Logo

मेला-महोत्सवः चलायमान ग्रामीण अर्थतन्त्रको अस्त्र

नेपालको कुल गार्हस्थ्य उत्पादनमा ग्रामीण अर्थतन्त्रको हिस्सा निरन्तर संकुचित हुँदै गइरहेको छ । अहिले बजारमा पैसा देखिँदैन । किनभने उद्योगधन्दा सञ्चालनमा छँदै छैनन् भने पनि हुन्छ । उनीहरूलाई सञ्चालन खर्च जोगाउन पनि मुस्किल छ । उत्पादन क्षमता कमजोर भएकाले रोजगारी पनि खस्कँदै गएको छ । रोजगारी नभएपछि मानिसको हातमा पैसा नहुने नै भयो । परिणामस्वरूप उत्पादित वस्तुले बजार पाउन सक्दैन । बजारको अभाव भएपछि उत्पादनकर्ता निरुत्साहित हुन्छन् । अहिले यही अवस्था देखिएको छ । देशैभरिको आर्थिक गतिविधि शिथिलजस्तै छ । तथापि, हिउँद लागेपछि देशभरि आयोजना हुने साना–ठूला हाटबजारदेखि विभिन्न स्तरका मेला–महोत्सवले भने बर्सेनि अर्थतन्त्रलाई सामान्य चलायमान बनाउने गर्छ ।

पछिल्लो समय कात्तिकदेखि वैशाखसम्मै केन्द्रदेखि ठूला सहर, गाउँतहसम्म विभिन्न किसिमका मेला–महोत्सव सञ्चालन हुने गरेका छन् । उद्योग वाणिज्य संघ समितिको पहलमा मात्र नभएर सामाजिक संघसंस्था, सरकारी निकाय र स्थानीय निकायले समेत विभिन्न नाममा मेला–महोत्सव गर्दै आएका छन् । यस्ता मेला–महोत्सवले स्थानीय वस्तुको बजारीकरण र व्यापार प्रवद्र्धन गर्दै स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुर्‍याउने तथा स्थानीय संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न सहयोगी बनिरहेका हुन्छन् । मेला, महोत्सव र प्रदर्शनीहरूले मनोरञ्जन मात्रै दिँदैनन्, केही जान्ने, बुझ्ने र सिक्ने अवसरदेखि मुलुकको आर्थिक तथा सांस्कृतिक पक्षमा पनि विशेष महत्व राखेको पाइन्छ ।

त्यसो त स्थानीय तहको साना–साना एकाइमा आर्थिक चलखेलका लागि मेला–महोत्सवबाहेक साप्ताहिक, पाक्षिक तथा मासिक हाटबजारले समेत सघाउ पुर्‍याइरहेको हुन्छ । विशेष गरी पहाडी क्षेत्रका ग्रामीण इलाकामा लाग्ने हाटबजारमा किसान आफ्ना उत्पादन लिएर बिक्रीका लागि पुग्छन् । साग, सिस्नु, गुन्द्रुक, सिन्की, अचार, खुर्सानी, बेसार, विभिन्न फलफूलदेखि सुँगुर, बंगुरका पाठापाठी र कुखुरा, खसीबाख्रासम्म हटियामा किनबेच हुन्छ । परम्परादेखि लाग्दै आएका यस्ता हाटबजार सामग्री किनबेचको उपयुक्त थलो हो ।

ग्रामीण अर्थतन्त्र आफैँमा एउटा जीवन पद्धति पनि हो । ग्रामीण अर्थतन्त्रले विशिष्ट सामाजिक सम्बन्ध, सांस्कृतिक सम्बन्ध विकास गरेको हुन्छ । त्यसैले यसको सामाजिक मूल्य निकै धेरै छ । ग्रामीण अर्थतन्त्रलाई विकसित र व्यवस्थित गर्न सकियो भने स्थानीय स्तरमै धेरै रोजगारीका अवसर सिर्जना हुन सक्छन् । मेला–महोत्सव, हाटबजार ग्रामीण अर्थतन्त्र चलायमान बनाउने बलिया माध्यम हुन् । त्यसैले त अहिले यस्ता कार्यक्रममा किसान, घरेलु उद्यमी, कलाकारदेखि मन्त्रीसमेतको व्यस्तता बढाइदिएको छ, जसलाई सकारात्मक रूपमा लिन सकिन्छ ।

विशेष गरी केही ठूला महोत्सवले आन्तरिक मात्रै होइन, विदेशी पर्यटकलाई समेत तानिरहेको छ । पर्यटकीय राजधानी पोखरामा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’ दोस्रो संस्करणमै नेपाल–चीन मैत्रीपूर्ण सम्बन्धलाई अझ गाढा बनाउने र चिनियाँ पर्यटकलाई आकर्षित गर्न थालेको छ । नेपाल र उत्तरी छिमेकी चीनबीच सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्न टेवा पुग्ने देखिन्छ । त्यस्तै, अर्को पर्यटन गन्तव्य सौराहामा बर्सेनि हुने ‘हात्ती तथा पर्यटन महोत्सव’, ‘अन्तर्राष्ट्रिय बेलुन महोत्सव’ ले पनि स्वदेशी त विदेशी पर्यटकका लागि आकर्षण थपिरहेको छ ।

अझ विभिन्न ठाउँमा हुने कृषि तथा औद्योगिक मेलाले कृषक र उद्योगीलाई उपभोक्ता र बजारीकरणमा ठूलो भूमिका खेल्छ । औद्योगिक विकासको माध्यमले उद्यमीहरूलाई उद्यमशील कार्यमा उत्प्रेरित गर्न, औद्योगिक व्यवसायको प्रवद्र्धन, रोजगारी सिर्जना, सीपमूलक कार्यमा उत्साह, परम्परागत हस्तकलाको दिगो विकासको कार्यलाई प्रोत्साहन मिल्छ । औद्योगिक उत्पादनलगायत हस्तकलाका वस्तु मेला, महोत्सव तथा प्रदर्शनीका माध्यमले प्रचारप्रसार गरी औद्योगिक उत्पादन बजारीकरणका लागि सहयोग गरी उत्पादन वृद्धिलाई प्रेरित गर्ने भएकाले औद्योगिक मेला, महोत्सव, प्रदर्शनीलाई व्यवस्थित गर्न आवश्यक छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन, स्थानीय कला र कलाकारलाई प्रोत्साहन, स्थानीय स्तरमा रोजगारी सिर्जनालाई हौसला, स्थानीय कला, साहित्य, संगीत, संस्कृति र सम्पदाको संरक्षण र संवद्र्धन तथा आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्नमा स्थानीय र राष्ट्रिय स्तरमा हुने मेला, महोत्सव तथा प्रदर्शनीहरूको उल्लेख्य भूमिका रहँदै आएको छ ।

मौलिक परम्परा, मौलिक परिकार, स्थानीय जाति र समुदायविशेषमा लोकप्रिय खानाका विविध परिकारको स्वाद चाख्ने अवसर मात्रै होइन, तिनको संरक्षण र संवद्र्धनका लागि हौसला बढाउने काम पनि मेला, महोत्सव तथा प्रदर्शनीले गर्छन् । मौलिकता भरिएको संस्कृति र जीवनशैलीलाई संरक्षण र संवद्र्धन गर्दै स्थानीय उत्पादन, स्थानीय रोजगारी र स्थानीय अर्थतन्त्रको सुदृढतामा यस्ता मेला तथा महोत्सवले निकै महत्वपूर्ण टेवा पुर्‍याएको हुन्छ ।

अब ग्रामीण अर्थतन्त्रको दायरा फराकिलो बनाउँदै लैजानुको विकल्प छैन । नीति निर्माताहरूले पनि ग्रामीण अर्थतन्त्रलाई पूर्ण रूपमा रेमिटेन्समा मात्रै निर्भर बन्न नदिई कृषि र पर्यटन अर्थतन्त्रमा जोड दिन आवश्यक छ । गाउँगाउँमा भित्रिएको रेमिटेन्सलाई परिवारको लगानीयोग्य आयको रूपमा परिणत गरी ग्रामीण अर्थतन्त्रलाई पुनः ब्युँताउने औजारका रूपमा उपयोग गर्न सकिन्छ । संघीयताको कार्यान्वयनसँगै सबै स्थानीय तहमा स्थानीय सरकारहरू बनेका छन् । स्थानीय जनप्रतिनिधिहरू स्थानीय तहका लागि आवश्यक कानुन, नीति तथा कार्यक्रम आफैँ निर्माण गर्न सक्ने भएकाले स्थानीय बजार र स्थानीय अर्थतन्त्रलाई एउटा निश्चित प्रारूपमा विकास गर्न सकिने अवस्था पनि छ । कृषिक्षेत्र नेपाली अर्थतन्त्रको आधारशिलाका रूपमा रहेको छ ।

नेपालका करिब ६२ प्रतिशत परिवार अझै पनि कृषिमा नै आश्रित छन् । देशको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान २४ प्रतिशत रहेको छ । कृषिक्षेत्रको विकास नै दिगो आर्थिक विकास र बहुसंख्यक नेपालीको आय तथा रोजगारीको आधारस्तम्भ भएकाले स्थानीय कृषि उपजलाई व्यवसायीकरण गर्न मेला–महोत्सव महत्वपूर्ण अवसर हुन सक्छ । त्यसो त देशका विभिन्न स्थानमा आयोजना हुने अव्यवस्थित मेला–महोत्सवको होडबाजीले भने केही चिन्ता पनि थपेको छ । मनोरञ्जनात्मक कार्यक्रम र उद्योग, व्यापारका स्टलमात्रै मेलामा राखिँदा अवलोकनकर्ताहरूका लागि ज्ञानको थलो नभई भेटघाट हुने माध्यम मात्रै बन्ने तथा बिस्तारै यस्ता मेला–महोत्सवप्रति मानिसको आकर्षण घट्दै गएर नकारात्मक असर पर्ने त होइन चिन्ता गर्नुपर्ने बेला आएको छ ।

महोत्सवले उत्पादक र उपभोक्तालाई एउटै थलोमा प्रत्यक्ष रूपमा भेट गराउने अवसर जुराउने मूल मर्मबाट क्षणिक रौनक र भीडमा मात्रै अलमलिएका त छैनौं? महोत्सवले लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, वस्तुको उत्पादन र उपभोगबाहेक जातीय, वेशभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्न, स्थानीय उत्पादित कृषि वस्तुको व्यवसायीकरण गर्न र पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु महोत्सवको मूल उद्देश्य मानिन्छ । मेला–महोत्सवको उद्देश्य पैसा कमाउने मात्रै होइन; स्थानीय स्तरमा उत्पादन हुने वस्तुको बजारीकरण, बेरोजगार युवायुवतीलाई स्वरोजगार बन्ने प्रेरणा केन्द्र, साना, लघु तथा घरेलु व्यवसायको प्रवद्र्धन, नयाँ उद्यमी बनाउन सक्ने प्रयोगात्मक सिकाइ थलो तथा पर्यटन प्रवद्र्धनको एउटा महत्वपूर्ण पाटो पनि बन्नुपर्छ ।

मेला–महोत्सव अहिले सांस्कृतिक आदानप्रदान र प्रवद्र्धनको सशक्त माध्यम बनिरहेका छन् । स्थानीय र परम्परागत सीप तथा संस्कृतिमा आधारित उत्पादनका बारेमा अरूलाई बताउने, सिकाउने अवसर मेला बनिरहेको छ । विभिन्न जातजातिका पोसाक, खानपान, बसाइ, पकाउने तरिका र खानेकुराका बारेमा जानकारी लिने ठाउँ मेला–महोत्सव बनेको देखिन्छ । मेला–महोत्सवमा जातीय सांस्कृतिक स्टलमा बढी भीडभाड हुनुलाई सांस्कृतिक घुलमेललाई दर्शकले महत्व दिएको सहजै अनुमान गर्न सकिन्छ । मेला–महोत्सवमा धेरै मानिस के रहेछ, कस्तो रहेछ भनेर घुम्न हेर्न जानकारी लिन मात्रै पनि पुगेका हुन्छन् तर तिनका लागि खासै उपयोगी हुन सकिरहेको छैन । अर्थात् केही किनमेल नगर्ने मानिससमेत प्रदर्शनी घुम्न जान्छन् । त्यसैले मेला–महोत्सव आफैंमा पर्यटनका क्षेत्र बनिसकेका छन् । मेलामा पर्यटकीय स्वभावका मानिसहरू पुग्ने भएकाले मेला–महोत्सव पर्यटन प्रवद्र्धनका राम्रा अवसर हुन् ।

मेलामा पुग्ने मानिसलाई छेउछाउमै घुम्ने ठाउँ छन् भन्ने चिनाउने मात्र नभएर पर्यटन व्यवसायीले कहाँ कस्तो सेवा प्रदान गर्न सक्छन् भने बताउने, घुमाउने राम्रो अवसर हो, मेला–महोत्सव । जसरी उपभोग्य सामान उत्पादकले आफ्ना सामानको प्रदर्शन र बिक्री–वितरण गर्छन्, त्यसैगरी होटल व्यवसायीले आफ्नो होटलको सम्पूर्ण जानकारी मेलामा दर्शकहरूलाई प्रदान गर्न सक्ने हो भने नागरिक र होटल व्यवसाय दुवैलाई फाइदा पुग्छ । ट्राभल एजेन्सी तथा टुर अपरेटरहरूले स्थानीय क्षेत्रमा सांस्कृतिक र दर्शनीय ठाउँहरूको प्रचारप्रसार गर्ने र मेलामा पुगेका दर्शकलाई प्याकेज बनाएर ती ठाउँमा घुमाउन सक्ने हो भने पर्यटन उद्योग र उत्पादनशील उद्योगी, व्यापारीले राम्रो र दीर्घकालीन लाभ लिन सक्ने देखिन्छ । मेला–महोत्सवको आयोजनाले त्यस क्षेत्रको आर्थिक विकास र उत्पादनको प्रवद्र्धनका लागि पुलको काम गरेको छ । मेला–महोत्सवको प्रभावलाई तत्कालको व्यापारिक उद्देश्यमा मात्रै सीमित गरिनु हुन्न । तत्काल देखिने उपलब्धिभन्दा पनि यिनले दिने दूरगामी प्रभाव मूल्यवान् छन् ।

प्रतिक्रिया दिनुहोस्