Logo

१५ शैया अस्पतालबाट सेवा दिँदै सिम्ता गाउँपालिका

सुर्खेत– सुर्खेतको सिम्ता गाउँपालिकाले पालिकामा नवनिर्मित अस्पतालबाट सेवा दिन सुरु गर्ने भएको छ । वडा नं. ४ बजेडीचौरमा निर्माण भएको १५ शैया अस्पतालबाट माघ महिनादेखि सेवा दिन सुरु गर्ने भएको हो । गाउँपालिकाको आइतबार सम्पन्न १६औं गाउँसभाले अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ । अस्पतालमा कर्णाली प्रदेश अस्पतालबाट दुईजना मेडिकल अफिसर डाक्टर काजमा जाने भएका छन् ।

अस्पतालबाट दुई जना डाक्टरसँगै स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नेगरी तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले जानकारी दिए । अस्पताल भवनमा हाल विद्युत र पानी जडानको काम भइरहेकाले अबको १५ दिनभित्रमा सेवा सुरु गरिने अध्यक्ष चन्दले बताए । हरेक पालिकामा अस्पताल सञ्चालन गर्ने नेपाल सरकारको योजनाअन्तर्गत सिम्ता गाउँपालिका–४ बजेडीचौरमा २०७७ साल मंसिरमा अस्पताल भवनको शिलान्यास गरिएको थियो ।

अस्पताल निर्माणका लागि माउण्ट एण्ड कवीन्द्र जेभीले भ्याटसहित १४ करोडमा ठेक्का पाएको थियो । निर्माण कम्पनीले यही २०८१ मसान्तमा निर्माण सम्पन्न गरेको हो । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ शैयाको अस्पतालका लागि १०औँ तहको कन्सल्टेन्ट मेडिकल जनरलिस्ट मेडिकल सुपरिटेण्डेण्ट, दुई जना मेडिकल अधिकृतसहित ३२ जनाको दरबन्दी रहनेगरी संगठन संरचना बनाएको छ । अस्पताललाई आवश्यक पर्ने आर्थिक दायित्व सम्बन्धित स्थानीय तहले नै व्यवस्था गर्नुपर्ने हुन्छ ।

अस्पताल सञ्चालनमा आएपछि सम्बन्धित वडामा रहेको स्वास्थ्य संस्था पनि त्यसैमा गाभ्नुपर्ने हुन्छ । हाल वडा नं. ४ मा रहेको बजेडीचौर स्वास्थ्य चौकीलाई अस्पतालमा गाभेर सेवा सुरु गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र पुनले जानकारी दिए । उनका अनुसार अस्पताल सुरु भएसँगै भिडियो एक्सरे, ल्याब सेवा, आकस्मिक, बहिरङ्ग र अन्तरङ्ग सेवा, एम्बुलेन्स सेवा सुरु हुनेछ । अस्पताल सुरु भएपछि सिम्ताबासीले सानातिना स्वास्थ्य उपचारका लागि पनि मेहलकुना, वीरेन्द्रनगर, नेपालगन्ज लगायतका ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य हुने गाउँपालिका अध्यक्ष चन्दले दाबी गरे ।

सिम्ता गाउँपालिकाको जनसंख्या २४ हजार रहेको छ । साथै सुर्खेतको चिङ्गाड, जाजरकोटको शिवालय र सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका केही भूभाग समेत सिम्ता गाउँपालिकामा जोडिएको छ । अस्पताल सुरु भएपछि छिमेकी ती पालिकाबाट समेत सेवा लिन आउने अपेक्षा गरिएको छ । अस्पताल निर्माणसँगै सेवा प्रवाहको तयारी तथा अस्पतालबाट विशेषज्ञ सेवा सञ्चालन गरे पछि सिम्ताका नागरिक अब स्वास्थ्य सेवाबाट विमुख हुनुपर्ने दिन हट्ने गाउँपालिका अध्यक्ष चन्दको भनाइ छ ।

प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डाक्टरद्वय नवीन काफ्ले र असिस यादवले काजमा आएर सेवा दिन सुरु गर्ने गाउँपालिकाले जनाएको छ । साथै अस्पताल सञ्चालनका लागि अन्य जनशक्ति गाउँपालिकाबाट व्यवस्था गर्ने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा करिब चार सय स्थानीय तह र सातवटै प्रदेशमा गाउँ तथा नगर अस्पताल निर्माणका लागि बजेट विनियोजन गरी अस्पताल निर्माणका लागि काम अघि बढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्