Logo

पर्वतमा ३० करोडको सुन्तला उत्पादन

पर्वत– पर्वत जिल्लामा यस वर्ष ३० करोडको सुन्तला उत्पादन भएको छ । जिल्लाका विभिन्न सुन्तला पकेट क्षेत्रबाट उत्पादन गरिएको सुन्तलाको मूल्य ३० करोडभन्दा बढी पर्ने आकलन गरिएको हो ।

कृषि ज्ञान केन्द्र पर्वतका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला पकेट क्षेत्र बासखर्क र दक्षिणी भेगका पाङराङसहितका कुर्घा, लिमीठाना, भेडाबारी, थापाठाना, भंगरा साथै बाच्छासँगैका खोरियाखर्क, चण्डीस्थान, उपल्लो गाउँ, सिउरासलगायतका स्थानका सुन्तला बगानमा उत्पादन केही बढी हुने देखिएको छ । सुन्तला पकेट क्षेत्र देउपुरमा केही कम उत्पादन भए पनि अन्य सबै क्षेत्रको उत्पादनलाई जोडेर हेर्दा पर्वतबाट ३० करोड मूल्यभन्दा बढीको सुन्तला उत्पादन हुने देखिन्छ ।

जिल्लाको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिका–१ बाँसखर्क भन्ने स्थान सुन्तला खेतीका लागि प्रसिद्ध छ । सुन्तलाको पकेट क्षेत्र मानिने बासखर्कमा मात्रै सुन्तलाको व्यावसायिक खेतीमा संलग्न कृषकको घरधुरी संंख्या दुई सय रहेको छ । बासखर्कका सुन्तला कृषक ६० वर्षे जगत खत्रीले २८ रोपनी क्षेत्रफलमा लगाइएको एक हजार ५५२ वटा सुन्तलाबाट यस वर्षमात्रै ४० लाख रुपैयाँ आम्दानी गर्ने बताए । बासखर्कमा सुन्तला फागुनतिर मात्रै टिप्ने गरिन्छ ।

बासखर्ककै अर्का कृषक हेमकुमार अर्मजाका अनुसार बासखर्कमा लगाइएको १६ सय रोपनीभन्दा बढी क्षेत्रफलमा उत्पादित सुन्तलाको बिक्रीबाट यहाँका कृषकले करिब १३ करोडको आम्दानी गर्नेछन् । बासखर्कका कृषकको प्रमुख आम्दानीको स्रोत मानिने सुन्तला खेतीलाई अझै व्यवस्थित र विस्तार गर्नका लागि गाउँसम्म पुग्ने कच्ची र साँगुरो बाटोलाई पक्की बनाउनु पर्ने भनाइ छ । पर्वतको बासखर्क आवतजावतका लागि अहिले पनि कृषकहरू बेनी बजारबाट पर्वतको बगरफाँट हुँदै कच्ची र साँगुरो बाटो जोखिम मोलेर हिँड्नु परेको छ ।

कृषकले सुन्तला बजार पुर्‍याउन र प्राङगारिक मल ल्याउनसमेत कच्ची बाटोकै कारण ढुवानीवापतको शुल्क महँगो तिर्नुपरेको गुनासो गरेका छन् । पर्वतकै मोदी गाउँपालिका पर्ने सुन्तला पकेट क्षेत्र देउपुरमा यसपालि गत वर्षभन्दा केही कम उत्पादन भएको सुन्तला कृषक दाताराम चापागाईंको भनाइ छ । केही कृषकको सुन्तला बगानमा फुल लाग्ने बेला परेको असिना र औसिया किराका कारण सुन्तला उत्पादनमा कमी भएको हो ।

अगुवा सुन्तला कृषक घनश्याम शर्माले सुन्तला उत्पादनमा असिनाको केही प्रभाव परे पनि देउपुर क्षेत्रबाट सुन्तलाको उत्पादन यस वर्ष कम्तीमा पनि ६ करोड मूल्यभन्दा कम नहुने दाबी गरे । कृषक शर्माले यस वर्ष चार लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् भने सुन्तलाको बेर्ना मात्रै डेढ लाख मूल्य बराबरको बिक्री गरेको बताए । देउपुर १२ सय मिटरको उचाइमा पर्ने र पहारिलो क्षेत्र भएको हुँदा पनि सुन्तला खेतीका लागि उपयुक्त स्थान मानिन्छ ।

पर्वतको फलेवास नगरपालिकाको दक्षिणी भेगमा पर्ने पाङराङ र यस आसपासका सुन्तला पकेट क्षेत्रबाट सुन्तलाको उत्पादन ६ करोड मूल्य बराबरको हुन्छ भने विहादी गाउँपालिकामा पर्ने सुन्तला पकेट क्षेत्र मानिने बाच्छा र आसपासका क्षेत्रबाट गरी सुन्तलाको उत्पादन नौ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन हुने कृषकको अनुमान छ । सुन्तला पकेट क्षेत्र पाङराङका अगुवा कृषक पूर्णबहादुर कुँवरले ९८ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरी वर्षको १८ लाख आम्दानी गर्दै आएका छन् ।

गत वर्ष १७० क्विन्टल सुन्तला बिक्री गरेको बताउने कृषक कुँवरले यसपालि भने असीनाले बोटका फूल झारेको कारण उत्पादनमा केही कमी रहेको गुनासो गरे । कृषक कुँवरका सुन्तला बगानमा सानाठूला गरी २२ सय सुन्तलाका बोट छन् । पाङराङका सुन्तला कृषक पवन कुँवरले सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि १५ रोपनीबाट विस्तार गरी कोदो बाली लगाउने बारीमा समेत थप सुन्तलाखेती विस्तार गरी ५५ रोपनी पुराउने सोच राखेका छन् ।

कृषक कुँवर भन्छन्, ‘एक हलको कोदो लगाउने बारीमा सुन्तलाको बोट लगाउने हो भने तीन लाख रुपैयाँ आम्दानी गर्न सकिन्छ । कोदो लगाएर त्यो रकम आउँदैन । कोदो लगाउनभन्दा सुन्तलाखेती गर्न सजिलो पनि छ ।’ कृषक कुँवरजस्तै गाउँले कृषक साथै विदेशबाट फर्केका युवासमेत सुन्तला खेतीमा आकर्षित भएका छन् । पर्वतका कृषकले पोखरा, काठमाडौं, नारायणगढ लगायतका सहरबाट आउने व्यापारीलाई बगानबाटै सुन्तला बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्