Logo

रोकिने तरखरमा छैन निष्क्रिय कर्जा

काठमाडौं– पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापन निकै चुनौतीपूर्ण बन्दै गएको छ । निष्क्रिय कर्जा घट्ने भन्दा पनि बढ्ने दिशामा अगाडि लागिरहेको छ, जसले बैंकहरूलाई चुनौती थपिएको देखिन्छ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा निष्क्रिय कर्जा झनै बढ्दै गएको छ ।

गत आवमा निष्क्रिय कर्जा २ देखि ३ प्रतिशतमै रहेकोमा अहिले ३ देखि ५ प्रतिशतसम्मको विन्दुमा पुग्न थालेको छ । चालु आवको साउनमा ३.७६ प्रतिशत रहेको वाणिज्य बैंकको निष्क्रिय कर्जा असोजमा बढेर ४.२८ प्रतिशत पुगेको थियो । मंसिरमा पनि यो सोही तथ्यांकमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले हरेक तीन महिनामा मात्रै यसबारे अपडेट गराउने भएकाले अहिले स्थिर देखिए पनि पुसको तथ्यांकमा केही बढ्नेछ । आगामी दिनमा निष्क्रिय कर्जा झनै बढेर जाने चिन्तामा बैंकरहरू छन् । चालु आवको मंसिरसम्ममा वाणिज्य बैंकहरूले ४७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । यसको ४.२८ प्रतिशत कर्जा निष्क्रिय बनेको हो ।

गत आवको साउनमा वाणिज्य बैंकको निष्क्रिय कर्जा २.९८ प्रतिशत रहँदा असोजमा ३.६१ प्रतिशत थियो । त्यसपछि गत आवको पुसमा निष्क्रिय कर्जा बढेको थियो । अर्थतन्त्रको सुस्ततालाई चिर्न नसक्दा बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा बढ्दै गएको हो । ब्याजदर घटेकाले कर्जा असुली राम्रो हुने अपेक्षा बैंक तथा वित्तीय संस्थाले गर्दै आएकोमा त्यस्तो भएको छैन ।

केन्द्रीय बैंकले पनि प्रणालीको निष्क्रिय कर्जा चुनौतीपूर्ण बन्दै गएको स्वीकार्न थालेको छ । सार्वजनिक कार्यक्रमहरूमा गभर्नर महाप्रसाद अधिकारीले निष्क्रिय कर्जा चुनौतीपूर्ण बन्दै गएको बताउन थालेका छन् । पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्री भने निष्क्रिय कर्जा केही बढ्दै गए पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउँछन् ।

अर्थतन्त्र विस्तारै सुधारको दिशामा रहेकाले केही समयपछि बैंकिङ क्षेत्रको यो चुनौती कम हुँदै जाने अवस्था रहेको उनले बताए । क्षेत्रीले भने, ‘ग्रस एनपीएल डरलाग्दो अवस्थामा देखिँदैन । साथै पुँजी पर्याप्तता हेर्ने हो भने पनि सहज अवस्थामा छौं भन्ने देखिन्छ ।’ बैंकहरूको दोस्रो त्रैमासिक वित्तीय विवरण आउने तयारीमा रहेकाले धेरै कुरा त्यसले देखाउने उनी बताउँछन् ।

अर्थतन्त्र विस्तारै सुध्रने क्रममा रहेकाले यसको प्रभावहरू विस्तारै देखिँदै जाने उनले बताए । गत आवको तुलनामा चालु आवमा धेरै कुराहरू सुध्रिँदै गएको तथ्यांकले देखाएकाले यसले विस्तारै अर्थतन्त्र लयमा आउने देखाएको उनको तर्क छ । चालु आवको अन्तिमसम्ममा अर्थतन्त्र देखिने गरी लयमा आउने र बैंकिङ क्षेत्रको पनि समस्या विस्तारै पार लाग्दै जाने कुँवर बताउँछन् ।

मंसिरसम्ममा विकास बैंक र वित्तीय संस्थाको पनि निष्क्रिय कर्जा बढेको देखिन्छ । मंसिरसम्ममा विकास बैंकको निष्क्रिय कर्जा बढेर ४.३७ प्रतिशत पुगेको छ । यस्तै वित्त कम्पनीको निष्क्रिय कर्जा १०.८४ प्रतिशत पुगेको छ । समग्रमा बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा ४.४२ प्रतिशत रहेको तथ्यांक छ । समग्र बैंकिङ प्रणालीमा नै निष्क्रिय कर्जाको थुप्रो लागिरहेको देखिन्छ ।

यसबीचमा कर्जा असुलीका लागि बैंकहरूले विभिन्न प्रयत्न गरे पनि त्यसको प्रभाव देखिएको छैन । कतिपय बैंकले ब्याज छुट दिने योजना ल्याएर पनि कर्जा असुलीको प्रयास गरेका थिए । घट्दो ब्याजदरका कारण पनि कर्जा असुलीमा सहजता आउने अपेक्षा गरिएकोमा त्यस्तो भएको छैन । अर्थतन्त्रले गति लिन नसक्दा त्यसको असर सबैतिर परेको हो ।

ऋणीको कर्जा तिर्ने क्षमतामा ह्रास आएको तथ्यांकले देखाउँछ । उद्योग–व्यवसायले उत्पादन तथा जनशक्ति कटौती गर्दा त्यसको प्रत्यक्ष असर बैंक तथा वित्त संस्थामा परेको जानकारहरु बताउँछन् । अघिल्ला वर्षहरूको तुलनामा चालु आवमा निष्क्रिय कर्जा बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्