Logo

बक्यौता कर उठाउन घरघरमा पत्राचार

चितवन– आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थालेको छ । लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर नबुझाएका करदाताको घरमा नै पत्र पठाउन थालेको हो । कार्यालयमा ७० हजार करदाता छन् । तीमध्ये १० हजार भ्याटका हुन् । कुल करदातामध्ये ४० प्रतिशतले आय विवरण बुझाएका छैनन् ।

कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार चार महिनाभन्दा बढी समयदेखि कर नबुझाएकालाई पहिलो चरणमा पत्राचार गर्न थालिएको छ । कार्यालयले बक्यौता उठाउन र चुहावट नियन्त्रण गर्न अभियान सुरू गरेको छ । लामो समयदेखि बक्यौता नतिरेका र बैंक खाता रोक्का भएका करदाताको सम्पत्ति रोक्काका लागि प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

१० लाखदेखि १४ करोड रुपैयाँसम्म बक्यौता तिर्न बाँकी रहेका दुई सय जना करदाता कार्यालय मातहत रहेका छन् । ती करदाताबाट दुई अर्ब ४७ करोड रुपैयाँ असुल गर्नुपर्ने छ । सेवा र वस्तुको हकमा ३० लाख रुपैयाँ र अन्यको हकमा ५० लाख रुपैयाँभन्दा बढी कारोबार भएका मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्