प्रयोग गर्नुपर्ने आवश्यकता भइसकेको बताए । प्रविधिको प्रयोग हुँदा बजार क्षेत्रमा हुने सबै खालका घटनाको छिटो अनुसन्धान गर्न सुरक्षा निकाय सफल बन्ने तथा आम उपभोक्ता तथा व्यावसायिक स्थल सुरक्षित बन्ने बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए ।
उनले अहिले व्यक्तिले भन्दा प्रविधिले सुरक्षा गर्नुपर्ने अवस्था रहेकोले जिल्लाको प्रमुख सहर, बजारमा सीसी क्यामेराको आउटडोर मनिटर सुरक्षा निकायमा रहने गरी सञ्चालन आवश्यक रहेको बताए । स्थानीय तहले सीसी क्यामेरा, जानकारीमूलक, मूल्य सुचीका डिजिटल बोर्ड जडान गरेर उपभोक्ताहरूलाई सहज बनाउनेदेखि बजारमा वस्तुको परिमाण बुझने, गुणस्तर हेर्ने, बिक्री स्थल तोक्ने, मूल्य, तथा एकाधिकार नियन्त्रणमा हस्तक्षेपकारी भूमिका गर्न स्थानीय सरकार जिल्लाभर उदासीन बनेको उपभोक्ता नारायण पौडेलले बताए ।
औद्योगिक करिडोरको ठूलो हिस्सा ओगटेको जितपुर सिमरा उपमहानगरका प्रमुख राजन पौडेलले सीसी क्यामेरा अहिलेको आवश्यकता रहे पनि आफ्नो पालिकाले हालसम्म नगरका सहर बजारको कुनै पनि स्थानमा क्यामेरालगायतका प्रविधि सञ्चालन नभए पनि काम सुरु गर्ने तयारीमा रहेको बताए । सहर, बजार क्षेत्रमा पछिल्लो समय अपराध, चोरी, तस्करी, लुटपाटका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।