जगदुल्ला आयोजनाको फेरि ठेक्का आह्वान

विरेन्द्रनगर– १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनाको फेरि ठेक्का आह्वान भएको छ । साढे १५ अर्ब रुपैयाँको नयाँ ठेक्का आइतबार आह्वान भएको आयोजनाका सीईओ सञ्जय सापकोटाले जानकारी दिए ।
प्राविधिक प्रस्तावमा कुनै पनि कम्पनी पास नभएपछि रद्द भएको ठेक्का पुनः आह्वान गरिएको हो । सिभिल र हाइड्रो मेकानिकलतर्फको पहिलो ठेक्का गत जेठ २० गते निकालिएको थियो । आयोजनाका लागि हाइ हिमालयन हाइड्रो र एजीई कम्पनीको जेभी, झोङदिङ इन्टरनेसनल, पटेल इन्जिनियरिङ, लामा कन्स्ट्रक्सनलगायत ७ वटा कम्पनीले आवेदन दिएका थिए । सो ठेक्कामा कुनै पनि कम्पनीको प्राविधिक प्रस्ताव पास नभएपछि पुस २१ गते ठेक्का रद्द गरिएको थियो ।
आयोजनाको फाइनान्सियल क्लोजर गत वर्ष जेठ पहिलो साता भएको थियो । नबिल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर भएको हो । फाइनान्सियल क्लोजरका लागि बनेको सह–वित्तीयकरण (कन्सोर्टियम फर्म) को नेतृत्व नबिलले गर्दै ४ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ । सह–वित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चय कोष, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंक रहेका छन् ।
एचआईडीसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चय कोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् । आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसमध्ये करिब १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाउन लागिएको हो ।
आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच अघिल्लो वैशाख २८ गते पीपीए भएको हो । बर्खायाममा ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँमा पीपीए भएको छ । हिउँद पिकिङको भने १०.५५ रुपैयाँ पाउनेछ । यो आयोजनाको ४ देखि ६ घण्टासम्म पिकिङ क्षमता छ ।
आयोजनासम्म पुग्ने पहुँचमार्ग निर्माणको काम भइरहेको छ । यसका लागि ९ वटा बेलिब्रिज निर्माण गर्नुपर्छ, जसको काम सुरु भइसकेको कम्पनीले जनाएको छ । धेरैजसो पूर्वतयारीका काम अन्तिम चरणमा रहेको बताइएको छ । यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागिसमेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाटको जगदुल्ला ‘ए’ आयोजनासमेत निर्माण गर्न लागेको छ, जुन जगदुल्ला आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ ।