एक वर्षमा ८४ हजार पशुमा कृत्रिम गर्भाधान

दाङ– लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा ८४ हजार ५९७ वटा पशुमा कृत्रिम गर्भाधारण गराइएको छ । प्रदेशका १२ जिल्लामा गाई, भैसी, बाख्रामा यो संख्यामा कृत्रिम गर्भाधारण गराइएको हो । लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनअनुसार ४३ हजार ४३६ गाई, ३९ हजार ९३४ वटा भैंसी र एक हजार २२७ वटा बाख्रामा कृत्रिम गर्भाधान गराइको हो ।
पछिल्लो समय पशुमा कृत्रिम गर्भाधान गराउने कृषकको संख्यासमेत वृद्धि भएको लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अनुप तिवारीले जानकारी दिए । गाईमा कृत्रिम गर्भाधारण गराउनेको संख्या धेरै रहेको उनी बताउँछन् । गाईमा यसको प्रभावकारी बढी देखिएकाले पनि गाईमा कृत्रिम गर्भाधान गराउनेको संख्यामा समेत वृद्धि भएको पशुका प्राविधिकको भनाइ छ । कृषकको मागअनुसार कृत्रिम गर्भाधानको सेवा दिनसमेत पुर्याउन नसकिएको उनको भनाइ छ ।
‘कृषकको मागअनुसार सेवा दिन समेत सकिएको छैन,’ सूचना अधिकारी तिवारीले भने, ‘सरकारले विभिन्न समस्याको कारण कृषकको माग अनुसार सेवा दिन सकेको छैन ।’ कृत्रिम गर्भधान गर्दा स्थानीय गाईमा दूध बढ्ने र गाईले जन्माएको बाच्छा–बाच्छी उन्नत जातका हुने, थोरै विर्यबाट धेरै गाईलाई प्रजनन गराउन सकिने, बहरबाट लाग्ने र सरुवा रोगबाट बच्न सकिनेजस्ता फाइदा हुने भएपछि पशुको कृत्रिम गर्भाधान गर्नेको संख्यामा वृद्धि भएको प्राविधिक बताउँछन् ।
सबैभन्दा बढी रुपन्देही जिल्लामा कृत्रिम गर्भाधारण गराइएको छ । रुपन्देहीमा गाईमा १८ हजार ५५ वटा, भैसीमा १३ हजार ६४ वटा र ५८७ वटा बाख्रा गरी ३१ हजार सात सय ६ वटामा कृत्रिम गर्भाधारण गराइएको छ । नवलपरासीमा आठ हजार ३२४ वटा गाई, आठ हजार २७५ वटा भैसी र ४९७ वटा बाख्रामा गरी १७ हजार ९६ वटामा कृत्रिम गर्भाधारण गराइएको छ ।
अर्घाखाँचीमा १५ सय ७५ वटा गाई, ४४ सय २१ वटा भैसी र पाँचवटा बाख्रामा गरी ६ हजार एक वटामा कृत्रिम गर्भाधारण गराइएको छ । पाल्पामा एक हजार ७१५ वटा गाई, एक हजार ७४६ वटा भैसी र १२ वटा बाख्रामा गरी तीन हजार ४७३ वटामा कृत्रिम गर्भाधारण गराइएको छ । कपिलवस्तु जिल्लामा तीन हजार २२५ वटा गाई, तीन हजार १२८ वटा भैसी र २३ वटा बाख्रामा गरी ६ हजार ३७६ वटामा कृत्रिम गर्भाधारण गराइएको छ ।
बाँकेमा एक हजार आठ सय ९ वटा गाई, एक हजार २४९ भैसी र २१ वटा गरी बाख्रामा गरी तीन हजार ७९ वटामा कृत्रिम गर्भाधारण गराइएको छ । त्यसैगरी दाङमा दुई हजार ३३८ गाई, २१ सय ४८ भैसी र ४४ वटा बाख्रामा गरी ४५ सय ३० वटामा कृत्रिम गर्भाधारण गराइएको छ । गुल्मीमा १६ सय १५ वटा गाई, १४ सय ६१ वटा भैसी र चारवटा बाख्रामा गरी तीन हजार ८० वटामा कृत्रिम गर्भाधारण गराइएको छ ।
बर्दियामा ४४ सय १० वटा गाई, तीन हजार ७९२ वटा भैसी र १० वटा बाख्रामा गरी ८२ सय १२ वटामा कृत्रिम गर्भाधारण गराइएको छ । रोल्पामा १३६ वटा गाई, ३७६ वटा भैसी र सातवटा बाख्रामा गरी ५१९ मा कृत्रिम गर्भाधारण गराइएको छ । प्युठानमा २२६ वटा गाइ, २५७ वटा भैसी र आठवटा बाख्रामा गरी ४९१ वटामा कृत्रिम गर्भाधारण गराइएको छ । रुकुम पूर्वमा आठवटा गाई, १७ वटा भैसी नौवटा बाख्रामा गरी ३४ वटामा कृत्रिम गर्भाधारण गराइएको छ ।