Logo

कुम्भमेला, अमृत स्नान र दिव्योपदेशको प्रसंग

मुलुकको वर्तमान परिस्थितिले अपरोक्ष रूपमा नेपाली जनतालाई राजनीतिक, आर्थिक एवं सामाजिक रूपले पहिलेभन्दा अलिक बढी नै चनाखो र आलोचनात्मक सोच राख्ने प्राणी बनाएको यथार्थ नकार्न सकिँदैन । मुलुकको बढ्दो प्राविधिक चासो र प्रयोगका साथै झन्डै प्रत्येक नागरिकका हातमा रेडियो अथवा मोबाइल उपलब्ध हुनु नै यसका प्रमुख कारण हुन् । नयाँ–नयाँ मत र अभिमतसँग परिचित हुन पाएपछि नागरिकले पनि आफ्नो सोचको एउटा स्कुल स्थापित गर्छ र कुनै पूर्वाग्रहबिना नै ऊ असल र कमसल छुट्ट्याउन खप्पिस हुँदै जान्छ ।

यो एउटा मानवीय स्वभावको दिगो स्वरूप पनि हो । अरूले भने–गरेका कुराउपर आँखा चिम्लेर र कान थुनेर विश्वास गरिहाल्नेभन्दा पनि उसले स्वयं स्थापित गरेको सोचको स्कुलमा बढी विश्वास गर्छ र समाजमा आफ्ना सोचलाई त्यसरी नै स्थापित गराउनतर्फ ऊ सक्रिय हुन्छ । कुनै नेताको भनाइका पछि लाग्नुभन्दा स्वयं आफ्नै विवेकको मार्गदर्शनमा अघि बढ्नु नै उसका लागि श्रेयस्कर हुने विषयमा उसले विमति राख्दैन । त्यसर्थ पनि उसले ‘छोराछोरी’ हरूका कथामा भन्दा नेपाली जनताको हिजो, आज र भोलिका दिनहरूको आलोचना गरेर आफ्नो जीवनका अनेक राजनीतिक, आर्थिक र सामाजिक सन्दर्भहरूको पृष्ठभूमिमा आफ्ना पाइला अघि सार्न उत्प्रेरित हुने गरेको देखिन्छ । विगतमा झैँ नेपाली जनतालाई सजिलै झुक्याउन सकिने दिन अब बाँकी छैनन । आगामी आमनिर्वाचन यदि निष्पक्ष र पूर्वाग्रहरहित रूपले हामीले सम्पन्न गरेको खण्डमा त्यो आमनिर्वाचन मात्र नभएर नेपालका सन्दर्भमा एउटा ऐतिहासिक तथा युगीन जनमत पनि हुने विषयलाई ठोकेर भन्न सकिन्छ ।

प्रत्येक बाह्र वर्षपछि आउने हिन्दू धर्मावलम्बीहरूको महान् मेला, पूर्ण कुम्भमेला यसपटक पनि भारतका चार विभिन्न पवित्र स्थानमा बडो भव्यताका साथ प्रारम्भ भइसकेको छ । यस मेलालाई विश्वकै सबैभन्दा ठूलो धार्मिक वा सांस्कृतिक मेलाका रूपमा लिइन्छ । यस मेलाका विषयमा वेद, पुराणजस्ता हिन्दू धर्मशास्त्रहरूमा उल्लेख भएको पाइन्छ । प्राचीन किंवदन्तीअनुसार जब देव तथा असुर (राक्षस) हरूका बीचमा अमृत मन्थनका क्रममा विभिन्न वस्तु निस्कने क्रममा अमृतले भरिएको एउटा घैँटो (कुम्भ) पनि निस्कियो, त्यसलाई असुरको हातमा पर्न नदिएर देउताहरूका राजा इन्द्रका पुत्र जयन्तले स्वयं त्यसलाई बोकी त्यो मन्थनको स्थलबाट पलायन भए । यसो गर्दा चार ठाउँमा केही थोपा खसे । ती ठाउँ थिए— प्रयागराज, नासिक, हरिद्वार र उज्जैन ।

यी चारै ठाउँमा पालैपालो अर्थात् तीन–तीन वर्षमा कुम्भमेला लाग्ने गर्छ । कुम्भमेलामा गएर गंगाजीमा स्नान गर्नु भनेको अमृत स्नान हो । हाम्रो सन्दर्भमा श्री स्वस्थानीले साँखुस्थित शालीनदीलाई पवित्र गंगाबराबर मानेको हुनाले यहाँका भक्तजनहरूले शालीनदीमै स्नान गरेर त्यो पवित्र पुण्य आर्जन गर्ने चलन छ । भारतीय प्रधानमन्त्रीले यस वर्ष प्रयागराजमा सम्पन्न हुँदै गरेको कुम्भमेलामा विश्वभरिका हिन्दू भक्तहरूलाई अमृत स्नानका लागि निमन्त्रणा गर्नुभएको छ । झन्डै १ करोडभन्दा बढीले त्यहाँ अमृत स्नान गर्नु भएको समाचार छ । भनिन्छ, ४८ दिनसम्म चल्ने यस मेलामा ४० करोडले स्नान गर्नेछन् । यसरी स्नान गर्नेहरूमा मुख्यतः साधुहरूको बाहुल्यता रहने गर्छ ।

सन् २०१७ मा युनेस्कोले यस महत्वपूर्ण धार्मिक मेलालाई मानवताकै एउटा महान् सांस्कृतिक सम्पदा (इन्टेन्जिबल कल्चरल हेरिटेज अफ हुम्यानिटी) का रूपमा मान्यता पनि दिएको छ । यो बडो विचित्र भइरहेको छ । नेपालमा सम्पदाको परिभाषालाई संकुचित बनाउँदै लगिँदै छ । प्रत्येक जातजाति, सम्प्रदाय एवं धार्मिक समूहहरूमा प्रचलित धर्म, संस्कृति र परम्पराहरूमा समेत हाम्रो अतुल्य संस्कृति उजागर भइरहेको हुन्छ । विश्वले चिन्छ, बुझ्छ, हाम्रो राजनीतिक नेतृत्व र अधिकांश हामीहरूले समेत त्यता कुनै पर्वाह राख्दैनौँ । यो दुःखद कुरो हो । सांस्कृतिक सम्पदाहरूको संवद्र्धन, संरक्षण र प्रवद्र्धन गर्न नसके आगामी विभिन्न पिँढीहरूले हामी बाउबाजे कहलिनेहरूलाई दोषी, अपराधी र संवेदनशीलता गुमाएका प्राणीमा गन्नेछन् । राजधानी काठमाडौंमा महाशिवरात्रिका अवसरमा आयोजना हुने मेलामा दक्षिणतिरबाट दुई–चार लाख धार्मिक पर्यटकको आगमनमै मक्ख परेर हर्षित हुने प्रवृत्ति दोषपूर्ण छ ।

पर्यटन प्रवद्र्धनका अभियानहरू अघि बढाउँदा के हामीले कहिल्यै हाम्रा धार्मिक पीठ, मठ–मन्दिर र देवस्थलहरूका बारे कुनै बृहत् राष्ट्रव्यापी विचार–विमर्शमा ल्यायौँ ? के कहिल्यै लोपोन्मुख हाम्रा धार्मिक मन्दिरहरूबारे कहीँ चर्चा गर्‍यौँ ? के तपार्इंलाई लाग्दैन, नेपालले स्वयंलाई संविधानमा धर्मनिरपेक्ष राष्ट्र भनेर लेखिसकेपछि अधिकांश नेपाली धार्मिक आस्था बोकेका जनतामा कत्रो नैराश्यता पोखिएको छ ? सरकारले यो प्रस्टैसँग बुझेको छ, तर उसले हाम्रो मौलिक धर्म, आस्था र विश्वासलाई कौडीका भाउमा बेचेर स्वयंलाई झूटो विकसित र सम्पन्न राष्ट्रका रूपमा विश्वसमक्ष चिनाउन संविधान नै त्यसैअनुरूप बनायो । लोकतन्त्रको विरोधी यो पंक्तिकार होइन, तर त्यही लोकतन्त्रलाई बलियो बनाउन हिजो हाम्रा नकाबधारीले आफ्नै उत्पत्ति र संस्कारको आधारलाई पनि बेचेकै हुन् भन्ने प्रस्टै छ । नेपालको बुद्धिजीवी जमातले यो ऐतिहासिक सत्यतथ्यलाई निश्चित रूपले कालान्तरमा जनसमक्ष प्रस्तुत गर्ने नै छन् ।

भारतका सिख समुदायमा जस्तै नेपालमा पनि धार्मिक सहिष्णुता अत्यन्तै व्यापक छ । यहाँ हिन्दू, बौद्ध, मुस्लिम, इसाई र अन्य धेरै अल्पसंख्यक विभिन्न धर्मका अनुयायीका मानिसहरूको बसोबास छ । उनीहरू सबैले भाइचारा, मानवता र पारस्परिक सद्भावपूर्ण जीवन व्यतीत गर्ने गरेको उल्लेख्य छ । हिजो हाम्रो संविधानमा धर्मनिरपेक्षताको कुनै संवैधानिक प्रावधान नहुँदा पनि देशैभरिका सम्पूर्ण जनतामाझ सशक्त भ्रातृत्वता, ऐक्यबद्धता, समझदारी, मानवीय संवेदनशीलता र आपसी सद्भाव विद्यमान थियो । राजनीतिक प्रगतिपथमा अग्रसर हुँदै हामी ससाना र ठूल्ठूला दलहरूमा विभाजित भएर आफ्नो जीवनयापनमा संलग्न रह्यौँ, जसको फलस्वरूप केही प्रभावशाली व्यक्तित्वहरूले खुलेआम यहाँको मौलिक धर्म र आस्थाको धज्जी पनि उडाए, उडाउँदै छन् ।

सयौँ फूलका थुँगा हामी, एउटै माला नेपाली भएर आ–आफ्नो शैलीको जीवनयापन गर्नु नै सर्वोचित हुन्छ । धर्म, आस्था र विश्वासको राजनीतिमा झैं मेरो गोरुको बाह्रै टक्का चरितार्थ गराउने प्रयासलाई पनि संवैधानिक प्रतिबन्ध लगाइनुपर्छ । यसो नगर्दा हाम्रो शान्तिपूर्ण चलिरहेको सामाजिक व्यवस्थामा अल्पज्ञान कुरीति, कुसंस्कार र विसंगतिपूर्ण अन्य कैयौँ बेथितिको सृजना भई हामी नेपाली कल्पनै गर्न नसकिने रूपमा टुकै टुक्रा भएर चुँडिन जाने सुनिश्चित छ । कुनै पनि धार्मिक आस्थाका अनुयायीहरूको आत्मज्ञान धपधप बलिरहेको हुन्छ । त्यसलाई निभाउने प्रयासले हाम्रा सम्पूर्ण सांस्कृतिक महत्वका सुमधुर सम्बन्धहरू विश्रृंखलित हुने भय रहन्छ । आस्था र विश्वासको बन्धनले नै हामीलाई अनेकौँ तरिकाले क्रियाशील राखेको हुन्छ, जसले परोक्ष रूपमा हाम्रा आर्थिकलगायत जीवनका कैयौँ पक्षलाई समेत सुदृढ तुल्याइरहेको हुन्छ ।

पुस महिनामा मात्रै कुनै जाडो र हिउँको पर्वाह नगरी देशका विभिन्न भागबाट झन्डै ७ हजार भक्तालुले ताप्लेजुङकी देवी पाथीभाराको दर्शन गरे । त्यसरी देशका अन्य धार्मिक पीठमा, त्रिवेणीधाममा र मन्दिर तथा चैत्यहरूमा घुइँचो कायमै छ । खप्तड धामदेखि लिएर भोजपुरतिर सुरु गरिएको मुन्धुम पथमा धार्मिक यात्रुहरू पनि निरन्तर ओहोरदोहोर हुने गरेका समाचारहरू यदाकदा हामी पढिरहेकै, सुनिरहेकै अथवा देखिरहेकै हुन्छौँ । सानो देशको सानो अर्थतन्त्र चलायमान भइरहेकै हुन्छ ।

देशका कृषिमन्त्रीले केही दिनअगाडि कृषिका लागि अनुदान प्राप्त गर्नेहरूको एउटा अत्यन्तै लामो फेहरिस्त सार्वजनिक गरे । पारदर्शिताको एउटा प्रस्ट नमुनाको प्रस्तुतिलाई जनता जनार्दनले हृदयदेखि नै सराहना गरेको देखियो । तर, त्यसका साथसाथै त्यस्ता अनुदानको कहाँ, कसले, कति रकम दुरुपयोग गरे भन्ने कुरालाई ओझेलमै किन राखिएको होला ? विभिन्न छापामा समेत यो प्रश्न उठाइएको छ । तर, मन्त्रीले त्यसको पनि हिसाबकिताब राख्न विलम्ब गर्नु, शंकास्पद विषय हुन जानु स्वाभाविकै हो । जे भए तापनि कृषिमन्त्रीको आफ्नो कार्यक्षेत्रप्रतिको इमानदारिता र उत्तरदायित्वबोधले सन्तुष्ट रहने ठाउँ बनाएको छ । एउटै आग्रह छ, कृषकहरू देशका अन्य व्यावसायिक पेसेवरभन्दा उच्च तहकै हुन् । तर, जनताको तिरोबाट बनेको राष्ट्रको कोषमार्फत आव २०७६ देखि २०८० सम्म मन्त्रालयले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १ खर्ब ६६ करोड २७ लाख रुपैयाँ अनुदान प्रवाह गरिसकेको छ । जहाँ यसको सदुपयोग भएको छ—त्यसबारे केही टिप्पणी नगर्दा हुन्छ । तर, जहाँ लुटको धन फुपूको श्राद्ध भएको छ— तिनको पनि खुलासा संसद्भित्रैबाट होस्, छिनोफानो हुनुपर्छ, सांसदहरू यस कुरामा मौन नबसौँ । यस्ता गम्भीर विषयमा समेत जनप्रतिनिधिहरूले चासो नराख्नु, प्रश्न नउठाउनु भनेको दुर्भाग्यपूर्ण विषय हो । कृषिमन्त्रीले चाहँदाचाहँदै पनि कहीँबाट तगारो तेस्र्याइएको भान हुन थालेको देखिन्छ । यस विषयको निराकरण छिटै हुन जरुरी छ ।

कैयौँ विषय उठिरहेका बेला कुलमानहरूलाई, भन्नुको अर्थ अन्य अनेक राष्ट्रसेवकहरूको मनोबललाई क्षीण बनाउने जुन प्रयास भरहेको छ त्यसको परोक्ष विरोध त भइरहेको छ, तर यसरी नै जनतालाई अर्ती दिँदै देश मनखुसी रूपमा चलाउँदै जाने सोचले कहीँ घर बनाएको छ भने नेपाली जनताले अर्ब र खर्बको खहरेमा अमृत स्नान गर्न अघि बढ्ने अस्वयंभावी छ । राष्ट्रको कुम्भमा अनियामक तत्वहरू भरिइसके, त्यसलाई फाल्नैपर्ने अवस्थाबाट मुक्ति पाउन अहिले आक्रोशित छ सम्पूर्ण मुलुक ! कहीँ व्यक्त भएको छ त्यो आक्रोश, कहीँ अझै पनि अव्यक्त नै देखिन्छ । तर त्यो पनि कुनै न कुनै रूपमा प्रस्फुटित हुने नै छ ।

अन्त्यमा, राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको यस वर्षको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस समारोहमा सहभागी हुन आम नेपालीको भीडभाड अभूतपूर्व नै रहेको देखियो । सम्भवतः यस भीडले राष्ट्रको संरक्षण संवद्र्धनमा अहिलेसम्म आफूले गरेको योगदान र आगामी दिनमा गर्नुपर्ने योगदानबारे अमृत–मन्थन गरिरहेको छ । प्रत्येक नेपाली नागरिकले आजका दिन बडामहाराजको ‘दिव्योपदेश’ को गहन अध्ययन गरिसकेको हुनुपर्छ । देशको इतिहास कुनै जड पदार्थ होइन, यदि हो भने पनि त्यहाँ द्वन्द्वात्मक भौतिकवादको दार्शनिक सिद्धान्त लागू हुन्छ । आफ्नै वतनभित्र नागरिकले ढुंगामुढासरि जीवनयापन गर्न सक्दैनन्, यदि सकिरहेका छन् भने तिनै ढुंगामुढाले वर्तमान बेथितिलाई सुधार्न सक्ने ताकत पनि राख्छन् ।

ए हाम्रा नेतागण, किन देशबाट डाक्टरहरूको द्रुत गतिमा पलायन भइरहेको छ ? किन इन्जिनियरहरू भ्रष्टाचार काण्डमा मुछिइरहेका छन् ? किन विकास–निर्माणमा संलग्न ठेकेदारहरू कामचलाउ काम देखाएर देशदोहन गरिरहेका छन् ? किन अझै पनि दुर्गम भू–भागका हाम्रा नानीबाबुहरूले खोला तरेर विद्यालय जानु परेको छ ? यस्ता कैयौँ प्रश्नले के तिमीहरूलाई चुनौती दिएजस्तो लाग्दैन ? प्रमिथसले भनेझैँ हामीले मन्त्री बनेर देवत्व पायौं भन्ने लागेको छ भने हामी सम्पूर्ण देवतालाई घृणा गर्छौं भन्नु नपरोस् !

प्रतिक्रिया दिनुहोस्