Logo

लुम्बिनी प्रदेशका उद्योगमा ३ खर्ब २७ अर्ब लगानी

भैरहवा– लुम्बिनी प्रदेशका उद्योगमा ३ खर्ब २७ अर्बभन्दा बढी लगानी रहेको छ । आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म ७५६ उद्योगहरूमा उक्त लगानी रहेको देखिएको हो । ती उद्योगहरू उद्योग विभागमा दर्ता भई सञ्चालनमा रहेका छन् । विभागमा औद्योगिक व्यवसाय ऐन अनुसार १० करोडभन्दा बढी स्थिर पुँजी भएका उद्योगहरू उद्योग विभाग र लगानी बोर्डमा दर्ता हुन्छन् । १० करोडदेखि ६ अर्बसम्म स्थिर पुँजी भएका उद्योगहरू उद्योग विभागमा मात्र दर्ता भएर पुग्दैन । ठूला उद्योगको दर्ता कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि गर्नु पर्छ ।

राष्ट्र बैंक सिद्धार्थनगर शाखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१को वित्तीय प्रतिवेदनमा उल्लेख भए अनुसार ७५६ ठूला उद्योगहरूमा ७६ हजार ८० दक्ष तथा अर्धदक्ष श्रमिकहरूले रोजगारी पाएका छन् । लुम्बिनी प्रदेशमा रुपन्देही, नवलपरासीसँगै बाँके, कपिलवस्तु र दाङमा ठूलो उद्योग स्थापना गर्ने क्रम बढेको छ । तर, पछिल्लो समय पश्चिम नवलपरासीमा ठूला उद्योग खुल्ने क्रम बढेको छ । रुपन्देहीसँगै नवलपरासी र बाकेमा स्थापित ठूला उद्योगको संख्या एक सयमाथि छ भने अन्यका एक सय मुनि रहेका छन् ।

प्रदेशमा सबैभन्दा बढी ठूला उद्योगको हिस्सा रुपन्देहीमा रहेको छ । यहाँ ठूला उद्योगको हिस्सा कुल प्रदेशका उद्योगमध्ये ३८.६२ रहेको छ । रुपन्देहीमा २९२ ठूला उद्योग छन् । ती उद्योगमा कुल एक खर्ब ३ अर्ब ७४ करोड रुपैयाँ लगानी छ । जसमा २६ हजार ८ सयले रोजगारी पाएका छन् । त्यसैगरी पश्चिम नवलपरासीमा १८४ ठूला उद्योगमा एक खर्ब २ अर्ब १३ करोड ५० लाख बढीको लगानी छ । त्यहाँका ठूला उद्योगमा १८ हजार ५ सय ५५ जनाले प्रतक्ष्य रोजगारी पाएका छन् । बाँकेमा असार मसान्तसम्म १०७ उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् । बाँकेका ठूला उद्योगमा २२ अर्ब ७७ करोड ९० लाख रुपैयाँ भन्दा बढी लगानी छ ।

ती उद्योगले ९ हजार एक सय ११ जनालाई रोजगार प्रदान गरेको छ । त्यसैगरी कपिलवस्तुमा उद्योग विभागमा दर्ता भएर सञ्चालनमा रहेका उद्योगहरूको संख्या ६२ रहेको छ । ती उद्योगहरूमा ३९ अर्ब १७ करोड ६० लाख रुपैयाँ लगानी छ । जसले ७ हजार ५ सय ५३ जनालाई रोजगारी प्रदान गरेको छ । लुम्बिनी प्रदेशको राजधानी दाङमा ठूला उद्योगका संख्या ४९ छ । ती उद्योगमा ३४ अर्ब ८ करोड ७० लाख रुपैयाँ लगानी रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । दाङको ठूला उद्योगले ६ हजार ३ सय ४० जनालाई रोजगारी प्रदान गरेको छ ।

लुम्बिनी प्रदेशका अन्य जिल्लामा भने ठूला उद्योगको उपस्थिति न्यून छ । बर्दियामा २८, पाल्पामा १२, गुल्मीमा ६, अर्घाखाँची र रुकुममा ५/५, प्यूठान र रोल्पामा ३/३ ठूला उद्योग छन् । बर्दियामा ७ अर्ब ९३ करोड ६० लाख लगानी रहेको छ भने १ हजार ७ सय ५ जना, पाल्पामा ३ अर्ब ५ करोड १० लाख लगानी हुँदा ७ सय ७७ जना, अर्घाखाँचीमा ४ अर्ब ८२ करोड लगानी हुँदा ४ सय १८ जनाले रोजगारी पाएका छन् । गुल्मीमा २ अर्ब ५ करोड ९० लाख लगानी रहेका छ । यसले १ सय १९ जनालाई रोजगारी दिएको छ ।

रोल्पामा १ अर्ब २२ करोड २० लाख लगानीका उद्योगमा ४ हजार ६६ जनालाई रोजगारी र प्युठानमा ५४ करोड लगानीका उद्योगमा २ सय ३२ जनाले रोजगारी पाएका छन् । रुकुमका उद्योगले ३ सय ३४ जनाले रोजगारी दिएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी उद्योगको हिस्सा रुपन्देहीमा ३८.६२ प्रतिशत र सबैभन्दा कम प्यूठान र रोल्पामा ०.४० प्रतिशत रहेको छ । यस प्रदेशमा रहेको बुटवल औद्योगिक क्षेत्रमा ६४ र नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३० वटा उद्योगहरू सञ्चालनमा रहेका छन् ।

बुटवल औद्योगिक क्षेत्रमा थप ४ वटा उद्योगहरू निर्माणको क्रममा रहेका छन् । त्यसैगरी भैरहवा सेज विशेष आर्थिक क्षेत्रमा ११ वटा उद्योगहरू सञ्चालनमा रहेका छन् । थप औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढेको छ । लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी र कपिलवस्तुमा पूर्वाधार सम्बन्धी सिमेन्ट र छड उद्योगहरू बढी छन् । कपिलवस्तुमा प्लाइउड उद्योगको संख्या प्रदेशकै सबैभन्दा बढी छ । भैरहवाको धकधई परासी नयाँ औद्योगिक करिडरको रूपमा स्थापित भएको छ ।

यस करिडोरमा हुन्डाईदेखि बजाज, यामाहालगायतको एसेम्बलिंग प्लान्ट मात्र नभई पेप्सी कोला, बियर, रक्सी, टायल, खाद्य, स्टिल उद्योग, चामल, मैदा, जुत्ता चप्पल, चाउचाउ, बायोग्यासलगायतका उद्योग सञ्चालनमा छन् । नवलपरासी नेपालकै मध्य क्षेत्रमा अवस्थित, सिमानाकाबाट नजिकै भएकाले कच्चा सामग्री भारतबाट आयात गर्न सजिलो, नेपालको चारैतर्फ उत्पादित सामान पठाउन सहजलगायतका कारण रुपन्देही र नवलपरासीका अन्य जिल्लाका तुलनामा उद्योग स्थापना गर्ने क्रम बढी रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्