सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ माघ ११ मा

बुटवल– सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु यही माघ ११ गते हुने भएको छ । यसअघि माघ ८ गतेलाई तय गरिएको सुरुङमार्ग ‘ब्रेक थ्रु’ ११ गतेलाई सारिएको हो । ‘ब्रेक थ्रु’ मा प्रधानमन्त्री केपी ओली सहभागी हुने तय भएको छ । प्रधानमन्त्रीको समयलाई हेरेर ‘ब्रेक थ्रु’ को मिति सारिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
‘ब्रेक थ्रु’ लाई उत्सवको रूपमा कार्यक्रम गर्ने तयारी भइरहेको उनले जानकारी दिए । सुरुङमार्गको लम्बाइ एक हजार १२६ मिटरको छ । जसमध्ये मुख्य सुरुङ छिचोल्न अब डेढ मिटरमात्र खन्नुपर्नेछ । मुख्य सुरुङबाहेक तीनवटा बाइपास सुरुङ पनि निर्माण भएको छ । यसअघि तीनवटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । ‘बाइपास २’ को गत पुस ७ गते ‘ब्रेक थ्रु’ सम्पन्न भएको थियो । बाइपास दोस्रो १६१ मिटर लम्बाइको छ ।
यसअघि १३० मिटर लम्बाइको बाइपास तेस्रोको भदौ २६ गते र १५१ मिटर लम्बाइको बाइपास पहिलो असोज ४ गते छिचोलिएको थियो । मुख्य सुरुङको काम डेढ मिटरको काम बाँकी राखेर अहिले अरु काम भइरहेको आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् । ‘खनेर सकिएपछि भुइँ भित्ता, ढलानको काम भइरहेको छ । यसलाई फाइनल लाइनिङ भनिन्छ,’ उनले भनिन् । सुरुङमार्ग छिचोलिएपछि भित्र पूरै ढलान गर्नुपर्छ ।
लाइट र फायर फाइटिङ जडान गर्नुपर्छ । ती सबै काम सम्पन्न हुन अझै केही समय लाग्छ । सुरुङमार्ग दुई लेनको हुनेछ । जसको चौडाइ ९.९ मिटर रहने छ । उचाइ ११.५ मिटर हुनेछ । सुरुङको काम सम्पन्न भएपछि बाहिरको दुई लेन सडक स्तरोन्नतिको पनि काम हुनेछ । सुरुङमार्गमा गाडी चल्न थालेपछि बाहिरको करिब तीन किलोमिटर सडकमा ब्यारियर रकसेड निर्माणको काम हुनेछ । रकसेडले माथिबाट आएको ढुंगा सडकमा आउन रोकिन्छ । सडकको जोखिमयुक्त ठाउँमा रकसेड निर्माण हुनेछ ।
सिद्धबाबा सुरुङका लागि सरकारले २०७८ फागुनमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) सँग ठेक्का सम्झौता गरेको हो । यसको लागत सात अर्ब ३४ करोड रुपैयाँ छ । २०८० माघ ४ गते सुरुङ खन्ने काम औपचारिक रुपमा सुरू भएको थियो । ठेक्का सम्झौताअनुसार सन् २०२७ मार्चसम्म सुरुङमार्ग निर्माण सक्नुपर्ने म्याद छ । निर्माण पूरा गरेपछि पाँच वर्षसम्म मर्मत तथा सञ्चालन गर्नु पर्नेछ । यसरी आयोजना १० वर्षसम्म कम्पनीको प्रत्यक्ष निगरानीमा रहनेछ ।
निर्माण हुने सुरुङमार्गबाट इन्धन ढुवानी गर्ने ट्रक तथा दुईपांग्रे सवारी साधनलाई निषेध गरिनेछ । बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, पर्वत, बाग्लुङ लगायतका जिल्लामा ओहोरदोहोर हुने गर्दछ । सिद्धबाबा क्षेत्र सिद्धार्थ राजमार्गकै जोखिमयुक्त क्षेत्र हो । सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको क्षेत्रमा वर्षायाममा सडकमा ढुंगा तथा पहिरो झरिरहने समस्या छ । हिउँदमा समेत माथि भीरबाट सुक्खा पहिरो तथा ढुंगा झर्ने गर्छ ।
सिद्धबाबाको पहिरोका कारण थुप्रै यात्रुले ज्यान गुमाएका छन्, दर्जनौं सवारीसाधनमा क्षति पुगेको छ । समय–समयमा पहिरोका कारण सडक अवरुद्ध हुने गर्छ । यात्रुहरूलाई सडकमा पनि त्रसित भएर यात्रा गर्नुपर्ने अवस्था छ । चुनावको समयमा पाल्पाबासीको मुख्य माग सिद्धबाबाको पहिरो समाधान हुने गर्छ । संघ तथा प्रदेश सांसदले संसद्मा यो विषय जोडदारसँग उठाउने गरेका पनि छन् । सुरुङमार्ग निर्माण अघि बढेपछि भने पाल्पाबासीमा केही आशा पलाएको छ ।