Logo

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँट

काठमाडौं– गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आइतबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटको कार्यालयमा भएको आईपीओ बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जना आवेदकले सेयर पाएका छन् । आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए ।

जसमा ८ हजार ४५२ जनाको आवेदन रद्द भएको छ । बाँकी १ लाख ८४ हजार ५०० जनाले सेयर पाएका बिक्री प्रबन्धक कुमारी क्यापिटलको भनाइ छ । कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म आईपीओ बिक्री गरेको थियो । कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । त्यसैगरी, कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर म्युचुअल फण्डहरूलाई छुट्याएको छ ।

कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया दिनुहोस्