गमगढी–नाक्चेनाग्ला सडकलाई बजेट छैन, निर्माण अलपत्र

जुम्ला– संघीय सरकारले चालु आर्थिक वर्षमा कर्णाली प्रदेश अन्तर्गतको गमगढी–नाक्चेनाग्ला सडकलाई बजेट विनियोजन गरेको छैन । यो सडकले कर्णाली प्रदेशलाई चीनको उत्तरी नाकासँग जोड्ने भएकाले यसलाई पनि कर्णालीको एउटा लाइफलाइन सडक मानिँदै आएको छ । बजेट नहुँदा यो सडक आयोजना निर्माणमा ढिलाइ भएको छ ।
गमगढी–नाक्चेनाग्ला सडक निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन भएको छैन । चालु आवमा नाग्मा–गमगढी सडकको स्तरोन्नतिका लागि मात्र ४ करोड दिइएको छ । नाक्चेनाग्लातर्फ नयाँ ट्र्याक खोल्न बजेट नआएको सडक डिभिजन कार्यालय, जुम्लाका प्रमुख इन्जिनियर दीपेन्द्रकुमार चौधरीले बताए ।
उनका अनुसार गमगढी–नाक्चेनाग्ला सडकका लागि ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । हालसम्म यो सडकमा १२ करोड रुपैयाँ खर्च भएको छ । सडक २०६२ फागुनदेखि निर्माण सुरु भएको थियो । बितेको करिब दुई दशकसम्म १२ करोड मात्रै बजेट विनियोजन भएको छ । गमगढीबाट ६८ किमि दूरीको यो सडकमा अहिलेसम्म १६ किमि (मुगमकार्मारोङ गाउँपालिकाको छाइलसम्म) मात्र ट्र्याक खोलिएको छ ।
मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले सन् १९१५ देखि उत्तरी मुगुका समुदायको तिब्बतीसँग व्यापारिक सम्बन्ध जोडिए पनि सडक नहुँदा दिगो बन्न नसकेको बताए । यी सडक निर्माणपछि नाका सञ्चालन भए कर्णालीका नागरिकले चीनसँग सहजै व्यापारिक कारोबार गर्न पाउने अपेक्षा छ । तर, बजेट अभावले चीनसँग जोड्ने सडक आयोजना अलपत्र बनेका छन् । सडक निर्माणमा ढिलाइ हुँदा अहिले पनि मुगुका उत्तरी भेगका नागरिक पिठ्युँकै भरमा भारी बोक्न बाध्य छन् । स्थानीय उत्पादनले बजार पाउन सकेको छैन ।
बिरामी पर्दा वा दैनिक उपभोग्य सामग्री ल्याउँदा पिठ्युँ र खच्चडकै भरमा ल्याउन बाध्य छन् । सडक सुविधा नहुँदा मुगुका किम्री, कार्ती, ताखा, खारी, मुगु, डोल्फु, चितै, रिउस र पुवागाउँका स्थानीय मोटर चढ्न कम्तीमा दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । भौगोलिक रूपमा विकट भएकाले पालिकाको लगानीले आधारभूत विकासबाहेक अन्य ठूला पूर्वाधार निर्माणमा काम गर्न नसकेको अध्यक्ष लामाले बताए ।