जुम्लाका नौ हजार घरधुरीमा एक घर एक धारा

जुम्ला– जुम्लाका नौ हजार बढी घरधुरीमा एक घर, एक धारा पुगेका छन् । जुम्लाको एक नगरपालिका र सात गाउँपालिका गरी आठ पालिका रहेको जुम्लाका ६० वटामा गरी नौ हजार बढी घरधुरीमा एक घर, एक धारा पुगेको हो । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाको तथ्यांकनुसार जुम्लामा हाल कुल २४ हजार ४२२ घरधुरी संख्या रहेकोमा नौ हजार ८८६ घरधुरीमा एक घर, एक धाराको पहुँच पुगेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख अक्कल महतले बताए ।
उनले भने, ‘हाम्रो तथ्यांकअनुसार जिल्लाका नौ हजार ८८६ घरधुरीमा एक घर एक धारा निर्माण भएको देखिन्छ । कुल घरधुरीमध्ये बाँकी अझै सार्वजनिक धारा र कुवा, मूलधारा र खोलाको दूषित पानी प्रयोग गरिरहेका छन् ।’ खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयको तथ्यांकलाई आधार मान्दा जुम्लाका १४ हजार ५३६ घरधुरी अझै प्रदुषित पानी पिउन बाध्य रहेको देखिन्छ ।
नौ हजार ८८६ घरधुरीमा धारा पुगे पनि ठूलो संख्यामा नागरिक खोला, मूल कुवाको पानी प्रयोग गर्न बाध्य रहेको तथ्यले खानेपानी जस्तो आधारभूत विकासमा स्थानीय सरकार चुकिरहेको स्पष्ट देखिन्छ । जुम्लाको हिमा गाउँपालिकाले खानेपानी विकासमा उल्लेखनीय काम गरे पनि अन्य पालिकाले पनि खासै प्राथमिकता दिएका छैनन् । जसका कारण स्रोत भएर लगानी अभावले खानेपानी आयोजना निर्माण नहुँदा दूषित पानीकै भरमा दिन गुजारा गर्न बाध्य छन् ।
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार एक घर एक धारा नपुगेका १४ हजार पाँच सय बढी घरधुरीमध्ये १० हजार ३२९ वटा घरधुरीले सार्वजनिक धाराको पानी पिउँदै आएका छन् । त्यस्तै कुवाको पानीखाने ५९ वटा घरधुरी, मूलधाराको पानी खाने ३८ सय ७४ वटा घरधुरी, नदी खोलाको पानी खाने २१४ घरधुरी र अन्य पानीका स्रोतबाट पानी खाने ६० घरधुरी रहेका छन् ।
संघीयता कार्यान्वयनको करिब सात वर्ष बितिसक्दा समेत हालसम्म जुम्लाका ४० दशमलव ४७ प्रतिशत घरधुरीमा मात्रै एक घर एक खानेपानीका पहुँच विस्तार भएको छ । हरेक नागरिकलाई स्वच्छ पिउने पानीको हक हुने व्यवस्थापन नेपालको संविधानले व्यवस्था गरे पनि जुम्लाका अधिकांश नागरिक त्यो अधिकारबाट वञ्चित छन् । जुम्लाका सिंजा क्षेत्रका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाले सुस्वा परियोजनासँगको साझेदारीमा खानेपानी क्षेत्रमा उल्लेखनीय काम गरेका छन् ।
हिमा गाउँपालिकाले साढे दुई वर्षको अवधिमा हिमाका एक हजार तीन सय घरधुरीमा धारा पुगेको छ । सुस्वा परियोजनाअन्तर्गत ५४० वटा धारा निर्माण भएका छन् । २३ सय ७७ घरधुरी रहेको हिमाले १३ सय घरधुरीमा धारा पुर्याएको छ । जसमा हालसम्म सुस्वा परियोजनाले हिमाको खानेपानी विकासका लागि तीन करोड ९१ लख रुपैयाँ लगानी गरेर ५४० वटा धारा निर्माण गरेको सुस्वा परियोजना संयोजक सुमित्रा शाहीले बताइन् ।
उनका अनुसार हिमाको बड्की गाउँका १६६ घरधुरी, बाजागाँडाका १३६, डाडाबाँडाका ७०, देवारगाउँका ७०, मर्ची गाउँका ६६ र बागबजारका २० घरधुरी धारा निर्माण भएका छन् । त्यस्तै, हिमा गाउँपालिकाले करिब साढे तीन करोड बढीको लगानीमा बृहत् हिमा खानेपानी आयोजना निर्माण कार्य थालनी गरेको छ । जसमा धाँचु गाउँका चार घरधुरी, जार्जी गाउँका ८८, तली कुडुका १०२, सिम्तलीका ७४, खेतुका २२, सानो चिउडीको २४ र ठूलो चिउडीका ९६ घरधुरीमा एक घर एक धारा निर्माण भएको हिमा गाउँपालिकाका इन्जिनियर तोर खड्काले बताए ।