६ महिनामा झण्डै खर्बको निर्यात

काठमाडौं– मुलुकको आन्तरिक अर्थतन्त्रमा सुधार नदेखिए पनि निर्यात व्यापारमा भने सुखद् संकेत देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्यात व्यापार एक खर्ब हाराहारीमा पुगेको छ । भन्सार विभागका अनुसार पुस मसान्तसम्म ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँको वस्तु नेपालबाट निर्यात भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३१.७८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष पुससम्म नेपालले ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँको वस्तु निकासी गरेको थियो ।
तीन वर्षअघि नै वार्षिक दुई खर्ब निकासी पूरा गरेको नेपालले अघिल्ला दुई आर्थिक वर्षमा भने निराशाजनक व्यापार गरेको थियो । आव २०७९–८० मा १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँबराबरको वस्तु निर्यात गरेको नेपालले गत आवमा १ खर्ब ५२ अर्ब ३८ करोडको मात्र निर्यात गर्न सकेको थियो ।
चालु आवको पहिलो ६ महिनाको निर्यात व्यापारको प्रवृत्ति हेर्दा दुई खर्बभन्दा बढी नै निकासी हुने सम्भावना देखिन्छ । आवको सुरुका दुई महिना ओरालो लागेको निकासी व्यापार असोजपछि लयमा फर्किएको हो । निर्यात व्यापारमा आएको वृद्धिले उत्साह थपिएको नेपाल उद्योग वाणिज्य महासंघ निर्यात प्रवद्र्धन समितिका कार्यवाहक सभापति पशुपतिदेव पाण्डे बताउँछन् । उनका अनुसार सरकार पनि आर्थिक समृद्धिको एजेन्डामा फोकस भएको छ र अध्यादेशबाट भए पनि व्यावसायिक वातावरण बनाउन खोजेको देखिन्छ । ‘व्यावसायिक वातावरण सुधार गरेर जान सकिए गलैंचा, पश्मिना, तयारी पोशाक आदिको निर्यात अझ बढ्ने सम्भावना छ । भ्यालु एड गरेर निर्यात हुन सक्ने सामग्री पनि पर्याप्त भएकोले आउँदा दिनमा कच्चा सामानभन्दा यसमै जोड दिए बढी लाभ लिन सकिन्छ,’ उनले भने ।
पुससम्म १८ अर्ब ९१ करोडको सोयाबिन आयल तथा ४ अर्ब ९८ करोडको सनफ्लावर आयल निर्यात हुँदा समग्र निकासी ह्वात्तै बढेको हो । यही अवधिमा पाम आयल निकासी भने १ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ । नेपालमा तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी भटमास, सनफ्लावर र पाम तेल प्रशोधनपछि भारत निकासी हुँदै आएको छ ।
भारतको खुकुलो कर नीतिका कारण पछिल्ला चार महिनामा भटमास तेलको निर्यातमा उल्लेख्य सुधार आउँदा समग्र निर्यात व्यापारमा सुधार देखिएको हो । व्यापार विज्ञ पुरुषोत्तम ओझाले भारतले लिएको कर नीतिको प्रभाव हाम्रो निकासी व्यापारमा देखिएको बताए । उनका अनुसार भारतले लिने आयात, निर्यात, उत्पादनलगायत सबै नीतिगत व्यवस्थासँग हाम्रो व्यापार सिधा प्रभावित हुन्छ ।
यो वर्ष धागो निर्यातमा पनि सुधार देखिएको छ । ६ महिनामा ११ अर्बबराबरको धागो निर्यात भएको छ । स्टिल तथा फलामजन्य वस्तुको निकासी भने ८ अर्बमा सीमित रहेको छ । यस्तै, ६ अर्ब २५ करोड रुपैयाँको ऊनी गलैंचा तथा ४ अर्ब ५६ करोडबराबरको अलैंची निर्यात भएको छ । यस्तै, ३ अर्ब ३५ करोडको चिया तथा ४ अर्ब ४० करोडको तयारी पोशाक निर्यात भएको छ ।
आवको पहिलो ६ महिनामा आयात पनि सुध्रिएको छ । यो अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात भएको छ । आयात व्यापार गत आवको पुससम्मको तुलनामा ७.०६ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष ७ खर्ब ६८ अर्बको वस्तु आयात भएको थियो । आयाततर्फ पेट्रोलियम पदार्थ अग्रस्थानमा छ । यो अवधिमा १ खर्ब २६ अर्ब ३३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल सबैभन्दा बढी ५४ अर्ब ३६ करोडको आयात भएको छ । यस्तै, ३२ अर्ब १४ करोडको पेट्रोल, २९ अर्ब ७९ करोडको एलपी ग्यास र ९ अर्ब ४२ करोडको हवाई इन्धन आयात भएको तथ्यांक छ । यस्तै, ६ महिनामा १३ अर्ब १० करोड रुपैयाँका ५ हजार ४८० थान विद्युतीय सवारीसाधन भित्रिएका छन् ।
व्यापार घाटा ७ खर्ब २३ अर्ब
चालु आवको पुस मसान्तसम्म मुलुकले वैदेशिक व्यापारमा ७ खर्ब २३ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ६ खर्ब ९३ अर्ब घाटा व्यहोरेकोमा चालु आवमा ४.३८ प्रतिशतले वृद्धि भएको छ । निर्यात व्यापारमा सुधारसँगै कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.८९ प्रतिशतबाट बढेर १०.७२ प्रतिशत पुगेको छ ।
यो अवधिमा भारतबाट ५ खर्ब २ अर्ब ८५ करोडको आयात हुँदा निर्यात ७३ अर्ब ७१ करोडको भएको छ । भारतसँगको व्यापारमा नेपालले ४ खर्ब २९ अर्ब १४ करोड रुपैयाँ घाटा व्यहोरेको छ । दोस्रो ठूलो व्यापारिक साझेदार चीनसँगको व्यापार घाटा १ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । चीनबाट ६ महिनामा १ खर्ब ६० अर्बको सामान ल्याएको नेपालले १ अर्ब ९२ करोडको मात्र निर्यात गर्न सकेको छ ।
अमेरिकासँगको व्यापार घाटा ३ अर्ब ५९ करोड पुगेको छ । नेपालबाट ८ अर्ब ६३ करोड रुपैयाँको निकासी हुँदा अमेरिकाबाट आयात भने १२ अर्ब २३ करोड पुगेको छ ।