Logo

६ महिनामा १ हजार १८९ विदेशीले लिए काम गर्ने स्वीकृति

काठमाडौं– चालू आर्थिक वर्षको ४ महिनामा १ हजार १८९ विदेशी श्रमिकलाई नेपालमा रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरिएको छ । नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार साउनदेखि पुससम्म सो संख्याका विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको हो । यो संख्यामध्ये नयाँ श्रम स्वीकृति लिने गैरनेपाली नागरिक ४६७ र नविकरण गर्नेको संख्या ७२२ रहेको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक मणिनाथ गोपले आर्थिक वर्षको सुरुमा श्रम स्वीकृति लिने विदेशी श्रमिक घटेको देखिएपनि पछि क्रमश बढ्ने बताए । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्यामा क्रमश घट्दो दरमा रहेको छ ।

विदेशी नागरिकको श्रम इजाजत व्यवस्था सम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरिए पनि नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौता बमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदार समेत नेपालमा आउने गरेको पाइन्छ । यसले गर्दा दक्ष नेपाली श्रमिकले स्वदेशमै रोजगारी नपाउने र विदेशी अर्धदक्ष श्रमिकसमेत नेपालमा प्रवेश गरी काम गर्ने प्रकृत्तिले अर्बौ रुपैयाँ विदेश जाने गरेको छ ।

विदेशीले काम गर्ने कतिपय परियोजनाले नेपाली श्रमिकलाई मात्र कटौती गरी विदेशी श्रमिकहरु यथावत राख्ने गरेको पाइए पनि सोको अनुगमन भने हुन सकेको छैन । नेपालका श्रमिकलाई प्राथमिकता दिई नेपाली श्रम बजारमा उपलब्ध हुन नसकेका दक्ष र सीपयुक्त विदेशी जनशक्तिलाई मात्र श्रम स्वकिृति दिनु पर्ने विज्ञको सुझाव छ । नेपालमा उपलब्ध हुन नसक्ने दक्ष विदेशी कामदारलाई मात्र श्रम स्वीकृतिका लागि सम्बन्धित मन्त्रालय/विभागको सिफारिस एंव गृह मन्त्रालयको कार्यसहमतिको आधारमा श्रम स्वीकृति प्रक्रिया मिलाउनु पर्ने नीतिगत सुधारको आवश्यकता रहेको छ ।

विभागले नेपालमा काम गर्ने विदेशीलाई अधिकतम ६ वर्षसम्म मात्र नवीकरण हुने जनाएको छ । यसैगरी एकै प्रकृतिको कामका लागि श्रम स्वीकृति लिने श्रमिकको सीप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम रहेको छ । विदेशबाट नेपालमा काम गर्न आउने विदेशी नागरिकका लागि नेपालमा काम गर्न २/३ वटा प्रावधान रहेको छ । एक कुनै ठूला प्रोजेक्ट सञ्चालन गर्न नेपाल सरकारसँग सम्झौता हुँदा नै कामदार विदेशी राख्ने भन्ने पहिला नै निर्धारण गरिएको हुन्छ ।

दोस्रो माग गर्दा आवश्यक परेको जनशक्ति नेपालमा पाइएन भने त्यस्तो अवस्थामा विदेशी राख्न पाइने विभागले जनाएको छ । यसैगरी स्वयंसेवाका रुपमा पनि नेपालमा विदेशीले काम गर्न पाउने प्रावधान रहेको छ । अहिलेसम्मको तथ्यांकले वार्षिक रुपमा २ हजार ५ सयको हाराहारीमा विदेशीले श्रम स्वीकृति लिने गरेको देखिन्छ । गत आवको तथ्यांक अनसार २ हजार ६ विदेशीले नेपालमा काम गर्न सरकारबाट अनुमति लिएका थिए ।

खुला सिमाना भएका कारण भारतबाट धेरै श्रमिक आएर काम गर्ने गरेको भएपनि उनीहरुले भने श्रम स्वीकृति लिएको देखिँदैन । विभागका अनुसार भारतबाहेक अन्य देशबाट आउने कामदारले भने स्वीकृति भने लिनुपर्छ । नेपालमा आउने भारतका श्रमिक जस्तै नेपालबाट पनि भारतमा गएर काम गर्नेको संख्या धेरै रहेको छ । भारतका लागि श्रम स्वीकृति गर्ने बहस हुँदा १९५० को सन्धीको कुरा उठने गरेको कारण भारतका लागि कडाई नगरिएको विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्