Logo

म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी

पर्वत– उज्यालो गण्डकी प्रदेशअन्तर्गत म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न विद्युत नपुगेका घरमा धमाधम सोलार जडान सुरू गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले लघु जलविद्युत तथा केन्द्रीय प्रसारण लाइन नपुगेका घरमा सोलार तथा मर्मत आवश्यकता भएकालाई ब्याट्री र मर्मतसमेत गरेको छ ।

बस्तीभन्दा टाढा जहाँ तत्काल केन्द्रीय प्रसारण लाइन पुग्न असम्भव घरमा सोलारमार्फत् उज्यालो बनाउने नीतिअनुसार धवलागिरि गाउँपालिकाको वडा नं ४ र ६ मा १२० घरधुरीमा सोलार जडान गरिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले बताए । ‘टुकी बाल्नपर्ने घरधुरी कतै छुटेको भए सम्पर्क गर्न सकिन्छ, हामीले तत्कालै सोलार जडान गर्छौं,’ ओझाले भने ।

केन्द्रीय लाइन र लघुजलविद्युत परियोजना नभएका कुनै घर भएमा सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने र उपभोक्ताले २५ प्रतिशत खर्च गर्नुपर्छ । उपभोक्ताले गर्ने खर्चलाई स्थानीय तहमार्फत् ब्यवस्थापनका विषयमा समेत छलफल भइरहेको छ । सूर्य रोसनी इन्डस्ट्रियल प्रालिद्वारा बिग्रिएको घरधुरीमा मर्मत तथा नयाँमा जडान गरिरहेको छ । एक घरमा सोलार जडान गर्न करिब १६ हजार खर्च हुन्छ । म्याग्दीमा करिब ९५ प्रतिशत घरधुरीमा उज्यालो पुगेको छ ।

जिल्लाको अतिविकट धवलागिरि गाउँपालिका–१ गुर्जाका करिब २५० घरधुरीबाहेक ४४ वडामा केन्द्रीय प्रसारणलाइन पुगेको भए पनि वडाभित्रका पातलो बस्तीसम्म नपुग्ने अवस्थामा सोलार अभियान प्रभावकारी हुने धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । ‘हामीले टुकी बाल्नुपर्ने अवस्थाको अन्त्य गदैं भविष्यमा सबै घरधुरीमा केन्द्रीय प्रसारण लाइन नै पुर्‍याउँछाैं,’ अध्यक्ष पुनले भने ।

उनले गण्डकी प्रदेशको अभियानलाई सघाउन आवश्यकता अनुसार सहयोग गर्ने बताए । राष्ट्रिय जनगणना–२०७८ को नतिजाअनुसार म्याग्दीमा २८ हजार ८३० घरधुरी रहेकोमा नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रअन्तर्गत २३ हजार विद्युतका ग्राहक छन् । विद्युत प्राधिकरणबाट जिल्लाको मालिका, धवलागिरि, रघुगंगा गाउँपालिकाभित्रका बस्तीमा चालु आवमा नै बिजुली बाल्ने गरी धमाधम काम गरिरहेको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए ।

‘उज्यालो म्याग्दी घोषणाका लागि तयारी अवस्था छ, हामीले सबैतिर काम अन्तिम चरणमा पुर्‍याएका छौं,’ गामीले भने । म्याग्दीका स्थानीय तहले समेत विद्युत नपुगेका बस्तीमा विद्युत जडानका लागि आवश्यक समन्वय गरिरहेका छन् । २०७९ मा नेपाल विद्युत प्राधिकरणमार्फत् २० करोड बजेट विनियोजन भएपछि दुई हजार घरधुरीमा केन्द्रीय लाइन विस्तारको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्