Logo

सवारीसाधनको आबद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने अभियान

बुटवल– यातायात मजदुर तथा व्यवसायी भलाई कोष बुटवलले ८७ दिने अभियान सुरु गरेको छ । सार्वजनिक तथा निजी सवारी साधनको आबद्धता वृद्धि गर्ने लक्ष्यसहित अभियान थालिएको कोषले जनाएको छ । कोषले यो अभियानलाई तीन भागमा वर्गीकरण सवारी कोषमा आबद्ध हुने सवारी साधनको संख्या बढाउने योजना बनाएको हो । ८७ दिने अभियानको कोषका पूर्वअध्यक्ष एवं मानार्थ सदस्य कुमार थापाले आइतबार शुभारम्भ गरेका छन् ।

त्यस अवसरमा बोल्दै उनले धेरैभन्दा धेरी सवारी साधनलाई कोषमा आबद्ध गराएर दुर्घटना न्यूनीकरणको अभियानमा प्रभावकारी ढंगले लाग्न आग्रह गरे । यो अभियानको सफलताको कामना गर्दै थापाले दुर्घटनापछि हुने सम्भावित क्षतिबाट राहत दिलाउनका लागि कोषले थालेको यो अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे । कोषले ८७ दिने विशेष अभियानमा सवारी साधनलाई विशेष छुटको योजनासमेत ल्याएको छ ।

जसअनुसार ठूला गाडीको दर्ता शुल्क २१ सय रुपैयाँ लिंदै आएकोमा यो अभियानभर ११ सय कायम गरिएको छ । त्यस्तै साना गाडीको दर्ता शुल्क १५ सय लिँंदै आएकोमा अभियानभरका लागि पाँच सय रुपैयाँ कायम गरिएको छ । नयाँ सवारी साधनको एकमुष्ट वार्षिक शुल्क काट्नेलाई टिसर्ट प्रदान गरिने छ भने विशेष ८७ दिने अभियानमा सबभन्दा बढी गाडी कोषमा आबद्ध दर्ता गर्नेलाई सम्मान गरिने छ । अभियान सञ्चालनका लागि अध्यक्ष दीलिप फुल्लेलको संयोजकत्वमा १०१ सदस्यीय सञ्चालन कमिटी गठन गरिएको छ ।

उक्त अभियानअन्तर्गत माघ मसान्तभित्र पाल्पा, स्याङ्जा, कास्की, बाग्लुङ, कुश्मा, बेनी, रुकुम पूर्व, नवलपुर, चितवन, मकवानपुर, पर्सा, सर्लाही, सिराहा, सुनसरी, मोरङ सम्मका विभिन्न स्थानमा भलाई कोषको टोली पुग्ने अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए । ‘त्यसक्रममा यातायात व्यवसायी प्रालि तथा यातायात व्यवसायी समिति, विभिन्न प्रकारका यातायातका सवारी साधनका व्यवसायी संघसंँग भेट गर्नुका साथै प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ भने हेटाैंडा र विरगन्जमा कार्यालयको स्थापना गरिने छ,’ उनले भने ।

त्यस्तै कोषले आगामी फागुन १ गतेदेखि रुपन्देही जिल्लाका उद्योग वाणिज्य संघ तथा उद्योग संघलगायतका संघ/संस्था तथा विभिन्न कलकारखाना, फ्याक्ट्री, सिमेण्ट फ्याक्ट्री, तथा इँट्टाभट्टा लगायत अन्य व्यावसायिक संघ संस्थामा भेटघाट तथा अभियान सञ्चालन गर्ने कोषका उपाध्यक्ष छविलाल थापाले बताए ।

सम्भावित स्थानमा शाखा विस्तारको अभियानअन्तर्गत दाङ जिल्लाको तुलसीपुर लगायत अन्य स्थानमा पनि शाखा विस्तार तथा कोष वृद्धि अभियान लुम्बिनी प्रदेशभर चलाउने, ८७ दिनको उपलब्धि प्रगति विशेष अभियानमा आइपरेका समस्या, उपलब्धि, चुनौती सबैको समीक्षा गरी आगामी वैशाख ३ गते कोषको स्थापना दिवसको दिन अभियान समापन गरिने कोषका महासचिव योगबहादुर गुरुङले जानकारी दिए ।

यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले पशुपंक्षीको मृत्युमा पनि लगानी गर्दै आइरहेको छ । त्यस्तै निर्जिव दुर्घटनामा समेत लगानी गरी व्यवसायीलाई दुर्घटनाको झन्झटबाट मुक्त गराउने गरिएको कोषका सचिव विजेश न्यौपानेले बताए । कोषमा वार्षिक मासिक शुल्क बुझाइरहेका सवारी दुर्घटनामा परी अंगभंग भएका असहाय, अपांग मजदुरलाई मासिक रूपमा कोषले अपांग मजदुर सहयोग गर्दै आइरहेको कोषका कोषाध्यक्ष प्रकाशकुमार नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्