अमेरिकी डढेलोः जलवायु संकट ?

हामी आगलागी, भूकम्प, हावाहुरी, चट्याङ, बाढीपहिरोको विकराल समस्यामा गुज्रिरहेका छौँ । सुक्खा मौसम, वर्षा कम र अधिक प्रदूषणको मारमा पनि छौँ । देशैभरिका वन, जंगलमा आगलागी हुँदा, नियन्त्रण कार्य पीडादायी भइरहेको अनुभव पनि गरिरहेका छौँ । चुरे क्षेत्र, पर्वतीय श्रृंखला र तराईका भूभागमा भएको अनियन्त्रित ढडेलोको सिकार भएका छौँ ।
अर्बौं अर्बको धनमाल क्षति भएको छ र धेरै मान्छे हताहत भएका छन् । हाम्रो विपद् जोखिम न्यूनीकरण, राहत र उद्धार कार्य निकै धीमा गतिको छ र पूर्वसचेतना वा विपद् उद्धार कार्य योजनामा हामी कमजोर छौँ । हिउँद, वर्षा वा कुनै ऋतुमा नेपालीले दुःख नपाएको दिन छैन, रात छैन, सडक दुर्घटनाले त सधैँ चिमोटिरहेको छ । संसारमा यस्ता जोखिमका घटनाहरू अन्यत्र पनि धेरै देखिने गरेको छ ।
अमेरिकातिर जाऊँ अब
सन् २०२५, नयाँ वर्ष आरम्भसँगै आर्थिक महाशक्ति राष्ट्र अमेरिकाका केही मुख्य सहरहरू मरुभूमिमा परिणत भएका छन् । समृद्धि नै सबै कुरो होइन रहेछ । पंक्ति तयार गरिरहँदा अमेरिका आगलागीमा ११ प्रतिशत मात्र नियन्त्रणमा छ, एक हप्ता बित्न लाग्यो डढेलो सल्केको, करिब दुई दर्जन व्यक्तिको हताहत र त्यति नै हराइरहेको खबर छ । ५० राज्यमा सबैभन्दा ठूलो राज्य क्यालिफोर्नियाको लसएन्जेलसमा समान्य विस्फोटको आवाज आयो, जंगलमा सामान्य आगो देखियो, तर यसले क्षणभरमै भीषण रूप लियो ।
अमेरिकी इतिहासमा यो सबैभन्दा ठूलो घटना भइदियो । धेरैले यसलाई जलवायु परिवर्तनको महासंकट पनि भनेका छन् । वि.सं. २०८१, कालयुक्त नामको संवत्सर, ब्रह्माण्डको कार्यकारी शक्ति राजा मंगल र मन्त्री शनिको प्रभाव अग्निभय, भूकम्पको प्रकोप, जलवायुको संकट, धनजनको क्षतिको सम्भावना छ भन्दै एक सालअघि नै यस्ता विषयमा सचेत हुन आमसञ्चारमार्फत पंक्तिकारले प्रस्तुत गरिरहेको थियो । यो युग कलि हो, यसको आयु ४ लाख ३२ हजार वर्षको छ र चालु वर्ष चलिरहँदा जम्मा ५ हजार १ सय २५ वर्ष व्यतीत हुँदै छ । यसअघिका सत्य, त्रेता र द्वापर युग, यी युगहरू यसअघि २७ पल्ट परिभ्रमण भइसकेको र हालको युग २८ औँ हो ।
सत्ययुगमा पृथ्वी रिसाउँदा यसको गर्भगृहमा भएका औद्योगिक कच्चा पदार्थलगायत तमाम विषयवस्तु पृथ्वीले समुद्रभित्र लुकायो, बाहिर केही थिएन, आवश्यक वस्तु उत्खनन गर्ने, निकाल्ने क्रममा महाशक्तिको रूपमा रहेका सूर र असुरहरूले मिलेर समुद्रमन्थन गरे । पहिले संसार ध्वस्त गर्ने आणविक शक्तिभन्दा भयंकर ठूलो हलाहल विष निस्क्यो र पूर्ण ब्रह्माण्डको रक्षार्थ शंकरले त्यो विष पिइदिए, बच्यो विश्व ब्रह्माण्ड । द्वापर युगमा भारतीय उपमहाद्वीपमा संसार ध्वस्त पार्ने दावानल निस्कँदा युगपुरुष कृष्णले उनै शंकर साक्षी राखी पान गरिदिए र संसार ध्वस्त हुनबाट बचेको थियो । कलियुगमा केवल विज्ञान मात्रै भनिरहँदा कोरोनाझैं अनियन्त्रित समस्या यत्रतत्र फैलिने गरेको छ, अमेरिका यसको पछिल्लो उदाहरण बनेको छ ।
दावानल अर्थात् सेन्टाएना
पूर्वीय दर्शनले डढेलोलाई दावानल भन्छ भने क्यालिफोर्नियामा उठेको हावाको वैज्ञानिक नाम सेन्टाएना हो । पूर्वबाट पश्चिम प्रशान्त महासागरतिर उर्लिएको यो हावा प्रतिघण्टा १ सय २९ किमि बढीको गतिमा बहिरह्यो, जसको शक्ति हिरोसिमा र नागासाकीको अगस्ट ६ र ९ को आणविक बमभन्दा शक्तिशाली रह्यो । यो दावानलले ड्रोनको शक्तिलाई मानेन, महाशक्ति राष्ट्रको सैन्य शक्तिलाई स्वीकार गरेन, युएस सुपर पावर धुमिल भयो, बम प्रहारबिना नै सहरहरू ध्वस्त मात्रै भएनन्, ४० हजार एकड बढी जमिन खरानी भयो, लाइफलाइनहरू ध्वस्त भए, अमेरिकी प्रणालीलाई नै निलिदियो सेन्टाएनाले र हेर्दाहेर्दै हलिउड अभिनेताहरूका समेत करोडौँ डलर निर्मित घर, भवनहरू क्षतविक्षत भए ।
त्यसो त अमेरिकामा बाहिर बढी चिसो हुँदा घरभित्र न्यानो हुने गरी र घरबाहिर ऊष्ण हुँदा भित्र एसीको काम गर्ने गरी घरहरू वैज्ञानिक तवरले बनाइएका हुन्छन्, तर आगलागी हुँदा यस्ता घरहरू सजिलै खरानी हुने गर्छन्, त्यही भयो अहिले । यहाँसम्म कि दस–बाह्र सेकेन्डमै समुद्रको पानी उल्ट्याएर अग्नि नियन्त्रण, उद्धार गर्न सक्ने यानहरूको शक्ति फिका रह्यो र प्रभावित विशाल क्षेत्रमा पानीको सख्त अभाव देखियो भने प्राचीन, मध्यशताब्दीका कैयन् स्मारक खरानी भए । २ लाख बढीले घर छोड्न बाध्य भए भने ५२ बिलियन बढी डलरबराबरको सम्पत्तिको नोक्सानी, सबैभन्दा बढी उर्वर जमिन भएको यो क्षेत्रमा १ करोड बढी जनसंख्या रहेको र सबैजसो प्रभावित रहेको देखियो । समुद्र सुकाउने क्षमता देखाउँदै उर्लिएको यो दावानलले सबैजसो कोलोराडो, नोभदा क्षेत्रहरूमा वायुको प्रदूषण र यसको मार छिमेकी देश क्यानडासम्म फैलियो, हजारौँ अमेरिकन घरबारविहीन भए । कोभिड–१९ मा लाख बढी मान्छे मरे अमेरिकामा, तर आर्थिक क्षति हुन दिइएन र मास्कको प्रयोग पनि भएन, राष्ट्रपति ट्रम्पलाई मुद्दा पनि लाग्यो, अहिले सम्पत्तिको भयानक क्षति भएको छ ।
बाइडेन, ट्रम्पको जुवारी
बाइडेन जाँदै छन्, ट्रम्प आउँदै छन्, २० जनवरी शपथ ग्रहण हुने दिन हो । ट्रम्पले चुनावी घोषणपत्रमै भनेका थिए, रसिया युक्रेन युद्ध बन्द गर्छु, इजरायल–हमास युद्ध बन्द गर्छु तर जाँदाजाँदै बाइडेनले अर्बौं डलरको सैन्य खजाना इजरायललाई पठाए, सहयोग गरे, समर्थन गरे । अमेरिकामा विधिको शासन छ, सुशासन छ । स्थानीय अदालतले ट्रम्पमाथिको एक मुद्दाको फैसला भर्खरै सुनायो । यो आदेश रोक्न ट्रम्पले सर्वोच्च अदालत गुहारे, सुनेन उनको अनुरोध उसले र स्थानीय अदालतको फैसलाले अमेरिकी इतिहासमै पहिलोपल्ट अपराधी राष्ट्रपतिले पदभार ग्रहण गर्दै छन् भनी आमसञ्चारले भनिरहेका छन् । उनलाई अपराधी करार गरेको छ अदालतले, तर कुनै जरिवाना वा अन्य सजाय छैन, कालोसूचीमा दर्ज भने हुनेछन् उनी ।
ट्रम्पले यो फैसलालाई भिडिओ कलमार्फत षड्यन्त्र हो भनेका छन् भने आदेश दिने न्यायमूर्तिलाई घोर गाली गरेका छन्, दक्षिणपन्थी निर्णय, राजनीतिक प्रतिशोध प्रभावित भनेका छन् र सकेसम्म महाअभियोग लगाउन पनि उनी उद्यत देखिएका छन् । ट्रम्प समर्थक आम सञ्चारले उनलाई अपराधी राष्ट्रपति भनेका छन् भने समर्थक सञ्चारमाध्यमहरूले उनलाई अन्याय भयो भनिरहेका छन् । बिबिसी, सिएनएनजस्ता ठूला मेडियाहरूले अमेरिका र ट्रम्पका बारे क्षणक्षणमा समाचार सम्प्रेषण गरिरहेका छन्, भारतीय समाचार र यहीँबाट त्यहाँ गएका मेडियाकर्मीहरूले हरेक समय समाचार अद्यावधिक गरिरहेका छन्, किनकि अमेरिकामा जे हुन्छ त्यसको प्रभाव आम विश्वमै पर्छ । त्यहाँको अर्थ प्रणाली, डलर, तमाम विषयले हामी पनि प्रभावित हुन्छौँ र हाम्रा लाखौँ सन्तान त्यतै घरजम गरी बसेका छन्, अनि ट्रम्पले लिएको आप्रवासी नीतिबारे आम विश्वको आँखा उतैतिर छ अहिले, कतिले देश छोड्नुपर्ने हुन्छ, जो अवैध ढंगले त्यहाँ समृद्धिको खोजी गर्दै बसिरहेका छन् ।
हदैसम्मको तीव्रता
पंक्ति तयार भइरहँदा अग्नि नियन्त्रणमा छैन, इतिहासमै गम्भीर क्षति गराउँदै उठेको आगोको मुस्लो कुनै आणविक शक्ति एटम बमभन्दा कम छैन र यो दावानल शमन गर्र्न हजारौँ विमानले पानी फाल्दा पनि शमन गर्न सकेको छैन, हजारौँ हवाई उडान रोकिएका छन्, केन्द्रदेखि राज्य सरकारसम्म खटेर लागेको छ, नियन्त्रण गर्न तर कुनै शक्ति कामयावी हुन सकेको छैन । त्यति सम्पन्न देश, त्यति अनुशासित देश र अघिपछि घरको साँचो ढोका÷पर्खालमै छोड्ने संस्कृति बोकेको देशमा प्रलयकारी यो चपेटामा परेको बेला सहानुभूति र सक्दो सहयोग गर्नुपर्नेमा उल्टो स्वार्थप्रेरित व्यक्तिहरूबाट लुटपाट भएको, लुटेरा धेरैलाई राज्यले कब्जामा लिएको र थप समस्या नपरोस् भन्दै रात्रिकालीन निषेधाज्ञा, कफ्र्यु घोषणासमेत गरिएको छ ।
हलिउड, सेलिबे्रटीहरूका बहुमूल्य घर, जुहारातहरू निमेषमै खरानीमा परिणत भएको देख्दा जो–कोहीका आँखा पनि रसाएका छन् अहिले । १ हजार ५ सय २७ अग्नि नियन्त्रक यन्त्र र आकाशबाट उद्धार गर्ने कैयन् जहाजलाई टेरेकै छैन यो दावानलले, जहाँ ड्रोन चलाउन निषेध थियो, चलाइयो, यसबाट पनि उद्धार कार्य फिका भएको छ, डढेलो अनियन्त्रित छ, पुनर्निर्माण कति सहज होला, कतिले राहत अनुभूति गर्लान् भन्न असहज छ अहिले नै, क्षतिको आकलन कति र कसरी होला, अहिले छिटो हुनेछ प्रेडिक्सन गर्न । हामीजस्ता एक दिन वर्षा हुँदा देशै डुब्ने देश र गरिबी अनि पूर्वाधारले गलेका, ढलेका देशवासीहरूले कसरी मूल्यांकन गर्न सकौँला र ? हामीकहाँ सुशासन त कसैको पकेटमा रहेको छ, कसैको मुखमा, व्यावहारिक जीवनमा कसैले विधिको शासन, सुशासन महसुस गर्नै सकेको छैन, जताबाट हावा आयो हेलिएर बहन्छौँ हामी, कहिले एमसिसी भनेर, कहिले बिआरआई भनेर । संसारलाई आर्थिक सहयोग र जे पनि गर्न सक्ने महाशक्ति राष्ट्र अहिले महासंकटमा परेको छ र अस्टे«लियाहरूले उसलाई सहयोग गरिरहेका छन् ।
अस्ट्रेलिया, अमेरिका, चीन, रसिया, भारतहरू नै हुन् विशाल औद्योगिक देशहरू । यिनले जति उद्योग, व्यवसाय, कलकारखाना, उत्पादन, रोजगारी अनि औद्योगिक उत्पादन गरिरहँदा संसारभरि वायु प्रदूषण, ध्वनि प्रदूषण जसका कारण जलवायुको संकट तीव्र रूपमा बढेको छ । हिमाली, पर्वतीय क्षेत्र, विकासोन्मुख, अल्पविकसित र संसारकै न्यून भूभाग बोकेका देशहरू प्रताडित छन् केही दशकयतादेखि । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण अभियान भन्दै विश्वका सयौँ देश मिलेर कैयन् कोप सम्मेलनहरू पनि गरिसकेका छन्, उल्लिखित धनी देशहरूले पनि भाग लिएका छन्, सम्मेलनमा यथातथा । गरिब देशहरूले यस्ता धनी देशहरूसँग सम्मेलनमा ठूलै आवाज उठाएका छन्, सहयोगको याचनापछि केही कोष थपिएको पनि छ, तर जलवायु संकट समाधान भएको छैन, खुलेर प्रदूषण नियन्त्रणमा यी देशहरू लागेका छैनन् र कोप सम्मेलनका घोषणाहरू कुनै कामयावी पनि भइरहेका छैनन् ।
त्यसको मर्ममै प्रहार हुने गरी अहिले सम्भ्रान्त राष्ट्र अमेरिकाको क्यालिफोर्निया, लसएन्जेलसहरू जलिरहेका छन्, हामी सहानुभूतिभन्दा अरू के गर्न सकौँला र ? पृथ्वीको रजगजले नपुगेर नासा–नासा भन्दै आकाश भनौँ अन्तरिक्ष अधीनस्थ गर्न उद्यत महाशक्ति राष्ट्रलाई आज एकपल्ट आफ्नो मुख जोगाउन गाह्रो परेको छ, प्रकृतिप्रतिको अन्याय प्रकृतिले सहन सक्दैन, कहिले आगो ओकल्छ, कहिले संसार नै खेलौनाझैं हल्लाइदिन्छ । विज्ञान मात्रै अल इन अल होइन, कोरोनाले देखाएको यो अदृश्य शक्ति फेरि आज उपल्लो शक्तिराष्ट्र अमेरिकालाई दावानलले देखाइदिएको छ, महाभूकम्पहरू पनि सायद अदृश्य शक्ति नै हुनुपर्छ, जसले जसलाई पनि निमेषभरमा निल्ने गरेको छ ।
आगो नियन्त्रण पानीले गर्ने हो, प्रविधिले गर्ने हो, म्यान, मेसिनले गर्ने हो तर गरिरहेको छैन । धारा सुके, ट्यांकर विचरा के गर्न सक्छन् ? विध्वंसकारी र भयावह अवस्थामा विज्ञान र ब्रेन पनि फिका हुँदो रहेछ । अघि सन् २०११ मा ट्विन टावर ध्वस्त भएको चित्र हेरिरहेको अमेरिका आज प्रकृतिको ताण्डव नृत्यलाई हेरिरहेको छ, त्यो क्षण र यो क्षण फरक छ, त्यो थियो मानवनिर्मित विज्ञान र मस्तिष्कको दुरुपयोग, यो होइन यस्तो, विज्ञानअगाडिको अध्यात्म अर्थात् आगो, पानी, वायु, माटो र शब्द, तेज भनौँ पञ्चतत्वको । यही पञ्चतत्वको विशालतामा ब्रह्माण्ड छ, जसलाई संसार भनिन्छ र सूक्ष्म तत्वसँग शरीर छ, जसलाई मान्छे भनिन्छ । मानव, अरू लाखौँ करोडौँ जीव, जीवात्माहरू छन्, तिनको चर्चा छोटो आलेखमा गर्न सकिएन, यति भनौँ विनाश सकेसम्म कम होस्, आँसुले समुद्र नभरियोस् ।