अन्तिम उपभोग्य वस्तु निर्यातमा जोड दिऔं

हाम्रो कुल निकासीमा अप्रशोधित कच्चा पदार्थ र अर्धप्रशोधित वस्तुको हिस्सा धेरै हुँदै आएकोमा अहिले प्रशोधित वस्तुको हिस्सा धेरै हुन थालेको छ । कुल वस्तु निर्यात व्यापारमा ५५ प्रतिशत हिस्सा प्रशोधित अर्थात् अन्तिम उपभोग्य वस्तुले लिएका छन् । चालु आवको पाँच महिनासम्म कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको अनुपात एकै वर्ष ११ प्रतिशतले बढेको छ । यो पाँच महिनामा कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमश: ४४.१ र ५५.० प्रतिशत छ भने पुँजीगत वस्तुको अनुपात ०.९ प्रतिशत छ ।
अघिल्लो वर्ष यो बेलाको कुल निर्यातमा मध्यवर्ती वस्तुको अनुपात ५५.५ प्रतिशत थियो भने अन्तिम उपभोग्य वस्तुको हिस्सा ४४.३ प्रतिशत थियो । यस्तै, पुँजीगत वस्तुको अनुपात ०.२६ प्रतिशत मात्र थियो । कुनै पनि वस्तुको उत्पादनदेखि उपभोगसम्मको चरणमा धेरै पटक मूल्य अभिवृद्धि भएको हुन्छ । त्यही कारण उत्पादन मूल्यभन्दा उपभोग मूल्य धेरै हुन्छ । एक अध्ययनले चियाको हरियो पत्तीको मूल्यभन्दा त्यसको अन्तिम (तयारी चिया) उपभोग्य मूल्य करिब ७ प्रतिशतले धेरै हुने देखाएको छ ।
यस्तै अर्धप्रशोधित वस्तुको करिब ३० प्रतिशत र अन्तिम तयारी हुँदा ६० प्रतिशत मूल्य अभिवृद्धि हुने निष्कर्ष अध्ययनको छ । यो एउटा उदाहरण मात्र हो । एकाध वस्तुलाई अपवाद मानेर छोड्ने हो भने अन्य सबै वस्तुको उपभोग मूल्य स्वभाविकैले बढी हुन्छ । सरकारले वस्तु निर्यातमा मापदण्ड कडा बनाएको धेरै भएको छ । कुनै पनि वस्तु प्रशोधन भएर कारखानाबाट अन्तिम रूपमा निस्कँदा कच्चा पदार्थमा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि भएपछि मात्र निर्यातका लागि योग्य हुने व्यवस्था गरिएको छ ।
यस्तो वस्तुलाई मात्र उत्पत्तिसम्बन्धी प्रमाणपत्र जारी हुने व्यवस्था छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघलाई भारततर्फ निकासीका लागि यो प्रमाणपत्र जारी गर्ने अनुमति दिइएको छ । तर, नेपालले अहिलेसम्म अधिकांश वस्तु उत्पादन तहकै निर्यात गर्दै आएको छ । त्यसमा पनि अदुवा, कफी, चिया, अलैँचीलगायत कृषिजन्य वस्तुहरू सामान्य प्रशोधनसमेत नगरी निर्यात हुँदै आएका छन् । निर्यातित वस्तुलाई अन्तिम उपभोग्य बनाउन सके निर्यात व्यापारबाट बढी फाइदा हुन्छ ।
कच्चा वा अर्धप्रशोधितभन्दा पूर्ण प्रशोधित वस्तुको मूल्य विदेशी बजारमा बढी पर्छ । अर्को, उत्पादित वस्तुलाई अन्तिम उपभोगका रूपमा तयार गर्दा स्वदेशमै पनि विभिन्न फाइदा पुग्छ । निर्यात गर्ने वस्तुलाई उपभोगका लागि तयार बनाउँदा थप काम गर्नुपर्ने भएकाले धेरै जनाले रोजगारी पाउने अवसर जुट्छ । त्यस्तै स्वदेशमा ऊर्जा खपत बढ्छ, आन्तरिक स्रोतहरूको उपयोग हुन्छ । सरकारले पनि थप राजस्व उठाउने मौका पाउँछ ।
यस्तै अन्तिम वस्तु उत्पादनमा अपनाइने विभिन्न चरण डिजाइन, निर्माण, प्याकेजिङ र मार्केटिङमा थप रोजगारीसँगै औद्योगिक विकासलाई प्रवर्द्धन गर्ने काम हुन्छ । देशको व्यापार घाटा कम गर्न र अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुग्छ । अर्कातिर अन्तिम तयारी वस्तु थोरै परिमाणमा निर्यात गर्न सके पनि धेरै आम्दानी गर्न सकिन्छ । अहिले धेरै परिमाणमा वस्तु निर्यात गरिए पनि त्यसबाट आउने रकम थोरै छ । अहिलेसम्म हाम्रो निर्यात व्यापार २ खर्ब ३ अर्बभन्दा माथि पुग्न सकेको छैन ।
अहिले निर्यात भएको परिमाणमा जस्तै अन्तिम तयारी वस्तु निर्यात गर्न सके मूल्य दोब्बर बढी हुनेमा कुनै शंका छैन । अहिले मुलुकको अर्थतन्त्र रेमिटेन्स आयबाट चलिरहेको छ । मुलुकलाई आवश्यक पर्ने विदेशी मुद्रामध्येको सबैभन्दा ठूलो स्रोत रेमिटेन्स हो । तर, रेमिटेन्स सधैँ भरपर्दो हुँदैन । नेपाली युवा पुग्ने मुलुकहरूमा केही समस्या आएर विदेशी कामदार नलिने अवस्था आए रेमिटेन्स आय रोकिनेछ । त्यसैले रेमिटेन्स देश चलाउने स्रोत बन्नु हुँदैन ।
देशका लागि आवश्यक विदेशी मुद्राको स्रोतको भरपर्दो व्यवस्था रेमिटेन्सभन्दा निर्यात व्यापारबाट हुन्छ । अहिले जति मुलुक समृद्ध बनेका छन्, ती मुलुकको अर्थतन्त्र रेमिटेन्सबाट बनेको होइन । जसले अर्को मुलुकलाई वस्तु वा सेवा बेच्न सकेको छ, त्यही मुलुक धनी र समृद्ध बनेको छ । यसको बलियो उदाहरण हाम्रै छिमेकी मुलुक चीन हो । त्यसैले सरकारमा बस्नेहरूले पूर्ण तयारी वस्तु निर्यातमा ध्यान दिनु आवश्यक छ ।