नेपालगन्ज भन्सारबाट ७२ प्रतिशत राजस्व

नेपालगन्ज– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ७२ प्रतिशत राजस्व असुली गरेको छ । पछिल्लो तीन वर्षदेखि लगातार लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको कार्यालयले यस वर्षको पुस मसान्तसम्म ९ अर्ब ३१ करोड अर्थात् लक्ष्यको करिब ७२ प्रतिशत राजस्व संकलन गरेको हो । कार्यालयको पुस सम्मको लक्ष्य १२ अर्ब ९७ करोड २८ लाख ४८ हजार अर्थात् ७१.८१ प्रतिशत रहेको छ ।
चालु आवमा कार्यालयको वार्षिक लक्ष्य २७ अर्ब १८ करोड ३५ लाख रहेको छ । ६ महिनामा संकलन भएको राजस्व हेर्दा वार्षिक लक्ष्यको ३४.२८ प्रतिशत मात्र भए पनि गत वर्षभन्दा ६४ करोड ९७ लाख बढी भएको कार्यालयका प्रमुख भन्सार अधिकृत जर्नादन पौडेलले बताए । ‘गत आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ६८ करोड ८० लाख ५३ हजार राजस्व संकलन भएको थियो’ उनले भने, ‘लक्ष्यअनुसार हुन नसके पनि सुधारको संकेत भने देखीएको छ ।’
चालु आर्थिक वर्षमा नेपालगन्ज भन्सारबाट हुने निर्यातसमेत बढेको छ । गत आर्थिक वर्षको पुससम्म १ अर्ब ३ करोड ७० लाख रुपैयाँको वस्तु निर्यात भएकोमा यस वर्ष एक अर्ब १६ करोड ३९ लाख अर्थात् गत वर्षको सोही अवधिको तुलनामा १२ करोड ६९ लाख रुपैयाँ बढीको वस्तु निर्यात भएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।
एकीकृत जाँच चौकीअन्तगर्त सञ्चालित नेपालगन्ज भन्सारबाट पुस मसान्तसम्म कुल ३५ अर्ब २७ करोड रुपैयाँको आयात हुँदा निर्यात भने १ अर्ब १६ करोड ३९ लाख मात्रै भएको हो । गत वर्षभन्दा ७० करोड ६७ लाख रुपैयाँको आयात बढ्दा १२ करोड ६९ लाखले निर्यात बढेको कार्यालयको तथ्यांक छ । आयातको तुलनामा निर्यात ज्यादै न्यून हुँदा यस नाकाबाट ९६.७ प्रतिशत व्यापार घाटा भएको छ ।
एकीकृत जाँच चौकी (आइसीपी) अन्तर्गत सञ्चालन भएपछि भन्सार असुली बढ्ने अपेक्षा गरिएको थियो । तर असुली भने खासै बढ्न सकेको छैन । कार्यालयले चालु आर्थिक वर्षको मासिक लक्ष्यसमेत कुनै महिनामा पनि पूरा गर्न सकेको छैन । गत साउन महिनामा २ अर्ब ४ करोड रुपैयाँ असुली गर्ने लक्ष्य निर्धारण भएकोमा १ अर्ब ५० करोड अर्थात् लक्ष्यको ७३.७७ मात्र असुली भएको थियो । यस्तै, भदौमा ६६.६२, असोजमा ६६.९१, कात्तिकमा ७६.४४, मंसिरमा ७६.२७ र पुसमा ७१.१५ प्रतिशत मात्रै लक्ष्यअनुसार राजस्व असुली गरेको हो ।
कार्यालयका भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले राजस्व असुलीका लागि सवै निकाय लागेको बताउँदै आयात, निर्यात बढेमात्रै भन्सार राजस्व असुली बढ्ने बताए । गत वर्षभन्दा चालु आर्थिक वर्षमा पैठारी लागत कम भए पनि राजस्व असुली भने बढेको उनको भनाइ छ । ‘गत आर्थिक वर्षमा विभिन्न आयोजना र उद्योगका राजस्व छुटमा आउने सामान बढी आएका थिए,’ उनले भने, ‘यस आर्थिक वर्षमा त्यस्ता सामानहरु कम आएका कारण राजस्व संकलन बढेको हो ।’
राजस्व संकलन बढाउन चोरी पैठारी निकासीका लागि सवै निकायको हातेमालो हुनुपर्ने उनको भनाइ छ । खुला सिमानाका कारण हुने तस्करीका कारण पनि यस नाकाबाट लक्ष्य पूरा गर्न नसकिएको हो । चोरी, पैठारी निकासी नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीको मिलेमतोमा तस्करी हुँदा पनि राजस्व लक्ष्यअनुसार असुली हुन सकेको छैन । सीमामा कडाईका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले सरोकारवालासँग बारम्बार आवाज उठाई रहेको जनाएको छ ।