बिर्तामोडको कृषि थोकमा गैरकृषिजन्य वस्तुको कारोबार

बिर्तामोड– झापाको बिर्तामोड नगरपालिका –५ मा रहेको कृषि थोक बजारमा गैरकृषिजन्य वस्तुको कारोबार भइरहेको भेटिएको छ । झापाको बिर्तामोड नगरपालिका –५ मा रहेको कृषि थोक बजार परिसरभित्र रहेका ३ सय ४६ वटा पसलले गैरकृषिजन्य वस्तुको कारोबार गरेको पाइएको हो । ती पसलमा कृषिजन्य वस्तुको मात्रै कारोबार गर्नु पर्ने व्यवस्था रहेको थियो ।
गत वैशाख ६ गते कृषि विभागको कृषिथोक बजार बिर्तामोडको परिसरभित्र रहेका गैरकृषिजन्य सामग्रीको कारोबार हटाउन निर्देशनात्मक परिपत्र गरेको थियो । कृषि थोक उपज बजार व्यवस्थापन समितिलाई पत्राचार गर्दै विभागका उप महानिर्देशक डा.अरुण काफ्लेले गैरकृषिजन्य सामग्रीको कारोबार हटाउन निर्देशन दिएका थिए । हालसम्म बिर्तामोडको कृषिथोक बजार परिसरमा रहेका केही पसलले त्यस्ता सामग्री हटाएका छैनन् ।
विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले कृषि थोक बजार बिर्तामोडका केही स्टलहरुमा विगतदेखि नै कारोबार हुँदै आएका गैरकृषिजन्य वस्तु हटाउन निर्देशन दिएको थियो । कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३ को अधीनमा रही कार्यविधिले निर्दिष्ट गरेका कृषिजन्य वस्तुको मात्र कारोबार गर्न गराउन कृषिथोक बजार व्यवस्थापन समितिलाई निर्देशन दिएको बताइएको छ ।
कृषिथोक बजार व्यवस्थापन समितिले हालसम्म विभागको निर्देशन पालना नगरेको विभागका महानिर्देशक घिमिरेले बताए । त्यस्तै, कृषिथोक बजार व्यवस्थापन समितिका केही स्टल लिई व्यवसाय गरिरहेका गैर नेपालीहरुलाई हटाएर कृषि बजार निर्देशिका २०७३ को अधीनमा रही विधिसम्मत रूपमा गर्न गराउन निर्देशन दिएको उनले बताए ।
कृषि थोक बजारभित्र भाडा वा बिना सम्झौता सञ्चालन भएका मासु पसलका सम्बन्धमा पनि विधिसम्मत रूपमा स्टल वितरण गरी सञ्चालनको व्यवस्था मिलाउन समितिलाई निर्देशन दिइएको उनको भनाइ छ । यस्तै, कृषिथोक समितिको कार्यालय सञ्चालन गर्ने कोठा निर्माणलगायत सामान खरिदमा समेत अनियमितता र अपचलन गरेको भन्दै छानबिन सुरु भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । केन्द्रले गत कात्तिक २० गते कृषि बजार समितिलाई पत्राचार गर्दै कागजात उपलब्ध गराउन माग गरेको केन्द्रका झापा प्रमुख सागर विष्टले बताए ।
कृषिथोक कार्यालय सञ्चालनका लागि कोठा निर्माण गर्दाको मितिबाट भएका निर्णयसहित सूचना प्रकाशनदेखि सम्पूर्ण कागजात माग गरिएको बताउँदै केन्द्रका प्रमुख विष्टले एसी खरिद प्रक्रियाका सबै कागजात, बिलसहित कृषिथोक बजारले कोठा भाडामा लगाउन गरेका व्यवस्थापन समितिको निर्णयलगायत विभिन्न आठ शीर्षकका सबै कागजात उपलब्ध गराउन माग गरेको जनाए ।