गुणस्तरीय पर्यटनको गन्तव्य माथिल्लो मुस्ताङ

माथिल्लो मुस्ताङलाई स्थानीय भाषामा ‘ल्हो मन्थाङ’ भनिन्छ । त्यसो त माथिल्लो मुस्ताङलाई अंग्रेजी भाषामा फोरबिड्डन किङडोम, हिडेन किङडोम, मड सिटी, लस्ट किङडोम, सिटी अफ वाल, अप्पर मुस्ताङ आदि नामले पनि चिनिन्छ । स्मरणीय छ, २०४६ सालअघि विदेशीहरूका लागि माथिल्लो मुस्ताङ कानुनी रूपमा प्रवेश निषेध गरिएको थियो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै माथिल्लो मुस्ताङमा विदेशी पर्यटकले भ्रमण गर्न पाउने व्यवस्था गरियो ।
त्यसो भए तापनि अमेरिकी नागरिक स्टान आर्मिङटङद्वारा लिखित र लन्ली प्लानेटद्वारा प्रकाशित ‘द हिमालय किङडोम’ नामक पुस्तकमा लेखिएअनुसार विदेशीका लागि माथिल्लो मुस्ताङ अर्थात् ‘ल्हो मन्थाङ’ प्रवेश निषेध गरिएको भए तापनि २०४६ सालअघि पनि तत्कालीन शाही पाहुनाहरू भने गोप्य रूपमा माथिल्लो मुस्ताङ भ्रमण गर्न जान्थे । सन् १९५२ मै स्वीस नागरिक ‘टोनी हेगन’ले पहिलो विदेशी नागरिकका रूपमा माथिल्लो मुस्ताङको भ्रमण गरेको देखिन्छ । त्यस्तै दोस्रो व्यक्तिको रूपमा सन् १९६४ मा फ्रेन्च नागरिक माइकल पिसेलले माथिल्लो मुस्ताङको भ्रमण गरेको देखिन्छ ।
जे होस्, वि.सं. २०४७ मा तत्कालीन श्री ५ को सरकारले निश्चित सर्तसहित माथिल्लो मुस्ताङमा विदेशीहरूले पर्यटकीय उद्देश्यले भ्रमण गर्न पाउने गरी खुला गर्यो । त्यो बेला माथिल्लो मुस्ताङको भ्रमणमा जान चाहने विदेशी पर्यटकहरू कम्तीमा दुई जना हुनैपर्ने, सरकारमा दर्ता भएको ट्रेकिङ एजेन्सीमार्फत मात्रै जान पाउने, एक जना सरकारी सम्पर्क अधिकृत अनिवार्य रूपमा लानैपर्ने (हाल खारेज भइसकेको छ), १० दिनको ७ सय डलर सलामी दस्तु तिर्नुपर्ने (अहिले ५ सय अमेरिकी डलर छ), १० दिनमा ट्रेकिङ सक्नैपर्ने (आधार खुलाएर थप दुई दिन थप्न सकिने, त्यसका लागि प्रतिदिन थप एकजना पर्यटक बराबर ५० अमेरिकी डलर सरकारलाई राजस्व तिर्नुपर्ने), वर्षमा १ हजारभन्दा बढी पर्यटक जान नपाउने, कुनै पनि पर्यटकले स्थानीय समुदायलाई सीधै आर्थिकलगायत सरसहयोग दिन नपाउने, दिनैपरे प्रमुख जिल्ला अधिकारीको स्वीकृत लिनुपर्ने आदि सर्तसहित विदेशी पर्यटकलाई भ्रमण गर्न खुला गरिएको थियो ।
नेपालका अन्य केही हिमाली क्षेत्रझैँ निषेध गरिएको माथिल्लो मुस्ताङ विदेशी पर्यटकका लागि खुला भएपछि पहिलो वर्ष सन् १९९२ मा ४ सय ८३ जनाले भ्रमण गरेका थिए । त्यसपछि माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा चार अंक पुग्यो । अर्थात् उक्त वर्ष १ हजार ६६ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । सन् १९९९ मा १ हजार ५७ जनाले भ्रमण गरे । तर दुर्भाग्य, यो क्रम लामो समयसम्म रहन सकेन । किनभने, त्यसपछि देशमा सरकार र तत्कालीन विद्रोही माओवादीबीच हिंसा–प्रतिहिंसा सुरु भयो । सो क्रम चरम बिन्दुमा पुगेसँगै माथिलो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको संख्या पनि घट्न थाल्यो ।
सन् २००० देखि पुनः माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या तीन अंकमा झर्यो । यो क्रम सन् २००६ सम्म जारी रह्यो । २०६२-२०६३ मा आएको राजनीतिक परिवर्तनपछि छाएको शान्तिसँगै माथिल्लो मुस्ताङमा जाने विदेशी पर्यटकको संख्या पुनः बढ्न थाल्यो । यसरी माथिल्लो मुस्ताङ जाने विदेशी पर्यटकको संख्या बढ्ने क्रम सन् २००७ देखि पुनः चार अंकमा चढ्यो । अर्थात् सन् २००७ मा १ हजार १ सय ५७ विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । अझ सन् २००८ मा स्थानीयवासी नै आश्चर्यचकित हुने गरी विदेशी पर्यटकहरू माथिल्लो मुस्ताङको भ्रमणमा आए । अर्थात् सन् २००८ मा त्यो बेलासम्मकै रेकर्ड तोड्दै २ हजार १ सय ९४ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरेको कीर्तिमान रहेको थियो ।
सन् २०१९ को डिसेम्बर अन्तिम ताका छिमेकी देश चीनबाट फैलन सुरु भएको कोरोना महामारीपछि सन् २०२० मा केवल ६२ जना विदेशी पर्यटक मात्रै माथिल्लो मुस्ताङ भ्रमण गर्न आएका थिए । त्यस्तै सन् २०२१ मा चाहिँ ३ सय ३२ जना विदेशी पर्यटक माथिल्लो मुस्ताङ भ्रमण गर्न आए । तर, सन् २०२२ मा चाहिँ माथिल्लो मुस्ताङ भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या ह्वात्तै बढेर बढेर ३ हजार १ सय १२ पुगेको थियो । त्यस्तै गरेर सन् २०२३ मा अझ बढेर माथिल्लो मुस्ताङ भ्रमण गर्न आउने विदेशी पर्र्यटकको संख्या ३ हजार ४ सय ८४ पुगेको थियो भने सन् २०२४ मा पनि लगातार रूपमा माथिल्लो मुस्ताङ भ्रमण गर्न आउने विदेशी पर्र्यटकको संख्या बढेर ४ हजार ६१ जना पुगेको छ । यसरी सन् २०२३ को तुलनामा माथिल्लो मुस्ताङ भ्रमण गर्न आउने विदेशी पर्र्यटकको संख्याको प्रतिशत तुलना गरेर हेर्दा सन् २०२३ मा भन्दा सन् २०२४ मा लगभग ११ प्रतिशतले बढेको देखिन्छ । समग्र नेपाली पर्यटनले छलाङ मार्दै गएको अवस्थामा माथिल्लो मुस्ताङ भ्रमण गर्न आउने विदेशी पर्र्यटकको संख्याले पनि सन् २०२० पछि फेरि क्रमशः छलाङ मारेको छ भन्न सकिन्छ ।
हुन पनि विभिन्न समयमा माथिल्लो मुस्ताङ विश्वका मिडिया तथा पर्यटक संघसंस्थाको उत्कृष्ट सूचीमा पर्दै आएको छ । पछिल्लो पटक अमेरिकाको न्युयोर्क सहरबाट प्रकाशित हुने ‘द न्युयोर्क टाइम्स’ नामक पत्रिकाले अंग्रेजी वर्षको सन् २०२४ मा विश्वका विभिन्न देशको विभिन्न ५२ वटा स्थानलाई विश्वका पर्यटकले घुम्नैपर्ने भनी एक सूची बनाएर राखेकोमा माथिल्लो मुस्ताङको पनि ३७ औं स्थानमा पर्न पर्न सफल भएको थियो । जुन सूची उक्त पत्रिकाले विश्वका भ्रमण प्रेमीहरूसँग सोधखोज र अध्ययन गरेर बनाएको सूची हो । यसरी हेर्दा अमेरिकाजस्तो देशबाट प्रकाशित हुने न्युयोर्क टाइम्स पत्रिकाले सन् २०२४ मा विश्वका पर्यटकहरूले घुम्नैपर्ने ५२ वटा स्थानको सूचीमा सूचीकृत गरेको मुस्ताङ ३७ औं स्थानमा पर्न गएको छ ।
हुन पनि भौगोलिक हिसाबले तिब्बती पठार र माथिल्लो मुस्ताङको बनावट उस्तै–उस्तै छ । त्यतिमात्रै होइन, उनीहरूबीच धर्म, भाषा, वेशभूषा, रहनसहन, संस्कार, संस्कृति आदि पनि मिल्दोजुल्दो छ भने पशुपालन जस्तै घोडा, याक, चौँरी, भेडा, च्याङ्ग्रा पाल्ने तरिका उही, खेती गर्ने तरिका उही । अझ माथिल्लो मुस्ताङको तिब्बतभन्दा पृथक् पहिचान के छ भने माथिल्लो मुस्ताङका विभिन्न स्थानमा प्राचीन गुफाहरू प्रशस्तै छन् । जहाँ प्राचीन समयमा मानव बस्ती रहेको भनी विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ । जुन पर्यटकहरूका लागि मात्रै नभएर पर्यटनमा आश्रित व्यवसायी र स्थानीय बासिन्दा एवम् देशकै लागि पनि गर्व गर्न लायक कुरा हो ।
लो घ्याकरमा अवस्थित लगभग १३ सय वर्ष पुरानो बौद्घ गुम्बाले पनि विदेशी पर्यटकका लागि कौतूहलता र आकर्षण थपेको छ । भनिन्छ, उक्त गुम्बा गुरु पद्म सम्भवले तिब्बतमा बुद्घ धर्म फैलाउन जाने क्रममा स्थापना गराएका हुन् । नेपालबाट पनि माथिल्लो मुस्ताङ भ्रमणमा जान चाहने विदेशी पर्यटकका लागि महँगो दर तोकिएको भए तापनि माथिल्लो मुस्ताङ भ्रमण गरेबापत तिर्नुपर्ने सलामी दस्तुर ७ सय अमेरिकी डलर तोकेको थियो भने पछि ५ सय अमेरिकी डलरमा झारेको छ । माथिल्लो मुस्ताङजस्तो ऐतिहासिक र पुरातात्विक क्षेत्रमा ‘वेस्ट टुरिस्ट’ अर्थात् ब्याक प्याकर, नेपाली पर्यटन क्षेत्रमा चलेको भाषामा भन्ने हो भने ‘झोले’ पर्यटकहरूलाई जथाभावी फोहरमैला गर्न र वातावरण विनाश गर्नका लागि मात्रै लर्को लगाउनुभन्दा संख्या थोरै पनि गुणस्तरीय र गुनिला पर्यटकलाई मात्रै प्रवेश दिँदा राम्रो हुन्छ ।