Logo

प्राधिकरणले विद्युत पोल नसार्दा पूर्व–पश्चिम राजमार्ग विस्तार सुस्त

विराटनगर– नेपाल विद्युत प्राधिकरण समयमै विद्युत पोल नसार्दा पूर्व–पश्चिम राजमार्ग (एसियन हाइवे) विस्तार सुस्त देखिएको छ । विद्युत पोलको अवरोधका कारण पूर्वपश्चिम राजमार्ग एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा काँकडभिट्टादेखि सुनसरीसम्म भइरहेको निर्माणको काममा विद्युत पोलले अवरोध गरेको हो । हालसम्म साइट क्लियरेन्स, माटो भर्ने, कल्भर्ट निर्माणसमेत गरी १२ प्रतिशत काम पूरा गरेको जानकारी दिँदै पौडेलले जंगल क्षेत्रमा रुख कटान पूरा भई माटो भर्ने कामसमेत सकिएको जानकारी दिए ।

ती स्थानमा प्राधिकरणले तोकिएकै स्थानमा बिजुलीको पोल गाडिसकेको छ । तर, सहरी क्षेत्रको पोल सारिएको छैन । काँकडभिट्टादेखि लौकहीसम्म सडक, ठूला पुल र कल्भर्टको कामसमेत गरी पाँच प्याकेजमा ठेक्का लागेको छ । प्याकेज २, ३ र ५ काँकडभिट्टा–लौकही सडक आयोजनाको पश्चिम खण्ड इटहरीस्थित सडक कार्यालयबाट हुँदै आएको छ । प्याकेज १ र ४ काँकडभिट्टादेखि लौकहीसम्मको सडक आयोजना पूर्वी खण्ड सडक कार्यालय दमकले हेर्छ । निर्माणाधीन चार लेन सडक किनारको विद्युत पोल सार्न विलम्ब हुँदा काममा समस्या भएको निर्माण कम्पनीले जनाएको छ ।

काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९६.७६० किलोमिटर सडक निर्माणका लागि ३४ अर्ब ९० करोड रुपैयाँमा ठेक्का लागेको छ । एडीबीको ८४.१ प्रतिशत र नेपाल सरकारको १५.९ प्रतिशत लगानीमा गत वर्षबाट निर्माण सुरु भएको सडक २०२७ फेब्रुअरीमा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल विद्युत प्राधिकरणले पोल तत्काल सारेको अवस्थामा सहरी क्षेत्रमा तत्काल कालोपत्रे गर्नसक्ने झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको ठेक्का पाएको निर्माण कम्पनी चाइना रेल्वे फस्ट ग्रुप (सीआरएफजी) टुन्डी जेभीले जनाएको छ ।

कम्पनीका कन्ट्रयाक्ट म्यानेजर डोरमणि पौडेलले बिजुलीका पोल नसारिँदा कालोपत्रे गर्न सहज हुने स्थानमा काम ढिलो भएको बताए । नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले केही सहरी क्षेत्रमा विद्युत पोल सार्न केही ढिलो भएको स्वीकार गर्दै त्यसमा प्राधिकरण एक्लैको गल्ती नभएको बताए । नालाको फाउन्डेसन बनेपछि डिलमा पोल गाड्ने भन्दै उनले धेरै ठाउँमा नाला नै नबनेकोले पोल सार्न आफूहरूले ढिलो नगरेको दाबी गरे ।

सहरी क्षेत्रमा स्थानीय सरकार, स्थानीयवासी, सरोकारवाला सबैसँग समन्वय गरी सन्तुष्ट हुने गरी काम गर्नुपर्ने भएकोले केही ढिलाइ भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विभिन्न खण्डमा पोल सार्न ठेक्का दिएको छ । एउटा खण्डमा सोहन कन्स्ट्रक्सनले काम गरिरहेको छ । प्याकेज २ को निर्माण कम्पनीका अनुसार पोलको कामका निम्ति आठ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । पूरै प्याकजेका निम्ति हालसम्म प्राधिकरणलाई २५ करोड भुक्तानी भइसकेको इटहरीस्थित सडक कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख जगत प्रजापतिले विद्युत पोल सार्न पहल गरिरहेको जानकारी दिँदै अपेक्षित गतिमा हुन नसकेकै बताए । पोल सार्ने कामका लागि प्राधिकरणले ७६ करोड रुपैयाँ आयोजनाबाट प्राप्त गर्नेछ । पूर्वी खण्डमा मात्र २२ सय बिजुलीको पोल सार्नुपर्नेछ । पोलका विषयमा सडक विभाग र प्राधिकरणबीच एमओयू भएको छ । दमकको रतुवाखोलामा ३३ केभी अन्डरग्राउन्ड केबल रहेको उनले जानकारी दिए । प्राधिकरणले ‘रिलोकेसन’को मात्र नभई अपग्रेडको काम गरी महँंगा पोल राखेको उनले बताए ।

पोलका लागि प्राधिकरणले रिलोकेसेन गर्ने काम गर्न नसकेको आयोजनाले जनाएको छ । केही घर भत्काउनुपर्ने र एंगल राखेर पोल राख्नुपर्ने देखिएको भन्दै उनले प्राधिकरणले सामग्री दिन रोकेर काम अघि नबढेको जनाएको छ । एसियन हाइबेमा इटहरीको बूढीखोलादेखि लबीपुरसम्म तीन ‘ओभरपास’ बनाइनेछ । पश्चिम खण्डमा सडकबाहेक ६९ कल्भर्ट, तीन सय मिटरभन्दा लामा तीन र तीन सय मिटरभन्दा कमका २८ पुल निर्माण गरिनेछ ।

झापाको रतुवा र मोरङका बक्राहा र लोहन्द्रा खोलामा तीन सय मिटरभन्दा लामा पुल बनाइनेछ । एसियन हाइवेको डिजाइन ‘स्पिड’ प्रतिघण्टा एक सय किलोमिटर छ । पूर्वी खण्डमा ४५ किलोमिटर सडकको काम भइरहेको छ । बजारमा ५०, जंगल क्षेत्रमा २४ र ग्रामीण भूभागमा ३३ मिटर चौडाइको सडक हुनेछ । बजार क्षेत्रमा दुवैतर्फ सर्भिस लेन एक/एक लेनको हुनेछ । यो हिसाबले सडक हुँदा ६ लेनको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्