Logo

अलपत्र फलेवास–अर्मादी खण्डलाई बजेट सुनिश्चित

पर्वत– बजेट अभाव र ठेकेदारको लापरबाहीका कारण विगत सात वर्षदेखि अलपत्र बनेको निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको छ । संघीय सरकारको अर्थ मन्त्रालयअन्तर्गत बजेट तथा कार्यक्रम महाशाखाले उक्त खण्डका लागि एक अर्ब ५० करोड बराबरको स्रोत सहमति प्रदान गरेको हो । स्रोत सुनिश्चित भएसँगै उक्त खण्डको काम अघि बढ्ने भएको छ ।

लोकमार्गको पर्वत खण्डअन्तर्गत मिर्मिदेखि फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्रे भैसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्ती र बजेट विनियोजन नभएका कारण अलपत्र बनेको थियो । उक्त खण्डको मार्ग विस्तार र स्तरोन्नतिका लागि विसं. २०७३ साल असार २२ मा सम्झौता भई २०७५ जेठ २१ गते सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएकोमा गत वर्षमात्रै मार्ग खुलाउने कार्य पूरा भएको थियो । मार्ग खुले पनि कालोपत्रेका लागि बजेट सुनिश्चित नहुँदा काम हुन सकेको थिएन ।

अर्थ मन्त्रालयमा पटक पटकको दबाबपछि स्रोत सुनिश्चित भएको प्रतिनिधिसभा सदस्य पदम गिरिले बताए । अब लगत्तै अलपत्र बनेको खण्डको काम सुरु हुने उनले बताए । यसअघि उक्त खण्डका लागि नौ करोड १७ लाख रुपैयाँ विनियोजन भएको थियो । उक्त बजेटले फलेवास नगरपालिका–६ ढिकदेखि कुश्मा नगरपालिका–४ अर्मादीसम्मको १४ किलोमिटर ट्राक खोलेको थियो । त्यसबाहेक अन्य काम भने हुन सकेको थिएन । मोदीवेणीदेखि अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक गत वर्षमात्र खुलाइएको भए पनि सवारीसाधन सहज रुपमा चल्नसक्ने अवस्था छैन ।

कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर पिपुल गौतमका अनुसार मन्त्रालयवाट बजेट सुनिश्चित भएसँगै अब उक्त खण्डको काम ठेक्का प्रकृयामा जाने बताए । कालिगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । जसअन्तर्गत सेतीवेणीदेखि फलेवाससम्मको भाग कालोपत्रे भइसकेको छ भने मालढुंगादेखि बेनीसम्मको १३ किलोमिटर खण्डको काम पनि बेनी–जोमसोम–कोरला सडक आयोजनाले गरिरहेको छ ।

अब बाँकी रहेको फलेवास–अर्मादी खण्ड १४ किलोमिटर सडक पूरा भएमा पर्वत खण्ड पूरै सम्पन्न हुने इन्जिनियर गौतमले बताए । यो सडकले पर्वतको उत्तरदेखि दक्षिणसम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको लाइफलाइनको रूपमा हेरिँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्