Logo

नेपाल खो खो विश्वकपको उपविजेता

काठमाडौं- खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा सिमित भएको नेपाली टोली सोमबार स्वदेश फर्किंदैछ । भारतको नयाँ दिल्लीमा भएको महिला र पुरुष दुवैको फाइनलमा नेपाली टोली भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको हो ।

नेपाली टोली सोमबार साँझ स्वदेश आइपुग्नेछ । नेपाली टोलीलाई बाजागाजासहित भव्य स्वागत गर्ने तयारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले जनाए । राखेप सदस्यसचिव घिसिङले खेलकुद विकास नियमावली, २०७९ अनुरुप नेपाली टोलीले नगद पुरस्कार पाउने उल्लेख गरे ।

हाल पुरस्कार घोषणा लागि खेलाडी पर्खनुपर्ने अवस्था नरहेको र खेलाडीको सफलतासँगै कानूनी रूपमा नै उनीहरूले पुरस्कार पाउने व्यवस्था भइसकेको घिसिङको भनाइ छ । आइतबार भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्टेडियमा भएको फाइनलमा पुरूष टोली घरेलु टोलीसँग ५४–३६ ले पराजित भएको थियो ।

त्यसअघि महिला टोलीले पनि भारतसँग ७८–४० ले पराजित भएको थियो । नेपालको पुरुष टोली यस विश्वकपमा दोस्रो पल्ट भारतसँग पराजित भएको हो । लिगचरणमा पनि नेपाल भारतसँग ४२–३७ को प्रतिष्पर्धात्मक रूपमा पराजित भएको थियो । फाइनलमा भने नेपालले खासै चुनौती दिन सकेन । नेपाली महिला टोलीको अपराजित यात्रा फाइनलमा रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्