Logo

भाडा नतिरेपछि मूलखर्क ड्राइभिङ सेन्टरमा ताला

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारी जग्गा भाडामा लिएर लामो समयसम्म भाडा नतिर्ने कम्पनीको कार्यालयमा ताला लगाएको छ ।

रामशाह पथस्थित जग्गा भाडामा लिएको कम्पनीले लामो समयसम्म भाडा नतिरेपछि सोमबार खाद्यको टोलीले ताला लगाएको हो । खाद्यको कार्यालय भवन अगाडिको २१ हजार वर्गफिट जग्गा मूलखर्क भिमसेन ड्राइभिङ सेन्टर प्रालिलाई २०७६ माघ २० मा भाडामा दिइएको थियो । मासिक ६ लाख ९५ हजार रुपैयाँ भाडा बुझाउने सम्झौता भए पनि उक्त कम्पनीले लामो समयदेखि भाडा बुझाएको थिएन । अहिले कम्पनीले खाद्यलाई एक करोड १२ लाख १७ हजार रुपैयाँ भाडा बुझाउन बाँकी छ ।

पटक–पटक ताकेता गर्दा पनि अटेर गरेर बसेका कारण ड्राइभिङ सेन्टरको कार्यालयमा ताला लगाएको खाद्यका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए । उनका अनुसार सोमबार नेपाल प्रहरीका प्रतिनिधि तथा सञ्चारकर्मीको रोहवरमा ताला लगाइएको हो ।

देशभर नै सरकारी जमिनमा व्यवसायीहरुको रजगज हुँदै आएको छ । राजनीतिक पहुँचका भरमा व्यवसायीले सरकारी जमिनको भाडा नतिर्ने गर्दै आएका छन् । योबाहेक अन्य विभिन्न ठाउँको जमिन तथा संरचनाको पनि खाद्यले भाडा पाएको छैन । भाडा तिर्न ताकेता गर्दा समेत खाद्यको निर्देशन अटेर गरिँदै आएको छ ।

कानुनबमोजिम सूचना जारी गरी पटक–पटक पत्राचार गर्दा पनि अटेर गरी भाडा नतिर्ने व्यवसायीहरुको सम्झौता रद्द गर्ने काम भइरहेको कम्पनीका प्रमुख कार्यकारी आचार्यले जानकारी दिए । ड्राइभिङ सेन्टरका सञ्चालकलाई पटक–पटक भाडा तिर्न कम्पनीले पत्राचार गर्दा बेवास्ता गरी उल्टै आफूलाई विभिन्न धम्की आउने गरेको आचार्यले बताए । ‘हामीले उनीहरुलाई धेरै नै समय दिएको हो । अब थप समय दिन सक्दैनौं,’ उनले भने ।

विगतमा कोभिड र बर्खामा डुबान हुँदा व्यवसाय राम्रो नभएकाले समयमा बक्यौता तिर्न नसकेको ड्राइभिङ सेन्टरका अध्यक्ष होमनाथ गौतमको भनाइ छ । उनले बक्यौता तिर्न समय दिए तिर्न तयार भएको बताए । उनले भने, ‘हामीले सरकारको जमिन भाडा लिएको हो । भाडा तिर्ने नै भनेको हो । तर, हाम्रो माग पनि सुन्नुपर्छ ।’ कार्यालयमा तालाबन्दी नगरी बैंक ग्यारेन्टी राखेर सञ्चालन गर्न दिनुपर्ने आफ्नो माग रहेको उनले बताए । उनका अनुसार १७ महिना अझै सम्झौताको समय छ । ‘यो अवधिमा भाडा तिर्दै जान्छौं, ड्राइभिङ सेन्टर पनि सञ्चालन गर्न पाउनुपर्छ,’ उनले भने ।

खाद्यकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार फनल्याण्ड इन्टरटेनमेन्ट प्रालिले पनि खाद्यको ७ रोपनी जमिन प्रयोग गरेबापत ४ करोड ८४ लाख ८१ हजार रुपैयाँ भाडा तिरेको छैन । खाद्य यो कम्पनीविरुद्ध मुद्दामा जाने प्रक्रियामा छ । फनल्याण्ड इन्टरटेनमेन्टसँग कम्पनीले मासिक १० लाख ५१ हजार रुपैयाँ भाडा तिर्ने गरी १० वर्षका लागि २०७४ असार ७ मा सम्झौता गरेको थियो । कम्पनीले पटक–पटक भाडा तिर्न ताकेता गर्दा पनि अटेर गरेपछि कानुनबमोजिम ३५ दिने सूचना जारी गरी उक्त कम्पनीको सम्झौता खारेज गरेको सुवेदीले जानकारी दिइन् । यस्तै, स्काई दरबार ब्यांक्वेटले पनि लामो समयदेखिको ८९ लाख ९२ हजार रुपैयाँ भाडा नबुझाए कारण अदालत जाने तयारीमा खाद्य कम्पनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्