Logo

माथिल्लो तामाकोसी जलविद्युत पिकिङ सुरु

दोलखा– देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत केन्द्र चार महिनापछि पिकिङको रूपमा सञ्चालनमा आएको छ । अर्धजलाशययुक्त विद्युत केन्द्र दिन र रातमा जलाशयमा पानी जम्मा गरेर अत्यधिक विद्युतको माग हुने विद्युत प्राधिकरणको आवश्यकता अनुसार साँझ र बिहान सञ्चालन सुरु भएको हो । बाढी पहिरोले क्षतिग्रस्त संरचनाको मर्मत गरेर एक महिनाअघि नदीप्रवाहमा आधारित सञ्चालनमा आएको थियो ।

यो जलविद्युत केन्द्रको जलाशयमा पानी जम्मा गरेर दैनिक चार घण्टा पूणक्षमता (४५६ मेगावाट)मा विद्युत उत्पादन गर्न सकिन्छ । दोलखाको विगू गाउँपालिका–१ मा रहेको जलविद्युत केन्द्रको सोमबार बिहानदेखि पिकिङमा सञ्चालनमा आएको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए । गत पुस ९ गतेदेखि पोखरीको काम गर्दै विद्युत उत्पादन सुरु गरेकोमा अहिले शनिबार र आइतबार उत्पादन बन्द गरेर त्यसको सफाइ गरेको थियो ।

सबै स्क्याफोल्डिङ खोलेपछि केही ठाउँमा ग्राउडिङ गरिएको छ । कामका सिलसिलामा बनाएका फर्मा, स्काफोल्डिङ हटाएर नदी फर्काएर पोखरी सफा गरिएको छ । अत्यावश्यक समयमा यो जलविद्युत केन्द्र पूर्ण क्षमतामा सञ्चालन गर्न नेपाल विद्युत प्राधिकरणलाई विद्युतको माग व्यवस्थापन गर्न सहज हुन्छ । साँझको विद्युतको माग पूरा गर्न भारतबाट आयात गर्दा महँगो पर्छ । अविरल वर्षापछि तामाकोसी नदीमा आएको बाढीका कारण गत असोज ११ गते साँझदेखि माथिल्लो तामाकोसीको बाधको सबै ढोका खोलेर उत्पादन बन्द गरेको थियो ।

विद्युतगृह बन्द गर्दा विद्युतगृह र सुरुङ सुरक्षित रहे तापनि असोज १२ गते माथिबाट ठूलो पहिरो र लेदो आउँदा लामाबगरमा रहेको बालुवा थिग्राउने पोखरी(डिस्याण्डर) र भूमिगत नहरमा ठूलो क्षति भएको थियो । बढी क्षति भएको दायाँ तर्फको पोखरी पुनर्निर्माणका लागि भने सार्वजनिक खरिद ऐनअन्तर्गत ठेक्का आह्वान भएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिए । त्यसको ठेकेदार छनोट गरी वर्षातअघि नै काम पूरा गर्ने कम्पनीको लक्ष्य छ । सुरक्षा कक्ष भवनका लागि अर्धभूमिगत रूपमा बनाउने गरी डिजाइनको काम जारी रहेको छ ।

पोखरीभन्दा माथि पहिरो आएको ठाउँको ठूला ढुंगा पनि यही हिउँदमा व्यवस्थापन गर्नुपर्नेछ । पहिरोले हेडवक्र्स क्षेत्रको सुरक्षा नियन्त्रण गृहसमेत पूर्णरूपमा क्षति हुँदा सुरक्षार्थ खटिएका नेपाली सेनाका दुईजना र माथिल्लो तामाकोसीकै दुईजना कर्मचारीसहित चार जनाको ज्यान गएको थियो । माथिल्लो तामाकोसीको दुईवटा पोखरीमध्ये दायाँतर्फको ४० प्रतिशत क्षति भएको छ भने बायाँतर्फको २० प्रतिशत क्षति भएको थियो । हेडवक्र्स क्षेत्रमा बाढी र पहिरोले क्षति भएको एक अर्ब ८० करोड रुपैयाँको बीमा दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्