ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाको खपतको चिन्ता गर्न नपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजतजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेका र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले ऊर्जा उत्पादकले उत्पादित ऊर्जा खपतका ठाउँ आफैँ बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताए । सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको उनले बताए । प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्त्व दिइएको जनाउँदै व्यवस्था बदलियो अवस्था बदलिएन भन्नेहरुलाई ऊर्जा उत्पादकहरुले हासिल गरेको सफलताले देशको अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गरे ।
फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकासलाई गति दिन अध्यादेश जारी भएको स्पष्ट गर्दै आगामी १५ दिनपछि हुने संसद्को अधिवेशनमा तिनलाई पेस गरी दुई महिनाभित्र पारित गरिने बताए । प्रधानमन्त्री ओलीले आयातीत कोइला, पेट्रोल, डिजेललगायत वातावरणमा समेत प्रभाव पार्ने ‘फोसिल फ्युल’को प्रयोग घटाउँदै अधिकभन्दा अधिक नवीकरणीय ऊर्जा उत्पादन बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने दृढता व्यक्त गरे ।