वाणिज्य बैंकहरूको नाफामा ४.४६ प्रतिशतको गिरावट

काठमाडौं– अर्थतन्त्रमा आएको सुस्तताका कारण वाणिज्य बैंकहरूले नाफामा ४.४६ प्रतिशतले गिरावट आएको छ । सोमबार सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
आवको दोस्रो त्रैमासमा २० वाणिज्य बैंकले २७ अर्ब ४३ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । अपरिष्कृत वित्तीय विवरणअनुसार एक वर्षमा वाणिज्य बैंकहरुको खुद नाफा ४.३६ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा वाणिज्य बैंकले २८ अर्ब ६८ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए ।
बैंकहरूको निष्क्रिय कर्जा बढ्दै गएका कारण त्यसबापत रकम प्रोभिजन गर्नुपर्दा नाफामा दबाब परेको हो । अर्थतन्त्रको सुस्तता, ऋणीको कर्जा तिर्न सक्ने क्षमतामा ह्रासलगायतका कारण बैंकिङ क्षेत्रमा असर परेको हो । सरकारले निर्माण व्यवसायीको भुक्तानी समयमा नदिँदा यो क्षेत्रबाट कर्जा असुली गर्न समस्या भइरहेको बैंकरहरु बताउँछन् । साना तथा मझौला व्यवसायबाट पनि कर्जा असुली हुन सकेको छैन । आर्थिक सुस्तताको असर बैंकहरुको वित्तीय विवरणले स्पष्ट पारेको जानकारहरू बताउँछन् । सरकारले सार्वजनिक गर्ने विभिन्न सूचकहरू सकारात्मक देखिए पनि त्यसको प्रभाव नागरिकमा पर्न नसक्दा बैंकिङ क्षेत्रको वित्तीय विवरण दबाबमा परेको उनीहरूको बुझाइ छ ।
दोस्रो त्रैमासमा ९ वाणिज्य बैंकको खुद नाफा चारदेखि ९२.०३ प्रतिशतसम्मले घटेको छ । यस्तै, ११ बैंकले ०.२४ प्रतिशतदेखि ८५.४९ प्रतिशतसम्म नाफा बढाएका छन् । चालु वर्षको दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा नबिल बैंकले ३ अर्ब २४ करोड रुपैयाँ कमाएको छ, जुन गत आवको सोही अवधिको तुलनामा १.२९ प्रतिशतले बढी हो । सबैभन्दा कम नाफा एनआईसी एशिया बैंकले १५ करोड रुपैयाँ कमाएको छ । यो अवधिमा ११ वटा बैंकको खुद नाफा १ अर्बमाथि छ भने ९ वटाको १ अर्बभन्दा कम छ ।
चालु आवको दोस्रो त्रैमासमा नबिल, ग्लोबल आइएमई, इन्भेष्टमेण्ट मेगा, एभरेष्ट, एनएमबि, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, प्रभु, सानिमा र लक्ष्मी सनराइज बैंकले अर्बभन्दा बढी नाफा कमाएका छन् । यीमध्ये प्रभुबाहेक सबै बैंकले गत वर्ष पनि अर्बभन्दा बढी नाफा कमाएका थिए । प्रभु बैंकले एक वर्षमा ८५.४९ प्रतिशतले नाफा बढाउन सफल भएको छ । गत वर्षको दोस्रो त्रैमासमा अर्बभन्दा बढी नाफा कमाएका राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र एनआईसी एशिया बैंकको भने चालु वर्षमा नाफा घटेर अर्बभन्दा कम भएको छ ।
चालु आवको पुस मसान्तसम्ममा नबिल बैंकको नाफा ३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा नबिलको नाफा ३ अर्ब २० करोड थियो । सर्वाधिक नाफा कमाउने दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक छ । यो बैंकको नाफा ४९.५१ प्रतिशतले बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत आवमा २ अर्ब ४ करोड नाफा थियो ।
यो अवधिमा सर्वाधिक नाफा बढाउनेमा भने प्रभु र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देखिएका छन् । प्रभुको नाफा ८५.४९ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने इन्भेष्टमेण्ट मेगाको ५७.१८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।
एभरेष्ट बैंकको नाफा २१.११ प्रतिशतले बढेर २ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । एनएमबि बैंकको नाफा ४५.६१ प्रतिशतले बढेर २ अर्ब ३५ लाख पुगेको छ । प्राइम कमर्सियल बैंकको नाफा १४.३४ प्रतिशतले घटेर १ अर्ब ८६ करोडमा झरेको छ भने स्ट्याडण्र्ड चार्टर्ड बैंकको ४.९७ प्रतिशतले घटेर १ अर्ब ६४ करोड रुपैयाँ भएको छ ।
हिमालयन बैंकको नाफा ०.९८ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुग्दा सानिमाको ४.७२ प्रतिशतले बढेर १ अर्ब १९ करोड र लक्ष्मी सनराइज बैंकको ९.७१ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अन्य ९ बैंकको नाफा १ अर्बभन्दा कम रहेको छ ।
दोस्रो त्रैमासको तथ्यांकअनुसार एनआईसी एशिया बैंकको नाफामा सबैभन्दा धेरै ९१.५० प्रतिशतले गिरावट भएको छ । प्राथमिक पुँजीकोषको दबाबमा रहेको यो बैंकको व्यवसाय घट्दै गएको छ । दोस्रो त्रैमासमा बैंकले १५ करोड ५२ लाख नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो बैंकले १ अर्ब ८२ करोड नाफा आर्जन गरेको थियो । निष्कृय कर्जा बढेसँगै कर्जा नोक्सानी व्यवस्था पनि उच्च दरमा बढेको छ । सोही कारण बैंकको नाफा उच्च दरमा घटेको हो ।
यसैगरी कुमारी बैंकको नाफा ६८.२१ प्रतिशतले गिरावट भएर २७ करोड ५७ लाखमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकले ८६ करोड ७२ लाख नाफा कमाएको थियो । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२.१४ प्रतिशतले घटेर ७६ करोड ३० लाखमा झरेको छ । सिद्धार्थ बैंकको नाफा ५३.३६ प्रतिशतले घटेर ५३ करोडमा झरेको छ ।