लुम्बिनीमा जापानी शैलीको नयाँ मन्दिर

रुपन्देही-बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षणका रूपमा नयाँ मन्दिर (बिहार) थपिएको छ ।
शोक्यो धार्मिक संघ जापानले लुम्बिनी विकास कोषद्वारा छुट्याइएको महायाना बिहार क्षेत्रमा यो मन्दिर निर्माण भएको हो । मन्दिरको नाम शोक्यो जापानी बिहार छ । करिब ६२ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर जापानी शैलीमा निर्मित छ ।
मन्दिरभित्र बुद्धको विशाल मूर्तिका साथै विभिन्न कलात्मक कृति छन् । मन्दिरलाई जापानी संस्कृति झल्काउने खालको बनाइएको छ । शिलान्यास भएको लामो समयपछि पूर्णरूपमा निर्माण सम्पन्न भएको मन्दिरका शुभेच्छुक भिक्षु कृष्णमानले बताए । मन्दिरभित्र पूजा तथा प्राथना कक्ष, भिक्षु कक्ष, भिक्षु आवास लगायतका संरचना छन् । मन्दिरका संस्थापक एवं मुख्य निर्माणकर्ता जापानी नागरिक भिक्षु सोजन उमेहारा हुन् । उमेहारा दुई दशकअघि काठमाडौंको सेतो गुम्बामा (बौद्ध फूलबारी) (प्रवर्जित) भिक्षु भएका थिए । जापानी नागरिक उनी अहिले बिरामी रहेकाले जापानमा उपचाररत छन् ।
यसअघि लुम्बिनीमा अर्को जापानी मन्दिर (वल्र्ड पिस प्यागोडा) पहिले नै निर्माण भइसकेको छ । लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि शुक्रबार (आज) बाट खुला गरिनेछ । शुक्रबार एक कार्यक्रमका बीच यो मन्दिर उदघाटन हुँदैछ । शुक्रबार पुस पूर्णिमा हो । लुम्बिनीमा मुख्य धार्मिक काम पूर्णिमाका दिन नै हुने गर्दछ । बुद्धको जीवनमा प्रत्येक महिनाको पूर्णिमाका दिन कुनै न कुनै घटना घटेकाले हरेक पूर्णिमा बुद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण हुने अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्रेयले बताए । यो जापानी मन्दिरको पनि आफ्नै विशेषता रहेको र तिर्थालुहरूलाई आकर्षण गर्ने उनको भनाइ छ ।
नेपाल भ्रमण वर्ष २०२० तथा लुम्बिनी भ्रमण वर्ष २०७६ का क्रममा लुम्बिनी आउने पर्यटकलाई यो बिहारले आकर्षित गर्ने लुम्बिनी विकाश कोषका निमित्त सदस्य सचिव सरोजकुमार भटराईले बताए ।
लुम्बिनी भ्रमणमा आउने स्वदेशी विदेशी पर्यटकका लागि मायादेवी मन्दिर, अशोक स्तम्भ, विश्वशान्ति द्विप, केन्द्रीय नहरका साथै त्यहाँ रहेका विभिन्न बिहार मुख्य आकर्षण हुन् । लुम्बिनी विकाश कोषले महायाना र थेराबादका लागि दुई क्षेत्र विहारका लागि छुट्याएको छ । जसमा महायाना अन्तर्गत चिनियाँ, कोरियन, जर्मन, सिंगापुर, भियतनाम लगायतका विभिन्न विदेशी र स्वदेशी बिहार छन् । त्यसैगरी थेरावादतर्फ थाई, भारतीय, श्रीलंकन, बर्मिज, कम्बोडियन, र स्वदेशी बिहार छन् । केही बिहारहरू निर्माणका क्रममा छन् । पछिल्लो समय बंगलादेश सरकारले पनि लुम्बिनीमा बिहार निर्माणका लागि जग्गा प्राप्ति गरेको छ ।