Logo

कोशी प्रदेशमा ५ खर्ब ७८ अर्ब कर्जा प्रवाह

काठमाडौं (कास)- कोशी प्रदेशमा गत असारसम्ममा ५ खर्ब ७८ अर्ब रुपैयाँबराबर कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थाः संक्षिप्त विवरण’ अनुसार असार २०८१ सम्म कोशी प्रदेशमा ५ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो ।

कोशीमा प्रवाह भएको कर्जा परिमाण कुल कर्जाको ११.१९ प्रतिशत हो । मुलुकको कुल कर्जा प्रवाह ५१ खर्ब ६४ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांक छ । कोशी प्रदेशमा तोकिएको क्षेत्रमा कुल १ खर्ब ७४ अर्ब १८ करोड कर्जा प्रवाह भएको छ । तीमध्ये सबैभन्दा धेरै कृषि क्षेत्रमा ९५ अर्ब २५ करोड कर्जा प्रवाह भएको हो ।

यस्तै, साना तथा मझौला उद्योगमा ६८ अर्ब २२ करोड, पर्यटनमा १० अर्ब ३९ करोड र ऊर्जा क्षेत्रमा ३१ करोड ७१ लाख कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकका अनुसार असार २०८१ सम्म कोशी प्रदेशमा १९ अर्ब ६९ करोड ३० लाखबराबर सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा १२ अर्ब ८८ करोड ७७ लाख सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । त्यसपछि महिला उद्यमशील कर्जामा ६ अर्ब ७२ करोड २८ लाखबराबर सहुलियतपूर्ण कर्जा छ ।

कोशी प्रदेशमा ४ खर्ब ७७ अर्ब निक्षेप रहेको छ । यो राष्ट्रिय कुल निक्षेपको ७.३५ प्रतिशत हो । देशको कुल निक्षेप ६४ खर्ब ८७ अर्ब रुपैयाँ बराबर छ । यसैगरी कोशीमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या १ हजार ८ सय ३७ छन् । यो १५.९३ प्रतिशत हो । देशभरि बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ११ हजार ५ सय ३० छन् ।

कोशीमा वाणिज्य बैंकको उपस्थिति रहेका स्थानीय तह १ सय ३७ छन् । देशभरमा भने ७ सय ५३ स्थानीय तह छन् । यहाँ ६ सय ८१ वटा एटीएम सञ्चालनमा छन् । देशभरमा ५ हजार १ सय ९३ एटीएम सञ्चालनमा ल्याइएको छ ।

यस्तै, कोशी प्रदेशमा डेबिट कार्ड चलाउनेहरू १७ लाख ३ हजार ८ सय ४२ जना छन् । यो कुल हिस्साको १४.१४ प्रतिशत हो । क्रेडिट कार्ड चलाउनेको संख्या ३१ हजार ५ सय ७९ छ । यो कुल हिस्साको ११.९९ प्रतिशत हो ।

बैंकका अनुसार मोबाइल बैंकिङ चलाउनेहरू कोशी प्रदेशमा ३४ लाख १४ हजार १ सय ९९ जना छन् । यो कुल हिस्साको १४.३८ प्रतिशत हो । यस्तै इन्टरनेट बैंकिङ चलाउने भने २ लाख हाराहारी छन् । कोशीमा ७६ लाख ५९ हजार ३५ निक्षेप खाता सञ्चालनमा छन् । यो कुल हिस्साको १३.७० प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्