आर्थिक र विद्यार्थी अभावमा पर्वतका दुई सामुदायिक क्याम्पसको पहिलो एकीकरण

पर्वत– पर्वत सदरमुकाम कुश्मा बजारमा रहेका दुईवटा बहुमुखी क्याम्पस मर्ज गर्ने प्रक्रिया पूरा भएको छ । आर्थिक तथा विद्यार्थी अभावको समस्या झेल्दै आएका दुई क्याम्पस एक हुन लागेका हुन् ।
सानो बजार क्षेत्रमा दुईवटा क्याम्पस चलाउनुभन्दा मर्ज गरेर एउटामात्रै सञ्चालन गर्न एक वर्ष अगाडि प्रक्रिया सुरु गरिएको थियो । २०४८ सालमा स्थापना भएको गुप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालमा स्थापना भएको शिवालय बहुमुखी क्याम्पसलाई एकीकरण गरेपछि अब क्याम्पसको नाम ‘कुश्मा बहुमुखी क्याम्पस’ बनाउने निर्णय भएको छ । दुईवटै सामुदायिक क्याम्पसले बदलिएको सामाजिक विकासक्रम, घट्दो विद्यार्थी संख्या, अपर्याप्त सरकारी सहयोगलगायत कारण सञ्चालनमा चुनौती भोगेका थिए ।
यही अवस्थालाई ध्यानमा राखेर क्याम्पस एकीकरणको काम थालिएको थियो । दुवै क्याम्पसका सञ्चालक समिति तथा साधारणसभाबाट गोविन्द पहाडीको संयोजकत्वमा एकीकरण कार्यदल गठन गरिएको थियो । कार्यदलले लामो प्रयासपछि एकीकरणको प्रक्रिया पूरा गरेको हो । लामो प्रयत्नले कुश्मा क्षेत्रको सामुदायिक, भौगोलिक, राजनीतिक र भावनात्मक एकताको उदाहरण हुने गरी एकीकरण गरी कुश्मा बहुमुखी क्याम्पस बनाउन सफल भएको संयोजक पहाडीले बताए । समान हैसियतसहित सञ्चालित क्याम्पसको यो एकीकरण पहिलो भएको त्रिभुवन विश्वविद्यालयलाई उद्धृत गर्दै पहाडीले दाबी गरे ।
‘त्रिभुवन विश्वविद्यालयका अनुसार समान हैसियतका दुई सामुदायिक क्याम्पसको यो एकीकरण नै पहिलो उदाहरण हो । हाम्रो चाहना र योजनाअनुसार एकीकरण कार्यका लागि त्रिभुवन विश्वविद्यालयको नीति परिवर्तनमा समेत प्रभावित गर्न सक्षम भयौं,’ उनले भने, ‘तत्कालीन समयमा क्याम्पसहरूको आवश्यकता उच्च रहेको भए पनि हाल विद्यार्थीको चाप निकै कम हुँदा समस्या भइरहेको छ । त्रिभुवन विश्वविद्यालयमा कुनकुन संकायमा विद्यार्थी नै भएनन् भन्ने समाचार आइरहेको बेलामा मोफसलमा रहेका क्याम्पसहरू समस्यामा नहुने कुरै भएन ।’
यस वर्ष गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नातकोत्तरसहित र शिवालय बहुमुखी क्याम्पसमा गरेर करिब पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यी दुई क्याम्पसको एकीकरण जिल्लाकै पहिलो र सबैभन्दा उच्च शैक्षिक संस्थाहरूको एकीकरण हो । दुवै क्याम्पसलाई एकीकरण गरी एउटा सबल, परिष्कृत, आधुनिक र एकीकृत क्याम्पस स्थापना गर्न आवश्यक रहेको महसुस गरी एक वर्ष अगाडिदेखि मर्जका लागि पटक–पटक वार्ता र छलफल गरिएका थिए ।
मर्ज प्रक्रिया अगाडि बढाउन पब्लिक क्याम्पस संघ पर्वतका अध्यक्ष गोविन्द पहाडी गिरीको संयोजकत्वमा दुवै क्याम्पसका अध्यक्ष वसन्तकुमार कर्माचार्य र हरिओम शर्मा लामिछाने तथा क्याम्पस प्रमुखहरू सुभाष पन्त र लेखनाथ उपाध्यायसहितको पाँच सदस्यीय कार्यदल निर्माण गरिएको थियो । डेढ वर्ष अगाडिदेखि सुरु गरेको अध्ययन र सहकार्यबाट तयार भएको एकीकरण दस्ताबेजको आधारमा सञ्चालक समितिको संयुक्त बैठकले दुवै क्याम्पसलाई एकीकरण गर्ने निर्णय गरेको थियो । कार्यदलमार्फत विभिन्न आठवटा उपसमिति पनि निर्माण गरिएको थियो ।
पर्वत जिल्लाभर हाल १२ वटा क्याम्पस सञ्चालनमा छन् । विद्यार्थी अभावले सदरमुकाममै रहेका क्याम्पस एकीकरण गर्नुपर्ने अवस्था आएको बेलामा ग्रामीण क्षेत्रमा क्याम्पसहरूको अवस्था योभन्दा कमजोर छ । विद्यार्थी संख्या न्यून हुँदा कतिपय क्याम्पस बन्द हुने अवस्थामा छन् । सदरमुकाममा रहेका दुई क्याम्पसलाई एकीकरण गरेर एउटा सफल क्याम्पस बनाउने काम सुरु हुँदा अन्य क्याम्पसले पनि यही विधि अपनाउन सक्ने शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् ।